आज विश्व सुलेखन दिवस
रासंसा/काठमाण्डौ, श्रावण ३०,
मुलुकमा विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो । जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ । नेपालमा धेरै समूह र संस्थाहरूले सुलेखनलाई विशेष गरी देशका परम्परागत लिपिहरूको प्रवर्द्धन गर्दै आइरहेका छन् । यी संस्थाहरू मध्ये क्यालिजात्रा, क्यालिग्राफी नेपाल, नेपाल लिपि गुठीले उल्लेखनिय कामहरू गरिरहेको छ । क्यालिजात्रा फाउण्डेशनका संस्थापक, आनन्द के. महर्जन भन्नुहुन्छ, “नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन् । हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठूलो योगदान दिएको छ, र यस संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न अत्यन्त जरुरी छ । विशेष गरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ। हामीले भारतको Ekype सँगको सहकार्यमा ‘नित्य रञ्जना’ नामक सुन्दर फन्ट विकास गरेका छौँ, जसले D&AD Yellow Pencil र TDC Excellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरवको कुरा हो।” क्यालिजात्रा नेपालको सुलेखन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित एक गतिशील युवा समूह हो । रञ्जना लगायतका प्रचलित नेपाल लिपि, भुजनमोल, देवनागरी जस्ता परम्परागत लिपिहरूको पुनरुत्थानमा केन्द्रित छ । क्यालिजात्राले यी प्राचीन लेखन शैलीहरूलाई जीविन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । क्यालिजात्राका उप-अध्यक्ष लुमु श्रेष्ठ भन्नुहुन्छ “हाम्रो ध्यान सधैं रञ्जना लिपिको प्रवर्द्धनमा केन्द्रित छ, र हामीले काठमाडौं उपत्यका र नेपालका ८०+ स्थानहरूमा सामुदायिक सत्रहरू सञ्चालन गरेका छौं।” नेपालमा सुलेखनलाई निरन्तर प्रवर्द्धन गर्ने अर्को समूह भनेको क्यालिग्राफी नेपाल हो । क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षण गर्न समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह हो । विभिन्न कार्यशालाहरू, प्रदर्शनीहरू, र सामुदायिक सुशिक्षित कार्यहरू मार्फत कलाको रूपमा मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा एक महत्त्वपूर्ण प्रयास गरिरहेका छन् । यी परम्परागत लिपिहरूसँग आधुनिक पुस्तालाई जानकारी प्रदान गरेर क्यालिजात्राले नेपाली सुलेखनको सुन्दरता र इतिहासलाई निरन्तर प्रेरणा दिइ फस्टाउने कुरा सुनिश्चित गर्दछ । क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण भन्नुहुन्छ “कलिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैमा एउटा कला हो। र यहि कलालाई संरक्षण गर्नका लागि विभिन्न कार्यशालाहरू र रचनात्मक गतिविधिहरू मार्फत सक्रिय रूपमा समुदायहरूलाई परम्परागत नेपाली लिपिहरूको बारेमा जानकारी दिने कार्य क्यालिग्राफी नेपालले गर्दछ । जसले देशको सांस्कृतिक पहिचानको पक्षलाई संरक्षण गर्दछ ।” क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ भन्नुहुन्छ “यस इभेन्टको उद्देश्य नेपालको सुलेखन परम्परालाई प्रवर्द्धन र लोकप्रिय बनाउनु हो, आधुनिक पुस्तालाई पुरातन लेखन शैलीसँग जोड्नु हो।”
क्यालिजात्रा र क्यालिग्राफी नेपाल दुवैले संयुक्त रूपमा “नेपालअक्षर” – नेपाल क्यालिग्राफी फेस्टिभल २०२४ को आयोजना गर्दैछन् । नेपाली सुलेखनलाई प्रवर्द्धन र लोकप्रिय बनाउने उद्देश्यले यो कार्यक्रम भदौ १५, August 31 गते नेपाल कला परिषद, बबर महल, काठमाडाैंमा बिहान ११ बजे देखि ६ बजेसम्म संचालन हुनेछ । यस कार्यक्रमको विवरण यस प्रकार रहेको छ: – प्यानल छलफल: विज्ञ सुलेखनका कलाकारहरूद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने बारे छलफल ।
– क्यालिग्राफी कार्यशालाहरू: सहभागीहरूले रञ्जना, प्रचलित नेपाल लिपि, भुजनमोल र देवनागरी जस्ता परम्परागत नेपाली लिपिहरू सिक्न र अभ्यास गर्ने ।
– लाफभ क्यालिग्राफी सत्रहरू: प्रख्यात सुलेखकहरूले आफ्नो सीप र प्रविधिहरू प्रदर्शन गर्ने, र सहभागीहरूले सुलेखनमा ब्रश प्रयोग बारे जानकारी लिने र अभ्यास गर्ने ।
– कला प्रदर्शनी: अद्वितीय सुलेख टुक्रा र सम्बन्धित कला खरिद गर्ने अवसर।
-क्यालिग्राफी प्रदर्शनी: नेपाली लिपिहरूको सौन्दर्य र विविधतालाई हाइलाइट गर्दै नेपाल र बाहिरका कलाकारहरूद्वारा बनाइएको क्यालिग्राफी कलाकृतिहरूको प्रदर्शनी ।
विश्वभरिका क्यालीग्राफरहरुलाई आज सम्झना गर्ने दिन हो । नेपालमा पनि धेरै क्यालीग्राफरहरु छन्, चाहे त्यो रञ्जना या देवनागिरि लिपि या अरू जुनसुकै लिपी को किन नहोस् । अक्षरहरूमा प्राण भरिदिने अनि आकृतिहरूमा रस जगाइदिने सबै कलाकारहरूलाई हाम्रो तर्फबाट कोटीकोटी नमन ।