आज गणतन्त्र दिवस मनाइदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ १५,
विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् । जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ । नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुन कालागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ ।, सङ्घीय स्वरूपमा । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् । १० वर्षे सशस्त्र द्वन्द्व मा वीरगति पाएका ती तमाम नेपाली अमर आत्माहरूलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापि हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत अभ्यासले मात्र हुन सक्छ । सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०८१ मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। बैठकमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू र नेपाल सरकारका सचिवको उपस्थिति थियो। मूल समारोह समितिले विभिन्न उपसमिति गठन गरेको छ। हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, युगौँ यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुवै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन् अनि विधिको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकै स्वर भई फैलिउन् । हो म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनी रहोस् ।