आखिर बिरालो म्याउँ गरिछाड्यो, प्रचण्ड-मिश्रको संवादप्रति भट्टराईको व्यङ्ग्य

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ९,

मुलुकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीचको संवादबारे टिप्पणी गरेका छन् । ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याँउ गरिहाल्छ रे!’ मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् पूर्व माओवादी नेता समेत रहेका भट्टराईले भने,‘प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलन भित्रको भीषण अन्तरसंघर्ष देखि जान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याँउ’ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।’ पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रबारे दिएको अभिव्यक्तिलाई लिएर ‘बिरालोले झै म्याउँ’ गरेर आफ्नो वास्तविकता देखाएको भन्दै सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्। सशस्त्र युद्धमा माओवादीभित्र प्रचण्ड र भट्टराईबीच राजतन्त्रसँग सहकार्य गर्ने कि संसदवादी दलसँग सहकार्य गर्ने भन्ने विषय चरम विवाद रहेको थियो। बेला-बेला प्रचण्डलाई राजापरस्तको आरोप लाग्ने गरेको भट्टराईको भनाई र मिश्रको दाबीले थप पुष्टि गरेको छ। मिश्रसँगको भेटमा राजतन्त्रप्रति प्रचण्ड नरम देखिएको भन्दै उनले भनेका छन्, ‘यसको अर्थ हो- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!’ नेसपाका संयोजक भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभई नेपाली शोषित पीडित जनताको बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको स्मरण गरे। केही भट्टराईले राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साँटिएका उपलब्धीहरू खोस्न नसक्ने चेतावनी दिए। भेटमा राजा महेन्द्र भिजनरी भएको र द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक र आफू राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा भएको प्रचण्डले बताएको मिश्रले दाबी गरेका छन्। मिश्रलाई प्रचण्डले भनेका छन्, ‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।’ ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।’ प्रचण्डको भनाई उद्दृत गर्दै मिश्रले भने, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’ “अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

Like