रासंसा/काठमाण्डौ, बैशाख २६,
मुलुकमा नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए । २०६७ साउनपछि दुईजना डीआईजी र ६ जना एसएसपीहरूले राजीनामा दिएका छन् । संगठनप्रतिको असन्तुष्टि र घरायसी कारण प्रहरीमा २० वर्ष सेवा गरेकाहरूले राजीनामाको बाटो रोज्ने गरेका छन् । त्यसपछि उनले भनेका थिए–‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, गर्न सकिँदैन ।’ यो भनाइबाट मन्त्रिपरिषद्को निर्णयमा उनको असन्तुष्टि सार्वजनिक भयो । २० वर्ष नपुगी राजीनामा गरेमा पेन्सन नपाउने प्रावधान छ । तसर्थ त्यो प्रावधान छलेर २० वर्ष सेवा गरिसकेपछि सेवा अवधि बाँकी हुँदा पनि छाडेर अन्य पेशा अँगाल्ने प्रहरीहरू धेरै छन् । राजीनामा दिनेहरूमा तल्लो तहका प्रहरी/कर्मचारी नै बढी छन् । विदेशमा रोजगारीको अवसरका कारण पनि तल्लो तहका धेरै प्रहरीले जागिर छाड्ने गरेको पूर्व एआईजी पुष्कर कार्कीले रातोपाटीलाई बताए । उनले भने–‘अर्को करिअर सुरु गर्न प्रहरी कर्मचारीले बिचमै जागिर छाड्ने गरेका छन् ।’ ५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि आर्थिक वर्ष २०८०–०८१ चैतसम्ममा ४ हजार ५७० जना प्रहरीले राजीनामा गरेका छन् । राजीनामा दिनेमा सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । पाँच वर्षको अवधिमा १ हजार ९६९ जना हवल्दार र ९ सय १५ जना असई र ३ सय २ जना सईले जागिर छाडेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ । ५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ । लगातार राजीनामा दिने क्रम नरोकिएपछि प्रहरीले त्यसबारे आन्तरिक सर्वेक्षण गरेको थियो । शैलेश थापा आईजीपी हुँदा गरिएको सर्वेक्षण अनुसार ३ वटा कारणले प्रहरीले जागिर छाड्ने गरेको निष्कर्ष छ ।
१. आर्थिक दायित्व अनुसार तलब नबढ्नु २. विदेशमा सुरक्षा गार्डमा काम गर्ने अवसर
३. परिवारबाट टाढा बस्दा घरको जिम्मेवारी बहन गर्न नसक्नु
जागिर छाडेका प्रहरी जवान र हवल्दारहरुले दुबईको प्रहरीमा भर्ना हुने अवसर पाउँछन् । त्यसलाई रोक्न तत्कालीन आईजीपी थापाले ‘घरपायक सरुवा’ को नीति ल्याए । तर, पनि जागिर छोड्ने क्रम रोकिएन । प्रहरी कर्मचारीहरू अहिले १८ घण्टासम्म काममा खटिन्छन् । तर, ड्युटी अवधि ८ घण्टामा ल्याउनुपर्ने आवाज उठ्ने गरेको छ । तल्लो तहका कर्मचारीले युएन मिसनमा अवसर पाउँदैनन् । मिसनमा साँघुरो हुँदा पनि राजीनामा दिनेहरूको ग्राफ बढ्दै छ । तत्कालीन एआईजी प्रधुम्न कार्की भन्छन्–‘पोस्टिङ गर्दा छिमेकी जिल्लामा गर्ने तथा पती–पत्नीलाई एकैठाउँमा काम गर्ने अवसर दिने अभ्यास सुरु गरेका थियौँ ।’ प्रहरी कर्मचारीले रासन बापत अहिले ५ हजार पाउँछन् । महिना दिन खाना खान सो रकम अपुग भएको प्रहरी अधिकृतहरू बताउँछन् । कार्की भन्छन् –‘रासन रकम बढाउने र ड्युटी आवर घटाउने तर्फ ध्यान नदिँदा सेवा अवधिभर काम गर्ने वातावरण बनेको छैन ।’ जागिर छाड्ने क्रम रोक्न प्रहरी प्रधान कार्यालयले सरुवामा सहजीकरण गर्ने नीति अख्तियार गरेको छ । समस्या देखाएर निवेदन दिएमा सरुवामा सहजीकरण गर्ने गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ति अधिकृत भन्छन्–‘तल्लो तहका कर्मचारीको गुनासो सम्बोधन गर्न हामी संवेदनशील छौँ ।’ प्रहरीमा ७९ हजार दरबन्दी भए पनि हाल ७५ हजार भन्दा धेरै प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रवक्ता डीआईजी भीम प्रसाद ढकालले बताए । उनी भन्छन्–‘दरबन्दी भन्दा करिब ३ हजार कर्मचारी थोरै छन्, भर्ना प्रक्रिया पुरा गरेर दरबन्दी पूर्ति हुँदै छ ।’ नेपाल प्रहरी मात्र होइन, नेपाली सेनाबाट पनि बिदा लिनेको सङ्ख्या उच्च छ । जङ्गी अड्डाले प्रत्येक वर्ष ६ हजारदेखि ६५ सय सैनिकले जागिर छाड्ने गरेको जनाएको छ । राजीनामा दिएका र बिना जानकारी सम्पर्कमा नआएर सैनिकको सङ्ख्या १ वर्षमा ६ हजार ५ सय रहेको सैनिक प्रवक्ता (सहायक रथी) गौरव केसीले रातोपाटीलाई बताए । नेपाली सेनामा १५ हजारको दरबन्दी रिक्त छ । तीमध्ये ८ हजार सैनिक छनोट भएर तालिम गरिरहेका छन् । सैनिक जवान १६ वर्ष जागिर खाएपछि पेन्सन पाउन योग्य मानिन्छन् । अन्यत्र अवसर देखेपछि १६ वर्ष पुगेकाहरूले जागिर छाडेको हुनसक्ने सहायक रथी केसीले बताए । उनी भन्छन्–‘विदेश जान वा अन्यत्र आर्जन गर्न सकिन्छ भनेर उनीहरू सेनाबाट बाहिरिएको हुनसक्छ ।’ बिल्लादार सैनिक चाहिँ १७ वर्षमा पेन्सन पाउन योग्य हुन्छन् । तर, १७ वर्षमा जागिर छाडे पनि उनीहरूले ३ वर्षपछि अर्थात् २० वर्षमा पेन्सन लिन पाउँछन् । पेन्सन पाउन योग्य अवधि चाँडो हुँदा सेनामा जागिर छाड्नेको सङ्ख्या उच्च रहेको सैनिक अधिकृतहरूको बुझाई छ । जागिर छाड्नेहरूलाई रोक्नका लागी सेनामा कुनै विधि अख्तियार गरिएको छैन । ‘सेनामा भर्ना हुन आउने दर पहिले भन्दा अहिले बढ्दै गएको छ, आकर्षण बढेको देखिन्छ’ उनले भने । सुरक्षा निकायले यसरी रिक्त भएको पदमा सार्वजनिक विज्ञापन गरी पदपूर्ति गर्ने गरेको छ । नेपाली सेनामा १५ हजारको दरबन्दी रिक्त छ । तीमध्ये ८ हजार सैनिक छनोट भएर तालिम गरिरहेका छन् । ३ हजार २ सय सैनिकको नयाँ भर्ना अन्तिम चरणमा पुगेको र २७ सयको लागी सूचना आह्वान गरिएको छ । राजीनामा दिएर तथा अनिवार्य अवकाशका कारण रिक्त दरबन्दीमा भर्ना प्रक्रिया द्रुत पारिएको सहायक रथी केसीले जानकारी दिए । सशस्त्र प्रहरी बलमा प्रहरी र सेनामा भन्दा निकै थोरै सङ्ख्यामा राजीनामा दिने गरेका छन् । पछिल्लो ५ वर्षमा २ हजार ८३१ जनाले राजीनामा दिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने–‘२०७६ भन्दा पछि २ हजार ८ सय ३१ जनाले राजीनामा दिएका छन् ।’ सशस्त्रमा २०७६ देखी २०८० सम्ममा राजीनामा र अनिवार्य अकाशमा जानेको सङ्ख्या ३ हजार ३५ मात्र छ ।