भगवान शिव, आध्यात्मिक श्रावण महिना र सोमबार

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ७,

डा. के. बि. सम्राट

आज साउन महिनाको सोमबार। नेपाललगायत संसारका हरेक स्थानमा बस्ने करोडौं सनातन धर्मावलम्बीहरु महादेवको उपासना गर्दै मन्दिर जाने, पूजा गर्ने र व्रत बस्ने गर्दैछन्। यो क्रम हजारौं वर्षदेखि चल्दै आएको छ र जबसम्म यो पृथ्वी रहन्छ तबसम्म चल्नेछ। वेलपत्रले शिवालयहरु ढाकिएका छन्। शिवको आराधनामा हजारौं भक्तहरु न्ाचगान गर्दैछन्। यो क्रम वर्षभर नै चल्ने भए पनि साउनमा धेरै बढी हुन्छ। किनकि साउन शिवलाई मन पर्ने महिना हो। साउनले मानिसलाई शिवतत्वमा जान प्रेरित गर्छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। शिवको आराधनाका लागि श्रावण महिना तथा श्रावणे सोमबार नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठुलो महत्त्व छ। श्कोरावण सोमबारमा पशुपतिनाथ र शिपाडोलमा अवस्थित डोलेश्वर महादेवलगायत गोकर्णेश्वर, कुम्भेश्वर, गोसाईकुण्ड, पिण्डेश्वर आदि शिव मन्दिरहरूमा भक्तजनहरूको ठुलो संख्यामा महिला पुरुषहरूको पूजा आराधनाका लागि उपस्थिति भइ अनुष्ठान हुन्छ। हिन्दु तथा बौद्धहरूले पशुपतिनाथका साथै डोलेश्वर महादेव, अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवर, गोसाईकुण्डलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। महादेवको पूजा आराधनामा शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन्। नेपाल र भारतका शिव मन्दिरहरूमा सोमबार राताम्य महिलाहरू र विभिन्न भेषका पुरुष भक्तजनहरूबाट बोलबम भन्दै पवित्र नदी, तालबाट घडाका घडा जल ल्याएर महादेवमा चढाइन्छ। पशुपतिनाथ र केदारनाथ र डोलेश्वर महादेवको अपरम्पार महिमा छ। डोलेश्वर महादेव केदारनाथको शिरका रूपमा मानिन थालिएको छ। पशुपतिनाथ र डोलेश्वर महादेवको महिमा अपरम्पार छ। हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो। प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ। पशुपतिनाथलाई शिव, महादेव, रुद्र, किरातेश्वर, शंकर, शंम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकारिन्छ। विशेष गरेर साउने सोमबार महिलाहरूले आफ्ना पति, सन्तानको समृद्धिको कामना गरेर उपवास–व्रतमा लीन रहन्छन्। हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र मानिन्छ। पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ। त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन्। धर्मका हिसाबले अनादिवासी, आदिवासीहरू सबै हिन्दु तथा बौद्ध संस्कारमा आबद्ध छन् भने मारवाडी, बंगाली तथा सिखहरू हिन्दु धर्म तथा संस्कृतिका समर्थक हुन्। हिन्दु तथा बौद्धदेखि पृथक् आप्रवासीहरूमा मुस्लिम धर्मावलम्बीहरूसमेतको सामञ्जस्यपूर्ण बसोबास रहँदै आएको छ। पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सन्दर्भमा बनारसबाट हतियार बनाउन मुस्लिम कालीगड र केही युद्धकलामा माहिर मुसलमानहरू समेत भित्र्याएकाले धर्मको हिसाबमा आआफ्नै धर्म मान्ने गरेको र नेपाली नागरिकको हैसियतमा हिन्दु र मुसलमानबीच एकअर्कामा सामञ्जस्य रहँदैआएको छ। वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको जेष्ठभूमि मानिएको छ। यही भूमिमा गौेतमबुद्धको जन्म भएर विश्वभर बुद्धको प्र्रकाश छरिएको छ। भनिएको छ– ‘बोधिसत्य महासत्यः, स्वयम्भू चैत्य नमाम्यहं।’ हिमवत् खण्डमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरूको बसोबास छ। हिमवत् खण्ड नेपाल, जसलाई शक्तिस्वरूपा देवीदेवताको बासस्थान र मानव सभ्यताको उद्गम मानिन्छ। विश्वमा ॐकार जगत् हिन्दु र बौद्धको आधिकारिक थलोका रूपमा हिमवत् खण्ड तथा भारत खण्डको ठुलो महिमा छ। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश मानसरोवर र गंगासम्मको भूभाग हिमवत् खण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको भूभाग भारतखण्ड हो। पहिलाको नेपाल अहिलेको भन्दा ठुलो थियो।
महादेवका मन्दिरहरूमा अविवाहित महिलाहरू पूजा आराधनामा आफ्नो, आफ्नो देश, परिवार, श्रीमान्, छोराछोरीको समृद्धिको कामनामा व्रत बसेर आराधना गर्छन्। महादेवको मन्दिरहरूमा सोमबारका दिन राताम्य नेपाल र भारतका महिलाहरूको ठुलो भिड लाग्छ। साउनमा शिवजीको पवित्र महिना मानेर के महिला के पुरुष सबै हिन्दुहरूले पहेँला वस्त्र लगाएर नजिकमा रहेका शिवमन्दिरमा पवित्र नदी, कुण्डहरूबाट बोलबम भन्दै घडामा जल बोकेर चढाउँछन्। पाँचौं शताब्दीतिर चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा– ‘कामरूप (आसाम) र कर्कपुर (कुमाउ र गडवाल क्षेत्र) बीचको देशलाई ‘नेपाल’ भनी लेखिएकाबाट पनि यो तथ्य सिद्ध हुन्छ। हिमवत् खण्ड नेपालको विषयलाई लिएर वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा उल्लेख गरेका छन्– ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि।’ कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो,’ भनेका छन्। नेपाल र भारतलगायत विश्वका अनेकौं स्थानमा स्थापित महादेव, शिवालय मन्दिरहरूमा सोमबार त्यत्तिकै हिन्दु नारीहरूको जमगठ हुन्छ। आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुमा आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू परम्परागत अस्तित्व ठान्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग, कैलाशपति आदि विभिन्न नामले पुकारिन्छ। पशुपतिनाथका तीन नेत्र हुन्छन्, तीनलाई ज्ञानचक्षु मानिन्छ। पशुपतिनाथको निधारको नेत्रमा पवित्र चन्दन लगाइएको हुन्छ, जसको प्रतापले विश्वभरका हिन्दुहरूले निधारमा टीका ग्रहण गर्नु आफ्नो पहिचान ठान्छन्। महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेको इतिहासमा उल्लेख छ। शिवजीबारे पौराणिक इतिहासमा उल्लेख छ-हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो। यसरी नै गोसाईकुण्ड, पिण्डेश्वरलाई समेत त्यत्तिकै पवित्र क्षेत्रका रूपमा लिइन्छ। त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन्। लिच्छविवंशका पहिला राजाले ‘विक्रमादित्य’को उपाधि धारण गरेर, विक्रम संवत्को उठान गरी, वैशालाधिपतिका रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट काशीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत् खण्डमा उल्लेख छ। हिमवत् खण्डको पुस्तकमा-‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिहरूले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। पौराणिककालदेखि नेपालका राजाहरूले पशुपतिनाथप्रति पूजा–अर्चना, सम्मान गर्दैआएका छन्। पौराणिककालमा नेवार राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजाआजा हुन्थ्यो। कैलाश–मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो। यो क्षेत्र हिमवत् खण्डको भूभाग हो। मानवकल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठुलो महिमा छ। अठार पुराणहरू सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृत्तान्त हो। १७१४ सालपछि राजोपाध्यायहरूको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरूलाई पशुपतिको भण्डारे बनाइएको थियो। पछि यक्ष मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरू पशपतिनाथका पुजारी बनाइएका थिए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषावंशावलीमा उल्लेख छ। पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका विजयपछि १८२६ सालमा वसन्तपुर दरबारको अभिलेख लेखिएको र उक्त अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्।’ १४०० सालतिर बंगालका नबाब सुल्तान समसुद्दिनको पशुपतिक्षेत्रमा भएको आक्रमणको मुकाबिला गरेर जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार र पुनरुत्थान गरी पशुपतिपारि राम मन्दिरको निर्माण गरेर ललितपुर कुम्भेश्वरमा महादेव स्थापना गरी कोटिहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धबाहेक अरूहरूको प्रवेश निषेध गर्ने नियम चलाएका थिए। राजाहरूमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको कुरा पशुपतिनाथमा रहेका शिलालेखहरूमा पाइन्छ। यसैगरी शाहवंशीय राजाहरूमा रणबहादुर शाह र १८६७ साल मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरूको अलग अलग खान्की तोकिदिएका थिए। शाहवंशीय राजाहरूलगायत राजा महेन्द्र, राजा वीरेन्द्र तथा राजा ज्ञानेन्द्रबाट पनि साबिक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा सम्बन्धि अनेकौं लालमोहहरू लागु हुँदै आएका छन्। यो पुण्यभूमिभित्रका मान्यता, परम्परा, अस्तित्व बाँचिरहून्। पशपतिनाथले सबैको कल्याण गरून्! पशुपतिनाथ, डोलेश्वर महादेव, विभिन्न ज्योतिर्लिङ्गका रूपमा संसारभर पूजा गरिने र साउन महिनामा विशेष पूजा गरिने शिव भगवानहरुका पनि भगवानका रूपमा मानिन्छन्। तसर्थ अरु भगवानलाई देव भनिन्छ भने शिवलाई महादेव भनिन्छ। यतिमात्रै हैन, सनातन धर्मशास्त्रहरुले ब्रह्मा, विष्णु, इन्द्रलगायत सबै देवताको आयु तोकेको छ। यहाँसम्म कि यमराजको पनि आयु हुन्छ। तर शिवमात्रै एक यस्ता भगवान हुन् जसको आयु छैन। संसार भए पनि शिव छन् र संसार नभए पनि शिव छन्। यस्ता शिव को हुन् त? पार्वतीका पति, दिगम्बर, भोले जसको साकाररूपमा डमरु त्रिशूल लिएको मूर्तिको पूजा हुन्छ र निराकाररूपमा लिङ्गको पूजा हुन्छ, के यही नै शिवको परिचय हो? सनातन पुराणमा केसम्म भनेको पाइन्छ भने संसारमा भएको सबै रुख बिरुवालाई कलम बनाएर, सातै समुद्रमा भएको पानीमा यहाँ भएका सबै माटो मिसाइ मसी बनाएर, देवी सरस्वतीले शिव महिमा भन्ने र गणेशले लेख्ने काम गरे पनि त्यो मसी सकिँदासम्म शिव महिमाको एक दशांस पनि सकिएको हुन्न। यस अर्थमा शिव बुझ्न र शिवबारे लेख्न सजिलो छैन। तैपनि सामान्य बुझाइमा शिव के हो भन्नेबारे छोटो चर्चा भने गर्न सकिन्छ। शिव शब्द संस्कृतको श इ व को मिश्रण हो। शको अर्थ नित्य सुख र आनन्द हो। इ को अर्थ मानव जाति हो जसलाई पुरुष शब्दले जनाउने गरिएको पाइन्छ। वको अर्थ शक्ति हो। यस अर्थमा जुन पुरुषले नित्य आनन्द र जीवन बाँच्न ऊर्जा दिन्छन् त्यो नै शिव हो। शिवको परिचय उनी को हुन् भनेर दिने भुल कहिल्यै गर्नुहुन्न, शिवको परिचय उनी के हुन् भनेर दिनुपर्छ। जसले माथि भनिएको रूपमा शिवलाई चिन्छन् वा बुझ्छन् ती मूर्ख हुन्, अबुझ हुन्। भोलेको रूप हैन, तत्व बुझ्नेले मात्र शिवलाई बुझ्छन्। जसले शिव नबुझी शिवको उपासना गर्छ त्यसको कुनै अर्थ हुन्न। जसरी भक्ति नभई भोकै बसेर मात्र व्रत हुन्न, त्यसैगरी शिव नबुझी शिवलिंगको मात्र दर्शनले शिवत्व प्राप्त हुन्न।
सत्य : शिव सत्य हो। शिवमा छलकपट कहीँ छैन। शिवको अवतार छैन। शिवको कुनै अरु रूप छैन। शिवको कोही आफन्त छैन र कोही पराया छैन। यही कारण उनी भोले भनिन्छन् र भोलेकै रूपमा पुजिन्छन्। शिव कहिल्यै झुट बोल्दैनन्, शिव कहिल्यै धोका दिँदैनन्। अरु सबैको हजारौं जन्म भइसक्दा पनि शिव एक छन् र एकै रहनेछन्। शिव सत्य र सधँैं एकनासका रहने भएकाले उनलाई ‘भोले’ भनिन्छ। भोलेको अर्थ सत्य हो, सत्यबाहेक अरुको उपस्थिति भोलेमा छैन। जसको आँखामा छल छैन, मनमा कपट छैन र दिमागमा हिंसा छैन, त्यो नै भोले हो, त्यो नै शिव हो, त्यो नै शंकर हो र त्यो नै देवादिदेव महादेव हो।
शक्ति : शिव शक्ति हो। यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ। ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ। हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ। तसर्थ जन्माउने र मोक्ष प्रदान गर्ने ऊर्जा शिव हो, भोले हो, पशुपति हो र हरेक महादेव मन्दिरका नामका पछाडि लागेका ‘श्वर’ हुन्। अबुझहरु चारखुट्टे जनावर र बुद्धि नभएकालाई पशु बुझ्छन् र त्यहीरूपमा व्यवहार गर्छन्। तर पशुको अर्थ त्यो हैन। पशु भनेको त जसले सुख र दुःख भोग गर्छ त्यो नै पशु हो। ब्रह्मादेखि मानवसम्म र चराचर जगतमा भएका सबै पशु हुन् शिवबाहेक। हामी पनि सबै पशु हौं। तर शिवमात्रै सुख दुःखबाट पर छन् र सबैको रक्षा गर्छन्। सुख दुःखमा परेकाको उचित रेखदेख गर्छन्। तसर्थ शिव सबैको पति हो, पशुपति हो। सनातन धर्मशास्त्रले शरीरको बल र विजयका लागि देवीको महिमा गर्छ भने आत्मबलका लागि शिवको। किनकि आत्मबल अरु सबै बलको जननी हो। तसर्थ शिव शक्तिको जननी पनि हो।
आकार : जसको कुनै आकार छैन, त्यो शिव हो। तसर्थ शिवलाई निरञ्जन निराकार भनिन्छ। डमरु बोकेका त्रिशूल हातमा लिएका महादेव त शिव वा भोले बुझ्न नसक्नेहरुका लागिमात्रै हो। जसले भोले बुझ्छ उसले शिवको निराकार रूपको मात्र उपासना गर्छ। अझ साकार र निराकारको बीचमा रुमलिएकाहरुका लागि लिंगका रूपमा निराकार शिव भेटिन्छन् तर जसले शिव बुझ्छ, त्यहाँ कुनै प्रकारको आकार हुन्न। जहाँ आकार हुन्न, त्यहाँ रूप हुन्न र जहाँ रूप हुन्न त्यहाँ मायामोह आदि केही हुन्न। हुन्छ त केबल भक्ति। तसर्थ जो सच्चाभक्त छ, ऊ भोलेको भक्त छ शिवको भक्त छ। यसै कारण शिवका परम अनुयायीहरु शिवलाई प्रकाशविन्दुका रूपमा पुज्छन्। प्रकाश विन्दुले ऊर्जा, शक्ति, उज्यालो, सत्यता, सुन्दरता र भोलेपन सबैको प्रतिनिधित्व गर्छ।
सुन्दरता : सामान्यतया सुन्दरता नाप्ने यन्त्र भनेको रूप, शृंगार, राम्रा राम्रा लुगा र बहुमूल्य गहना हुन्। परापूर्व कालदेखि अहिलेसम्म यो प्रथा चलेको छ र चल्नेछ। अप्सराहरु, विष्णु, इन्द्र जस्ता देवतालाई यहीरूपमा सुन्दर बताइन्छ र वर्णन गरिन्छ। अझ श्रीकृष्णको सुन्दरताको बयान त उनको रूपबाटै सुरु हुन्छ र रूपबाटै अन्त्य हुन्छ। मानिस त्यस्तो सुन्दरताको अनुशरण गर्छन् र आफू समाजमा सुन्दर भएको भ्रममा बाँच्छन्। आधुनिक मानव जातिले बुझेको सुन्दरता यही नै हो। यसको अर्थ शिव तत्वले कहिल्यै बाहिरी रूपको सुन्दरतामा विश्वास गरेन। मनको सुन्दरताको बलले जसले संसार चलायो त्यो नै शिव हो। तसर्थ संसारका सबैभन्दा सुन्दर भनिने मुरलीमनोहर श्रीकृष्ण पनि सदाका लागि शिवको गौशालाका गोठाला बने। बुद्धिमान ऋषिहरुले कहिल्यै बाहिरी सुन्दरतामा ध्यान दिएनन् र शिवका उपासक बने। अहिले पनि जो भोले छ जो सत्यमा छ उसले कहिल्यै बाहिरीरूपमा ध्यान दिँंदैन र आत्मशुद्धिको बाटोमा आफूलाई लैजान्छ। तर जहाँ शिवको नाम हुन्छ, त्यहाँ सुन्दरताको अर्थ अलग हुन्छ। कुनै राम्रो बस्त्रबिना, कुनै शृंगारबिना र कुनै गहनाबिना केही संसारमै सबैभन्दा सुन्दर छ भने त्यो नै शिव हो। खरानी घसेर अर्धनग्नरूपमा जसले सुन्दरता देख्छ त्यो नै शिव हो। यही शिवको सुन्दरताको वर्णन हरेक देवताले गर्छन्। उपासना गर्छन् र मोहित हुन्छन्। सबैभन्दा सुन्दर भनिएको रूपमा बस्नेहरुको वर्णन देवता र मानवले मात्रै गर्छन् तर शिवको सुन्दरताको महिमा ती देवताका साथै दानवले समेत गर्छन् किनकि उनीहरुलाई थाहा छ शक्ति कहाँ छ र सुन्दरता के हो। त्यही मनको सुन्दरता बुझेका र पुजेका कारण देवताले दानवलाई सजिलै कहिल्यै पराजित गर्न सकेनन्। जहिले पनि झुट र छलको सहारामा देवताले दानवलाई पराजित गराए।
वैराग्य : वैराग्य शब्दको अर्थ आफ्नो नभएको वस्तुप्रतिको अनाशक्ति हो। आधुनिक जमानामा यसलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। अझ कहीँ कतै त घर व्यवहार छाड्नुलाई वैराग्य भन्ने गरेको पाइन्छ, जुन शतप्रतिशत गलत हो। शास्त्रका अनुसार वैराग्य अत्यन्त सकारात्मक शब्द हो। शिव वैराग्यको प्रतीक हो। उनमा कुनै आशक्ति छैन। आशक्तिवालाहरु स्वर्गमा बस्छन् विलासिता भोग गर्छन्। शिव हिमालमा आफ्नो बास बनाउँछन् र मानव कल्याण गर्छन्। प्रतिकूल परिस्थितिमा बसेर जसले अरुप्रति आशक्त नभई मानव कल्याण गर्छ, त्यो नै शिव हो।
निरन्तरता : शिव निरन्तरता हो। शिवको मृत्यु छैन। शिवको जन्म छैन। छ त केवल निरन्तरता। जसले संसार बुझ्छ र आफू शिवको निरन्तरताको एउटा पात्र हुँ भन्ने बुझ्छ, उसले शिव बुझ्छ। जहाँ क्रम भंग हुन्छ, जहाँ टुट आउँछ, जहाँ फुट आउँछ त्यहाँ भोले हुँदैनन्। भोले अविचलितताको प्रतीक हो। तसर्थ भोलेका शिवलिंगहरु पत्थरका हुन्छन्। जो भोलेका भक्त छन् ती पनि आफ्नो भक्तिमा आफ्नो प्रेममा र आफ्नो विश्वासमा अविचलित हुन्छन्। जो बिचौलिया हुन्छन् ती शिवभक्त हैनन् र हुनै सक्दैनन्। शिव तत्व हो, शिव जीवनदर्शन हो, शिव विज्ञान हो, शिव पूरै परमात्मा हो र मानव जगत मरमात्माको अंश हो। यसरी शिवलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ। नत्र सदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ। यसमा कुनै द्विविधा छैन।

Like