प्रचण्ड–ओली कांग्रेसको ‘नयाँ प्रस्ताव’पछि छलफलमा
रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,
मुलुकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ । स्रोतका अनुसार कांग्रेसको उक्त प्रस्तावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अहिले केहीबेरमा छलफल हुँदैछ । प्रधानमन्त्री प्रचण्ड र ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि भेट्ने तय भएको छ । त्यसका लागि अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले सिधै रवि लामिछानेको नाम राख्नुको साटो उनी जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर (कार्यादेश) बनाउन सकिने लचकतासहितको प्रस्ताव गरेपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको हो । शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषयमा छानबिन गर्नेगरी समिति बनाउनुपर्ने माग गरिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनले सत्तापक्षले नयाँ प्रस्ताव भनेपनि आफूहरूको माग उही रहेको दाबी समेत गरे । गोरखा मिडिया नेटवर्कलगायत कम्पनीमा भएको रकम अपचलनका विषयमा पनि अनुसन्धान गरेर सहकारीका सञ्चालक, सञ्चालक समिति, प्रबन्ध निर्देशक, व्यवस्थापकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भनाइ राखेको परियारको भनाइ छ । ‘गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट रकम गएको छ, उक्त रकमको अपचलनमा माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता भएको भन्ने प्रमुख विपक्षी दलले आवाज उठाएको हो’, परियारले भने, ‘ उक्त विषयमा छानबिन गर्न छानबिन समिति बनाउने भनेर हामीले आफ्नो कुरा राखेका छौँ ।’