बाढीको वितण्डा कञ्चनपुरमा पनि
रासंसा/महेन्द्रनगर, आषाढ २५,
मुलुकमा चार दिनदेखिको भारी वर्षाका कारण कञ्चनपुर सोमबार जलमग्न भएको छ । गत शुक्रबारदेखिको भारी वर्षाका कारण जिल्लाभरीका ठूला तथा साना नदी तथा खोलामा बाढी आउँदा एक नाबालकसहित चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्् । झन्डै २ हजारबढी घर डुबानमा परेका छन्् । अत्यधिक वर्षाले महेन्द्रनगर, दोधाराचाँदनी, लालझाडी, पुनर्वास, बेलडाँडीलगायत क्षेत्रका धेरै ठाउँका घर तथा बस्ती डुबानमा परेका हुन् । कृष्णपुर नगरपालिका–१ पहरिया डुबानमा पर्दा घरभित्र सुतिरहेका सातमहिने शिशु सोनु धानुकको मृत्यु भएको छ । घरभित्र पसेको पानीमा खाटबाट खस्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले वर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाइएको बताए । यस्तै, सोमबार दिउँसो तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि पुनर्वास नगरपालिका–५ का तीन किशोरीको गाउँघरनजिकै रहेको तालमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको हो । उनीहरू गौरीशंकर माविमा अध्ययनरत थिए । मृत्यु हुनेमा लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी छन्् । लक्ष्मी ९ कक्षामा तथा आरती र सृजना १० कक्षामा अध्ययनरत थिए । उनीहरू तीनै जना आफन्त हुन् । विद्यालय बिदा भएपछि उनीहरू घुम्न तालतिर गएका थिए । भीषण वर्षाका कारण तालमा पानीको सतह बढेकाले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, आइतबार दिउँसो बेलडाँडी गाउँपालिका–५ मा रहेको चौधर नदीमा माछा मारेर फर्कनेक्रममा नदी तर्नेबेला नदीको जलस्तर बढ्दा डम्बर चौधरी बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कँुवरले बताए । यस्तै, वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदानदी पस्दा बेलौरी–पुनर्वास र धनगढीबीच आवतजावत बन्द भएको छ । कञ्चनपुरमा कल्भर्ट भत्किँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान वेदकोट नगरपालिका–७ सुडामा रहेको कल्भर्ट भत्किँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा चौधर नदीको बाढीले नहर भत्काएको छ । बेलडाँडी गाउँपालिका–५ भुर्सानजिकै चौधर नदीमा आएको बाढीले बेलडाँडी शिवनगर मुख्य नहर भत्काएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण कुँवरका अनुसार बेलडाँँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट र बेलौरी नगरपालिकाको भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन् । अविरल वर्षाले चौधर नदीमा पानीको सतह बढेसँगै सोमबार बिहान नहर भत्काएपछि नदीको पानीले बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । यस्तै, कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई ठूला नदी चौधर र दोदा नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन्् । अविरल वर्षाका कारण दोदा नदीमा पानीको बहाव बढेपछि पुनर्वास र लालझाडी गाउँपालिकाका स्थानीयवासी त्रसित बनेका छन्् । दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौं गाउँबस्ती डुबानमा परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्जका स्थानीय पुरन रानाले दोदा नदी गाउँ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका–५ सिमरी, रातोपुल–२ मोतीबस्तीका सयौं घर डुबानमा परेको बताए । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएको स्थानीय रानाको भनाइ थियो । महाकाली नदी पारी दोधाराचाँदनी नगरपालिका–८ मा रहेको महाकाली नदीस्थित तटबन्ध तोडेर नदीको पानी सुन्दरनगर बस्तीमा पसेको छ । बस्तीमा पानी पस्दा सिंगो बस्ती डुबानमा परेको छ । जोगबुढा नदीमा पानीको बहाव बढ्दै गएपछि दोधाराचाँदनी नगरपालिका–१० शान्तिटोल, कुतियाकबर र वडा नम्बर ८ सुन्दरनगरलगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन्् । जोगबुढा र महाकाली नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ । यसैबीच, जोगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रका बासिन्दा प्रभावित भएका छन्् । नदी थुनिँदा भँगालोमा फसेका ४० परिवारका सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा मापन गरिएको र थप वर्षा हुनसक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । सोको प्रभावले सो क्षेत्र भई बहने अधिकांश नदीमा जलसतह खतरा तह आसपास रहेकाले दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न जान अनुरोध गरिएको थियो । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा यस वर्ष सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन गर्दा कञ्चनपुरको दोधाराचाँदनीमा यस वर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । निरन्तर वर्षाका कारण कञ्चनपुर जिल्लामा बाढीबाट प्रभावित १ हजार १ सय १२ परिवारका ४ हजार १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । भीमदत्त नगरपालिका–१८ सुकुम्बासी बस्ती महेन्द्रनगर, दोधाराचाँदनी नगरपालिका–१० कुतियाकबर र शान्तिटोल, पुनर्वास नगरपालिका–५ र ७, बेलौरी नगरपालिका–१०, बेलडाँडी गाउँपालिका–३, ४, ५ का बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । नेपालको इतिहासमा यति धेरै वर्षा भएको पहिलोपटक दोधाराचाँदनीमा मापन गर्दा सबैभन्दा बढी रहेको छ । यसअघि विगतका वर्षमा हेटौंडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियाका कार्यालय प्रमुख सञ्जय साहले बताए । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अतिउच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिनेक्रममा रहेको जनाएको छ । महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । नेपालको इतिहासमा यति धेरै वर्षा भएको पहिलोपटक दोधाराचाँदनीमा मापन गर्दा सबैभन्दा बढी रहेको छ । यसअघि विगतका वर्षमा हेटौंडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियाका कार्यालय प्रमुख सञ्जय साहले बताए । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । महाकाली नदीका नेपालतर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बस्तीतिर बाढी पसेको थियो । तर, अहिले बहाव घट्दोक्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ । बेलुका ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २० हजार क्युसेक बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका बताए । उनका अनुसार शनिबार आधारभन्दा बढी ढोका खोलिएकामा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । आइतबार राति महाकाली नदीमा झन्डै ४ लाख क्युसेक पानीको बहाव पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका बताए । उनका अनुसार शनिबार आधारभन्दा बढी ढोका खोलिएकामा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । आइतबार राति महाकाली नदीमा झन्डै ४ लाख क्युसेक पानीको बहाव पुगेको थियो । सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकतानुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहतको काम भइरहेको छ । महाकाली र चौधर नदीको बाढीले कञ्चनपुरमा हजारौंं घर डुबानमा परेका छन् । बाढीबाट प्रभावित १ हजार १ सय १२ परिवारका ४ हजार १ सय ६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लास्थित विपद् व्यवस्थापन टोलीले ५ सय ११ घरपरिवारका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । टोलीले घरको छाप्रोमा बसेका २९ जनाको राति उद्धार गरेको छ । डुब्नै लागेको अवस्थाबाट उनीहरूको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । अधिकांश ठाउँमा बस्न उच्चा ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरू प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताए । उनका अनुसार पानी निकास र उद्धारका लागि जिल्लामा १० भन्दा बढी जेसीबी प्रयोग गरिएको छ । कञ्चनपुरमा यसअघि पनि महाकाली र चौधर नदी किनारका बस्तीले डुबान समस्या भोग्दै आएका थिए । यसपटक बाढी, डुबान समस्या फरक ठाउँमा देखिएको जोशीले बताए । उनका अनुसार यसपालि, भीमदत्त नगरपालिकाको बजार क्षेत्र, सालघारी, भगतपुर, ऐठपुर, वेदकोट नगरपालिका, दोधाराचाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रमा डुबान समस्या छ । कञ्चनपुरमै चौधर नदीको बाँध फुटेर बेलडाँडी क्षेत्र जलमग्न भएको छ । यसैगरी, दोदा नदीको बाढीले पुनर्वास नगरपालिकामा डुबान भएको छ । ‘विगतमा महाकाली किनारको भुजेला क्षेत्र र चौधर नदी किनारको बस्ती बाढी तथा डुबानको चपेटामा पर्ने गथ्र्यो,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘यस वर्ष अन्य क्षेत्रमा बढी समस्या देखियो ।’