महिला उद्यमी महासंघ नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न
महेशजंग कुँवर/काठमाण्डौ, भाद्र २९,
मुलुकमा महिला उद्यमी महासंघ नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटेलको सभा हलमा आयोजित कार्यक्रम महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री लामा तामाङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री तामाङले अहिले महिलाहरूको हरेक क्षेत्रमा समान सहभागिता रहेको उल्लेख गर्दै देश विकासको मुख्य लक्ष्य पूरा गर्न महिला सहभागिता अपरिहार्य रहेको बताए। उनले भने, ‘राजनीतिक क्षेत्रको भ्रातृसंगठनबाट उद्योगी र व्यापारीहरूलाई दुःख दिने अवस्था अन्त्य गर्न जरुरी छ। महिला उद्यमी अहिलेको अवस्थामा देशको मेरुडण्ड हुन्। भरखरै प्रदेश मन्त्रालय सम्हालेकाले बजेट केकस्तो अवस्थामा छ बुझ्दै छु । तपाईंहरुको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरूका हकहित तथा संरक्षणका लागि महिला उद्यमीहरूको विभिन्न सवालमा सरोकारवाला निकायहरूसँग पैरवी गरिरहेको बताइन्। उनले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सीपमूलक तालिम प्रदान गर्दै महिला उद्यमीका उत्पादनहरूको दिगो बजारीकरणका सञ्जाल विस्तारमा सहयोग पुर्याउँदै आइरहेको बताइन्। मन्तव्यका क्रममा अध्यक्ष ज्ञवालीले बागमती प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशअन्तर्गत महिला उद्यमीहरूलाई सहयोगका लागि अपिल गरिन्। यस्तै, महासंघकी अध्यक्ष ज्ञावलीले महिलालाई आफ्नो उद्योगबाट उत्पादित वस्तुहरुको अन्तरराष्ट्रिय बजार व्यवस्थापनका लागि प्रदर्शनी स्थलका लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाइदिन मुख्यमन्त्रीसामु अनुरोधसमेत गरिन्। कार्यक्रममा महिला उद्यमी संघ तनहुँ प्रथमलाई १५ हजार रुपैयाँ तथा सम्मानपत्र, महिला उद्यमी संघ कास्की द्वितीयलाई १० हजार रुपैयाँ तथा सम्मानपत्र, महिला उद्यमी संघ बाँके तृतीयलाई सात हजार रुपैयाँ तथा सम्मानपत्र, उत्कृष्ट कर्मचारी पुरस्कार भूपेन्द्र वत्स लम्साललाई १० हजार रुपैयाँ तथा सम्मानपत्र, उत्कृष्ट महिला उद्यमी पुरस्कार सुनिता श्रेष्ठलाई सम्मानपत्र, आजीवन सस्थांपक सदस्य पुरस्कार र श्यामवदन श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै कोसेली घर, महिला सशक्तीकरणमा सहयोग गर्ने वातावरण निर्माण गरिदिन पनि मुख्यमन्त्रीलाई आग्रह गरिन्। महासंघमा ७० जिल्लाका हाल पाँच हजार पाँच सय महिला उद्यमीहरूको व्यवसाय सुनिश्चितताका लागि सरकारले पहल गरिदिनुपर्ने उनको भनाइ छ। कार्यक्रमको पहिलो चरणमा युएन वमेनका सन्तोष आचार्यले लघु, साना तथा माझौला महिला उद्यमीहरूसँग अल्पविकसित देशहरूको सहयोगमा LDC (Consultation with women MSME’s) का बारेमा परामर्श कार्यशाला प्रस्तुत गरेका थिए। महासंंघले ७७ वटै जिल्लामा आफ्ना सघं स्थापना गर्ने योजनाअनुरुप हालसम्म ६९ जिल्लामा जिल्ला सघंहरूको स्थापना गरी पाँच हजार पाँच सयभन्दा बढी सदस्यहरूलाई जिल्ला संघहरूमार्फत महांसघमा आबद्ध गरिसकेको छ। उक्त कार्यशालामा पाँच समूहमा विभिन्न शीर्षक राखी छलफल गरी सुझाव संकलन गरिएको र पहिलो समुह माइक्रो इकोनोमिक स्ट्याब्लेटी एन्ड फिस्कल सस्टेनेब्लेटी, दोस्रो ट्रेड एन्ड इन्भेस्ट्मेन्ट,तेस्रो इकोनोमिक ट्रान्स्फर्मेसन, चौंथो बिल्डिङ प्रोडेक्टिभ क्यापसिटी र पाँचौं जेन्टल सोसल इन्क्लुजन एन्ड इन्ट्रोग्रेसन रहेको थियो। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरूका हक अधिकारहरूको सुनिश्चितताका लागि महासंघले उनीहरूका विविध सवाल एवं सरोकारप्रति सशक्त ढंगबाट वकालत गर्दै आइरहेको छ। कार्यक्रममा ग्रान्डी अस्पताल र महासंघबीच महासंघसँग आबद्ध उद्यमीहरूलाई स्वास्थ्योपचारमा छुट दिनेबारे सम्झौता भएको बताइएको छ।