आज वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन)

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ४,

पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
स्मार्त
स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।
“वैष्णव”
वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्।
वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ ।
स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ। अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ । गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौँ, कृष्णाअर्पणम ।
वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ । यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । ५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ । एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् । ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *