राष्ट्रिय परिचयपत्रको लाइनमा २ दिनदेखि ज्येष्ठ नागरिक

Share to:

रासंसा/गोरखा, आषाढ ४,

मुलुकमा बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँराका ७५ वर्षका सिद्धलाल गुरुङ आइतबार दिनभरि जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने फाँट अगाडि लाइनमा उभिए। ४ बजेतिर पालो आएपछि खुसी हुँदै उनले कागजपत्र बुझाए। तर, उनको खुसी धेरैबेर टिकेन। श्रीमतीको नागरिकता नल्याएको भनेर फाँटवालाले फर्काइदिए। बारपाक सुलीकोट सौरपानीकी ७३ वर्षकी मनमाया गुरुङ राष्ट्रिय परिचयपत्रको लाइनमा बसेको सोमबार दोस्रो दिन हो। गर्मी र काम नबन्ने हो कि भन्ने पिर चिन्ताले पिल्सिँदै दिनभरि लाइनमा बसेकी उनी साँझपख निराश बन्दै फर्कनुपर्‍यो। ‘हिजो दिनभरि लाइनमा बस्नु मात्रै भयो। साँझ परेपछि आज भ्याइँदैन, भोलि आउनु भनेर फर्काइहाल्यो’, उनी भन्छिन्, ‘आज नि यतिबेला भइसक्यो, पालो आउने छाँटकाँटै छैन। फेरि भोलि आउनु भन्ने हो कि भन्ने डर लागेको छ।’ साँझ होटलमा बास पर्‍यो। घरमा टेलिफोन गरी उनले बिहानको गाडीमा नागरिकता मगाए। श्रीमतीको नागरिकता लिएर सोमबार १० बजे लाइन बस्न गएका उनले दिउँसो १ बजेसम्म पनि पालो पाएनन्। ‘गाउँबाट आएको दुई दिन भइसक्यो, अझै काम भएको छैन। हैरान भएँ’, उनी भन्छन्, ‘अझै हिजोदेखि आएकाको पालो आएको छैन भन्छन्। बुढेसकालमा दुःख पाइयो।’ वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्थाले बुढेसकालमा दुःख पाएको उनले पीडा पोखे। अजिरकोट गाउँपालिका–५ भच्चेककी ८० वर्षकी निरमाया तामाङ राष्ट्रिय परिचयपत्र बनाउन भनेर घरबाट बिहान ७ बजेको बसमा सदरमुकामका लागि हिँडिन्। उनी साढे ९ बजेतिर गोरखा बजार आइपुगिन्। निरमाया काम नबन्ने होकी भन्ने पिरले १० बजे नै जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने कोठाको झ्यालमा पुगिन्। उनी त्यहाँ पुग्दा आफ्नै उमेरका वृद्धवृद्धाको धेरै नै भीड भइसकेको थियो। उनी पनि त्यही लाइनमा उभिएर पालो कुर्न लागिन्। ‘खै कुन्नी के हो पत्र बनाउन पर्नि रे त नि बा ! त्यहीँ बनाउन आको। त्यो नबनाइ पिन्सिन (वृद्धभत्ता) नपाइने भन्दा रै’छन्’, उनी भन्छिन्, ‘बूढाबूढी मान्छेलाई यस्तो दुःख मात्रै दिन्छन्। आउँदा त बसमै आको हो। अब यति बेलासम्म पनि काम नबनेर छोरा यता उता हिँडिरहेको छ। खै कति खेर पो काम बन्ला। अबेला भएर बस छुट्यो भने ट्याक्सी रिजप लिएर जानुपर्ने होला। दुःख पनि खर्च पनि।’ सबा १२ बजेसम्म उनी लाइनमा नै थिइन्। थकाइ र गर्मीले हायलकायल भएपछि उनी लाइन छाडेर बेञ्चमा बस्न पुगिन्। ८० वर्षको उमेरमा राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम धाउँदा धेरै नै सास्ती भएको उनको गुनासो थियो। जिल्ला प्रशासन कार्यालयमा हिजोआज वृद्धवृद्धाको यस्तो कारुणिक दृश्य बग्रेल्ती देखिन्छ। सरकारले वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकहरू कोही बोकिएर, कोही सहयोगीले तातेताते गराउँदै, कोही ट्याक्सी रिजर्भ गरेर प्रशासन कार्यालय आइरहेका छन्। ‘लु’ लाग्ला जस्तो गर्मीमा उनीहरू तड्पिदै लाइनमा बसिरहेका देखिन्छन्। तर, प्रशासन कार्यालयको भनाइ भने फरक छ। वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लाहरूमा गोरखा नपर्ने प्रमुख जिल्ला अधिकारी भोला दाहाल बताउँछन्। ‘यो कार्यक्रम नेपालका २८ वटा जिल्लामा मात्र लागू गरिएको छ, जसमा गोरखा पर्दैन’, उनी भन्छन्, ‘तर गलत सूचनाले गर्दा गोरखाका ज्येष्ठ नागरिकले पनि दुःख पाइरहनु भएको छ। मैले सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पनि यस बारेमा जनचेतना फिँजाइदिन अनुरोध गरेको छु।’ २८ वटा जिल्लाभित्र परेकै भए पनि हिँडडुल गर्न नसक्ने, रोगी, अपांगहरूलाई भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको उनको भनाइ छ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *