राधा जन्मोत्सव, बुधाष्टमी व्रत, गोरखकाली पूजा

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २६,
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
राधा जन्मोत्सव
राधाष्टमी सनातन हिन्दुहरूको पवित्र दिन हो । कृष्ण प्रिया राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री राधाजी वृष भानुको यज्ञ अग्नि प्रकट भएको थियो र यसै कारण पनि श्री राधालाई लक्ष्मीको अवतार मानिन्छ। राधा भगवान् कृष्णको सबैभन्दा प्रिय थिइन् । श्री राधाको आराधना नगरी भगवान् कृष्णको पूजा अधुरो मानिन्छ । यदि कसैले श्री राधाको पूजा गर्दैन भने उसलाई भगवान् कृष्णको पूजा गर्ने अधिकार छैन। त्यसैले सबै वैष्णवहरूले देवी राधाको प्रार्थना गर्नुपर्छ। श्री राधा भगवान् श्री कृष्णको जीवनको प्रमुख देवी हुन्, त्यसैले भगवान् राधा को अधीनमा रहनुहुन्छ। उनी सबै मनोकामनाको लागि राधान हुन्, त्यसैले उनलाई श्री राधा भनिन्छ। श्री वृन्दावनेश्वरी राधाले वेद र पुराणदीमा श्री कृष्णलाई सधैँ आनन्द दिन्छन्, जसलाई “कृष्ण वल्लभ” भनेर प्रशंसा गरिएको छ। श्रीमद् देवी भागवतमा श्री नारायणले ‘श्री राधायै स्वाहा’ शक्रक्षा मन्त्रको अति प्राचीन परम्परा र उल्लेखनीय महिमाको सन्दर्भमा नारदलाई श्री राधा पूजाको अनिवार्यताको वर्णन गर्नुभएको छ। यस दिन राधाकृष्णको पूजा गर्नुपर्छ । दिनभर व्रत बसेर फलफूलको समय गर्नुपर्छ। श्री राधा र कृष्णको मूर्तिलाई पञ्चामृतले नुहाएर शृङ्गार गर्ने, बलि चढाउने र त्यसपछि धूप, दीप, फूल आदि अर्पण गरी पाँच रङ्गको धूलोले मण्डप बनाएर त्यसभित्र षड्कोण आकारको कमल बनाउने । त्यस कमलको बिचमा श्री राधाकृष्णको यर्तमूर्तिलाई पछाडि राखेर दिव्यासनको ध्यान गर्नुहोस् र भगवान् राधाकृष्णको भक्तिपूर्वक पूजा-आराधना गर्नुहोस्। यस दिनको अनेक शुभकामना ।
बुधाष्टमी व्रत
ब्रह्माण्ड पुराणमा यस तिथिको महत्त्व विशेष रूपमा अभिव्यक्त गरिएको पाइन्छ । बुधवार को दिन अष्टमी पर्न गएमा एउटा अलौकिक र महत्त्वपूर्ण तिथिको समायोजन हुन्छ जसलाई हामी बुधाष्ठमी भन्दछौँ । यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनसक्छ । यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान् बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबै जनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।
गोरखकाली पूजा
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ । गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।

Like