भब्यताका साथ आज १९ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन मनाईदै
रासंसा/कास्की, आषाढ १५,
मुलुकमा आज १९ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन भब्यताका साथ मनाईदै
नेपालमा १९ औँ राष्ट्रिय धान दिवस आज (बुधबार) मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने गरिन्छ । कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न धान दिवसको विशेष महत्व रहन्छ । यो वर्षको धान दिवसको नारा ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने तय गरिएको छ । केहीअघिदेखि सरकारले धान दिवस मनाउन थाले पनि असार १५ लाई भने सदियौँदेखि दही चिउरा खाने दिनका रूपमा लिइने गरिन्थ्यो । औपचारिक रूपमा सरकारले विक्रम संवत २०६१ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालेको हो । असार १५ लाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिन्छ । कृषि प्रधान देश भनिएको नेपालमा धान रोप्ने अनि दही चिउरा खाएर असार १५ सामूहिक र उल्लासपूर्ण तरिकाले मनाउने चलन छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिनलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । रोपाइँका क्रममा खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने चलन पनि छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता प्रदान गर्ने र शक्ति सञ्चयमा मद्धत गर्ने विश्वास गरिन्छ । त्यही भएकाले असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने चलन छ ।