विपी राजमार्ग दसैँअघि नखुल्ने, अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १९,

मुलुकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताए। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। उनले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पारे। उनले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताए। सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उनले विदाको बेलामा पनि विभागका कर्मचारीहरु विभिन्न उपकरणहरु लिएर काम गरिरहेका जानकारी दिए। उनले भने, ‘विपी राजमार्गको कुराको सन्दर्भमा कुनै उपाय गरेर गर्नुपर्छ भनेर जोड दिनुभएको छ। हामी त्यसमा लागिराखेका छौँ। खोला बाटै डाइभर्सन खोल्ने हो। १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ। भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ। दुई उपाय छन्, १२ किमी नै पुल बनाउने। बाटो बनायो लगिहाल्छ। तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि। त्यसको लागि त समय लाग्छ। त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ति गाडीहरुलाई उद्धार गर्ने। त्यसपछाडी क्रमशः गाडी सञ्चालन गर्नका लागि कोशिस गर्नुपर्छ भन्ने लागेको छ। हाम्रो निष्कर्ष के हो भने दशैँ अगाडी हामी त्यो सुचारु गर्न सक्दैनौँ। गाडीहरु उद्धार गर्न चाहीँ अनवरत जारी राख्छौँ काम। उद्धारको कुरामा सरकार शुन्य नम्बरमा गएको होइन। शुन्य नम्बर दिनु हुँदैन। यो सरकारलाई तपाईहरुले नम्बर दिनुपर्छ । किनभने धेरै कामहरु हामीले गरेका छौँ। नगरेको होइन। दोष मात्रै दिएर हुँदैन। हाम्रो सडक विभाग आर्मि स्टाइलको छ। अलर्ट भएर खट्छ। दसैको बेलामा पनि, बिदाका बेलामा पनि सडक विभागका कर्मचारीहरु डोजर लिएर, हेवी इक्युपमेन्ट लिएर खट्नुहुन्छ।’

Like