कान्तिपुर हाफ म्याराथनमा दीपक विजेता, राजपुराको ह्याट्रिक

Share to:

रासंसा/काठमाण्डौ, जेष्ठ ५,

मुलुकमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । दीपक कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले आफ्नो उपाधि जोगाएकी हुन् । ‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा दीपकले १ घन्टा ७ मिनेट १५ सेकेन्डको समय निकाल्दै गत वर्षको विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारे । आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डका साथ दोस्रो भए । शीर्ष ६ स्थानमा आर्मीका चार खेलाडी रहे । एपीएफका गोपीचन्द्र पार्की १ घन्टा ८ मिनेट १४ सेकेन्डका साथ तेस्रो, आर्मीका सुशील शाही १ घन्टा ८ मिनेट ४८ सेकेन्डका साथ चौथो, किरणसिंह बोगटी १ घन्टा १० मिनेट १८ सेकेन्डका साथ पाँचौं र गजेन्द्र राई १ घन्टा १५ मिनेट ४३ सेकेन्डका साथ छैटौं भए । महिलातर्फ राजपुराले १ घन्टा २२ मिनेट २५ सेकेन्डको समय निकालिन् । गत वर्ष उनी १ घन्टा १९ मिनेट १६ सेकेन्डका साथ उनी विजतो बनेकी थिइन् । २०६७ सालदेखि आयोजना हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही १ लाख पाउनेछन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाउनेछन् । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हर्ट, टेक्निकल पार्टनर नेपाल एथलेटिक्स एसोसिएसन, पेन रिलिफ पार्टनर जन्डु, फुड पार्टनर फुड म्यानेजमेन्ट एन्ड ट्रेडिङ कम्पनी लिमिटेड तथा डिजिटल पार्टनर: इसेवा मनी ट्रान्सफर, इन्टरनेसनल एयरलाइन्स पार्टनर जजिरा र हस्पिटल पार्टनर अल्का अस्पताल रहेका थिए ।

Like