शरद्कालीन हिमाल आरोहणका लागि ६९ देशका विदेशी नेपालमा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०३,

मुलुकमा यस वर्षको शरद्कालीन हिमाल आरोहणका लागि ६९ देशका ८ सय ३९ जना विदेशी नेपाल आइपुगेका छन् । बुधबारसम्म सगरमाथाबाहेक ३७ वटा हिमाल आरोहणका लागि ६९ वटा देशका आरोही नेपालमा आइसकेको पर्यटन विभागले जनाएको छ । यस पटक १ सय ११ वटा आरोहण दल पूर्वमा दार्चुलाको अपी हिमालदेखि पूर्वमा मकालु हिमालसम्म आरोहणमा गएको विभागले जनाएको छ । यसमा नेपालीसहित ६ सय ६८ पुरुष र २ सय २ महिला आरोही छन् । यसपटक नेपालका २ महिला र २९ पुरुष पनि शरद्कालीन हिमाल आरोहणमा गएका छन् । विभागले आरोहीहरूलाई जारी गरेको अनुमतिबाट ६ करोड ३५ लाख सलामी दस्तुर संकलन गरिसकेको जनाएको छ । यसपटक ८ हजार मिटरभन्दा अग्ला हिमालमा मनास्लु, धौलागिरि, मकालु र चोयूमा ३१ वटा आरोहण दलले अनुमति लिएका छन् । यी चारबाहेक अरू सबै साना हिमाल छन् । यसपटक सबैभन्दा धेरै आरोही संयुक्त राज्य अमेरिकाबाट ७३, चीनबाट ७२, फ्रान्सबाट ६९, रसियाबाट ६१, जर्मनीबाट ५६, चेक रिपब्लिकबाट ४७, जापानबाट ४५, बेलायतबाट ४२, स्पेनबाट ३८, स्विजरल्यान्डबाट ३६ र भारतबाट १५ जना आएका छन् । यीबाहेक अरु ५९ मुलुकहरूबाट पनि आरोही नेपाल आएका छन् । गत वर्षको शरद्कालीन हिमाल आरोहणमा ५२ वटा हिमालका लागि २ सय ६० महिला र १ हजार ६६ पुरुष गरी १३ सय २६ जनाले आरोहण अनुमति लिएका थिए । यीबाट विभागले ७ करोड ८४ लाख सलामी दस्तुर संकलन गरेको थियो । यस वर्षको सिजन नसकिँदै धवलागिरि हिमालमा ५ जना रुसी आरोहीको मृत्यु भएको छ । गत वर्षको शरद्याममा धौलागिरि र सारीबुङ हिमालमा दुई विदेशी आरोहीको मृत्यु भएको थियो, जसमा धवलागिरि हिमालमा एक ३७ वर्षीया रुसी महिला आरोही र सारीबुङमा बेलायती ४५ वर्षीय आरोहीको मृत्यु भएको थियो । नेपालले सगरमाथासहित ४ सय ४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । त्यसमध्ये ५१ वटामा अझैसम्म आरोहण हुन सकेको छैन । नेपालले वर्षमा वसन्त, शरद् र हिउँदयाम गरी तीन सिजन हिमाल आरोहण खुला गर्छ ।

Like