धरहरा अब संविधान दिवसबाट खुला

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २९,

मुलुकमा २०७२ को भूकम्पले ऐतिहासिक महत्त्वको धरहरा ढल्यो, जहाँ केही मानवीय क्षति पनि हुन पुग्यो । त्यो अवस्था देख्दा धेरैमा एउटा जिज्ञासा थियो— के अब धरहरा ठडिएला त ? भूकम्पको ९ वर्षपछि पूर्ण रूपमा धरहरा ठडिएको छ । सहरी विकास मन्त्रालयले अस्थायी रूपमा धरहरा सञ्चालनको तयारी गरेको हो । त्यसो त ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । उद्घाटन गरे पनि निर्माण पूरा नहुँदा सञ्चालनमा आउन सकेको थिएन । उद्घाटन गर्दा अन्य धरहराभित्र र वरपरका संरचनाको निर्माण सकिएको थिएन । ऊ बेलाको नौतले धरहरा अहिले बाइसतले (जमिनमुनिको दुई तलासहित) भएको छ । यसरी पूर्ण रूपमा निर्माण सकिइसकेको धरहरा चढ्न भने सर्वसाधारणले असोज ३ अर्थात् संविधान दिवसबाट पाउनेछन् । पुरानो धरहराको भग्नावशेष नजिकै नयाँ बनाइएको धरहरा संविधान दिवसका दिनदेखि सर्वसाधारणलाई खुला गर्ने गरी तयारी भइरहेको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए । ‘प्रत्येक दिन बिहान ८ देखि साँझ ७ बजेसम्म धरहरा खुला गर्ने योजनामा छौं,’ उनले भने, ‘अहिले औपचारिक रूपमा उद्घाटन गर्दैनौं, सिधै सर्वसाधारणका लागि खुला गर्छौं ।’ धरहरामा दुईवटा लिफ्ट राखिएका छन् । एउटा लिफ्टमा १० जनासम्म अट्छन् । बिजुलीका लागि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर राखिदिएको गेलालले जनाए । गृह मन्त्रालयले चौबिसै घण्टा प्रहरी उपलब्ध गराइरहेको र आवश्यक कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गरिदिएको उनको भनाइ छ । तत्कालका लागि सर्वसाधारणले धरहरा चढ्न शुल्क तिर्नुपर्ने छैन । ‘सधैं निःशुल्क चलाएर सम्भव हुँदैन, परीक्षण अवधिभर भने धरहरा निःशुल्क चढ्ने व्यवस्था गरेका छौं,’ गेलालले भने । धरहराको वरपर पानीका फोहोरा सञ्चालन गरिने उनको भनाइ छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धरहरा क्षेत्रमा पानीको व्यवस्था गरिदिएको छ । ‘गत बिहीबार मन्त्रिपरिषद्ले धरहरा खुला गर्न गरेको निर्णय मन्त्रालयमा आएपछि आइतबार गृह, संघीय, विद्युत् प्राधिकरण, केयूकेएलका प्रतिनिधिसँग बसेर कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्छौं,’ गेलालले भने, ‘अनलाइन बुकिङका लागि सफ्टवेयर बनाउनुपर्नेछ, त्यसका लागि केही दिन समय लाग्छ ।’ ‘कानुन मन्त्रालयबाट राय आएपछि मन्त्रिपरिषद्मा पठाउँछौं,’ उनले भने, ‘त्यसपछि कार्यविधिअनुसार सञ्चालन गर्छौं ।’ कार्यविधि बनिसकेपछि त्यहीअनुसार निजी क्षेत्रलाई धरहरा सञ्चालनको जिम्मा दिने खरिद गरी आह्वान गरिने मन्त्रालयले जनाएको छ । अहिलेसम्म धरहरा निर्माणमा २ अर्ब ९५ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहराको छिटो काम सकेर सञ्चालनमा ल्याउन सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका थिए । सरकारको सय दिने कार्य योजनामा यसलाई सञ्चालन गर्ने भनेर राखिएको थियो । त्यो समय कात्तिकमा पुग्ने भए पनि पहिल्यै यसलाई अस्थायी रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयले जनायो । मन्त्रालयले धरहरा सञ्चालनका लागि नयाँ कार्यविधि तयार पारेर सम्बन्धित मन्त्रालयहरूमा रायका लागि पठाएको छ । मन्त्रालयले भविष्यमा निजी क्षेत्रलाई निश्चित समय तोकेर भाडामा दिने गरी कार्यविधि बनाएको हो । त्यसका लागि खुला प्रतिस्पर्धा गरेर कम्पनी छनोट गरिने बताइएको छ । धरहरा सञ्चालनसम्बन्धी कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाइएको थियो । अर्थबाट सहमति लिएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको गेलालले सुनाए । ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद मात्रै ६ पटक थपिसकेको छ । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा हो । पाँचौंपटक ०८० असोजसम्म म्याद थप गरिए पनि काम सकिएको थिएन । छैटौं पटक आगामी असोज २० सम्मका लागि म्याद थप गरिएको छ । यसको ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरेको हो, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।

Like