स्वदेशदेखि विदेशका कार्यक्रममा दसैँका अवसरमा समेत कलाकार व्यस्त
रासंसा/काठमाण्डौ, भाद्र २९,
मुलुकमा तिज पर्व सकिए लगत्तै कलाकारलाई नजिँकिदै गरेको दसैँ कार्यक्रमको चटारो पर्न थालिसकेको छ । विशेष गरेर दसैँको अवसर पारेर आयोजना हुने कार्यक्रममा गायक–गायिकालाई निम्त्याइन्छ । लोकप्रिय गायक हिमाल सागर नजिकिँदै गरेको यो दसैँमा नेपाल बाहिर हुनेछन् । किनभने दसैँ र तिहारमा अमेरिका र क्यानडाको विभिन्न कार्यक्रमका लागि उनको नाम फाइनल भइसकेको छ । अमेरिका र क्यानडा उड्नु अगाडि झापाको बिर्तामोड, धनगढी लगायत स्वदेशी केही कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । लोकदोहोरी, आधुनिकदेखि पपसम्म सबै प्रकारका गायक–गायिकालाई स्वदेशी तथा विदेशी कार्यक्रम आयोजकले बुकिङ गरिरहेका छन् । अमेरिका र क्यानडाको केही कार्यक्रम सकेर भर्खर फर्किएका हिमाल सागरले आधा कार्यक्रम सकिएको र आधाका लागि फेरि जाने बताए । ‘स्वदेशका विभिन्न जिल्लाबाट आयोजकको फोन निरन्तर आइरहेको छ । विदेशकै कार्यक्रममा बुकिङ भएकाले स्वदेशका कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै आएको छु,’ उनले थपे । लोकगायिका भुमिका गिरी पनि दसैँका लागि विभिन्न कार्यक्रममा अनुबन्ध भएकी छन् । गिरीलाई दसैँ कार्यक्रमले छोइसकेको छ । उनी बिहीबारदेखि दसैँ कार्यक्रममा व्यस्त भएकी छन् । बिहीबार दसैँको अवसर पारेर चितवनमा आयोजित एक कार्यक्रममा उनले प्रस्तुति दिइन् । अहिलेसम्म रोल्पा, धादिङ, नेपालगञ्ज लगायतका स्थानमा हुने कार्यक्रमका लागि बुकिङ भएको उनले बताइन् । ‘केही स्थानमा कुरा भइरहेको छ । दसैँ आउन एक महिना बाँकी भएकाले अझै धेरै ठाउँको कार्यक्रम पर्न सक्छ,’ उनी भन्छिन् । त्यस्तै, गायक दुर्गेश थापा पनि दसैँसम्म निकै व्यस्त हुनेछन् । केही दिन अगाडि अष्ट्रेलियाबाट फर्किएका उनी थुप्रै ठाउँमा आयोजना हुने दसैँ कार्यक्रमका लागि अनुबन्ध भइसकेका छन् । चितवन, गोर्खा, नुवाकोट, बनेपा, विराटनगर, भैरहवा, लम्कीलगायतका कार्यक्रममा उनी सहभागी हुनेछन् । विगतको तुलनामा यो वर्ष दसैँमा धेरै व्यस्त हुने उनले बताए । लोकप्रिय गायक प्रमोद खरेल पनि कार्यक्रमका लागि धमाधम बुकिङ भइरहेका छन् । शुक्रबार काठमाडौंँमा परम्परा ब्याण्डसहित कार्यक्रम गरेका गरेका उनी शनिबार कोरिया उड्नेछन् । कोरियाबाट फर्किएलगत्तै उनी अमेरिका टुरमा निस्किनेछन् । आफू यो दसैँका लागि विदेशी कार्यक्रममा बुकिङ रहेको उनले बताए । लोकगायक नविन पौडेल पनि दुबई, अष्ट्रेलिया, जापान कार्यक्रमका लागि बुक भइसकेका छन् । विदेशका कार्यक्रम बाहेक नेपालका केही कार्यक्रमसमेत भ्याउने उनको योजना छ । गायक बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, गायिका प्रिती आले, लक्ष्मी आचार्य लगायत थुप्रै गायक–गायिका धमाधम कार्यक्रममा बुकिङ भइरहेका छन् । यस वर्ष दसैँ कार्यक्रमका लागि कलाकारलाई स्वदेशका विभिन्न जिल्लाका अलावा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, दुबई, मलेसिया लगायतका देशबाट प्रस्ताव आइरहेको छ । चर्चित साङ्गीतिक ब्याण्ड ‘मंगोलियन हार्ट’ हङकङ कार्यक्रमका लागि बुकिङ भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधाबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा १५ सेप्टेम्बरमा बृहत् कन्सर्ट गर्न लागेको हो । शान्तिश्री परियार, ज्योति मगर, रचना रिमाल यतिबेला अमेरिकामा छन् । ‘अब नाच्छ अमेरिका’ कार्यक्रमका लागि तिज अगाडि अमेरिका पुगेका उनीहरू दसैँसम्म अमेरिकाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् । गायक बद्री पंगेनी पनि अहिले अष्ट्रेलियामा छन् । तिजको कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनी अझै केही समय उतै व्यस्त रहने छन् । गायिका मिलन नेवार पनि अहिले अमेरिकामा छिन् । केही अगाडि अमेरिका पुगेकी उनको पनि दसंँैसम्म कार्यक्रम रहेको बताइन्छ । मिलनको यो पहिलो अमेरिका भ्रमण हो । गायक तथा सङ्गीतकार बसन्त सापकोटा यतिबेला युरोप टुरमा छन् । कमेडी कलाकारद्वय शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलाको साग’सँग ‘गाईजात्रा’ र तिज कार्यक्रमका लागि युरोप पुगेका उनी अझै थुप्रै कार्यक्रम सकाएर नेपाल फर्किनेछन् । दसैँ नेपालीहरुको ठुलो चार्ड हो । वर्षाैंदेखि कामको सिलसिलामा विदेशिएका नेपालीसमेत दसैँमा घर परिवार सम्झिएर फर्किने गर्छन् । तर हिमाल सागर, प्रमोद खरेल लगायतका कलाकार दसैँ कार्यक्रमका लागि विदेश उड्ने तयारीमा छन् भने शान्तिश्री परियार, ज्योति मगर, रचना रिमाल लगायत भने कार्यक्रको सिलसिलामा दसैँसम्म विदेशमा रहनेछन् । ‘गायन कलाकारहरू प्रायः दसैँ र तिहार आफ्नो परिवारसँग मनाउन पाउँदैनन् । यो कलाकारका लागि दुःखको कुरो हो’, हिमाल सागरले भने, ‘हामी गायक–गायिकाका लागि यो आम्दानीको सिजन पनि हो । त्यसैले लामो समय बाहिर निस्कनुपर्ने हुन्छ ।’ कार्यक्रम नै यस्तो चाडपर्वको अवसर पारेर आयोजना हुने भएकाले गायक–गायिकाले घरपरिवार भनेर बस्न नमिल्ने हिमाल सागर बताउँछन् । आफूले धेरै दसैँ घरमा मनाउन नपाएको र धेरै तिहार दिदीबहिनीबाट टीका थाप्न नपाएको उनले सुनाए । लोकगायक बद्री पंगेनी दसैँ, तिहारजस्ता चाडपर्वमा विदेशका कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई धेरै खुसी लाग्ने बताउँछन् । ‘गएको वर्ष पनि म दसैँमा बाहिर थिएँ । यो वर्ष पनि बाहिर हुने भएँ’, उनले थपे, ‘दसैँ कार्यक्रममा लागि बोलाएको ठाउँमा दसैँ सकाएर आउँछु भन्नु पनि भएन ।’ ‘वर्षाैंदेखि परिवारबाट टाढा रहेका व्यक्तिहरूलाई कार्यक्रमको माध्यमले खुसी दिन सक्छौँ हामी’, पंगेनीले भने, ‘यसरी उनीहरूलाई नचाउँदा एक किसिमको बेग्लै खुसी मिल्छ ।’