राष्ट्रिय परिचयपत्र छापेर पनि दराजमै थन्किए
रासंसा/उदयपुर, भाद्र २७,
मुलुकमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा छापिएर आएका राष्ट्रिय परिचयन पत्र लामो समय देखि बितरणमा ध्यान नदिदा दराजमा थन्किएर बसेको छ । बितरणमा ध्यान नदिदा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्किएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्यांक अनुसार ३६ हजार ८०० भन्दा बढी परिचयपत्र अझै पनि कार्यालयमा थन्किएर रहेका छन् । उनका अनुसार २०८० बैशाख सम्म लिएको विवरण छापिएर आएको जानकारी दिए । परिचयपत्र बनेर आएको र लिन आउनका लागि सम्बन्धित व्यक्तिको मोवाईल नम्बरका समेत सन्देश पठाइए पनि सेवाग्राही नआएको उनको भनाई छ । विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको भए पनि यसको महत्व नबुझेर लिन नआएको हुन सक्ने फुँयालले बताए । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार अहिले सम्म ७ हजार २८ जनाले मात्रै परिचयपत्र बुझेर लगेका छन् । घुम्ती टोली मार्फत र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट परिचयपत्रको विवरण दर्ता गराईएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार घुम्ती टोली मार्फत पालिकाको वडा वडामा विवरण दर्ता गराएकाको परिचयपत्र भने हालसम्म पनि आएको छैन । वडाबाट लिएको परिचयपत्र वडामै आउने तर कहिले आउछ भन्ने निश्चित नभएको रेग्मीले बताए । जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएका मध्ये ३६ हजार ८ सय परिचयपत्र छापिएर आएको राष्ट्रिय परिचयपत्र बिभागका कर्मचारी जीवन फुँयालले जानकारी दिए । कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देश बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने भनाइ छ । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनु पर्ने र फिंगरप्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने थप सेवा प्रणालीसँग जोड्न लागिएको छ । राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाउन, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्न, बैंक खाता खोल्न, स्वास्थ्य बिमा खोल्न, स्थायी खाता नम्बर लिन, जग्गा जमिनको खरिद बिक्री लगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र नम्बर पेस गर्नुपर्ने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै उपस्थित हुनु पर्ने सहायक प्रजिअ रेग्मीको भनाई छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रको रुपमा लिने गरिन्छ । राष्ट्रिय परिचयपत्रको प्रयोगले एउटै व्यक्तिले धेरै पटक सामाजिक सुरक्षा भत्ता बुझ्ने, मृतकको नाममा भत्ता बुझ्ने, पटक पटक विभिन्न सेवा लिने जस्ता गैरकानुनी काम नियन्त्रणमा आउने विश्वास गरिएको छ । नेपाली नागरिकता प्रमाणपत्रका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷०६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो ।