आज मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन), विश्व रेडक्रस दिवस, कानुन दिवस मनाइदै

Share to:

माता तीर्थ औँसी

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी : यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी ।
माता तीर्थ औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता”
जहाँ जहाँ नारीहरूको सम्मान हुन्छ, आमा, छोरी, दिदी बहिनी आदि महिलाका भगवान् स्वरूपहरूको सम्मान हुने ठाउँमा मात्र भगवानको वास हुन्छ ।
जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन ।
मातृदेवो भव ।
अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।
आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।
विश्व रेडक्रस दिवस
आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ । आज मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त ग¥यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।
सन् २०२४ को बिश्व रेडक्रस दिवसको नारा
यस वर्ष भने रेडक्रस दिवसको नारा “I give with joy, and the joy I give is a reward हो । म खुसी दिन चाहन्छु र मैले दिएको खुसी मेरा लागि सम्मान हुनेछ भन्ने भाव लाग्छ ।
नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माण हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ।
रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन्:
१. मानवता २. निष्पक्षता ३. तटस्थता ४. स्वतन्त्रता ५. स्वयंसेवा ६. एकता ७. सर्वव्यापकता ।
हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थुप्रै नामहरूका अतुलनीय योगदानहरू पनि आउँदछन्, मानव सेवा कालागि जीवन समर्पण गर्ने रेडक्रसका संसारभरका स्वयंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यकता छ । जय होस्, मगंल होस्
कानून दिवस
नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नु पर्ने आवश्यक्तालाई आजको दिनमा सबैतिरवाट जोड दिने गरिन्छ ।बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो । नेपाली न्यायको इतिहास मल्लकालिन न्याय व्यबस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरु हुँदै यहाँ आइपुगेको हो। इतिहासको पाना कोट्याँउदै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि ब्यबस्थापिका तिनै अगंहरु राणा शाषकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ती सफल भएपछी बैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रिय न्यायलय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानून दिवस । सुस्तरि वि सं २००९ मा प्रथम र एतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्तऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरु अकाट्य र अन्तिम हुने कानूनीब्यवस्था गरेको थियो।यो नै आजको दिनसम्म आईपुगेको नेपालको स्वतन्त्र न्यायालयकोप्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रुपमा पनि लिनेगरिन्छ । कानून दिवसका माध्यमबाटअन्यायमा परेकाजनसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायलयप्रतिको सम्मान अभिवृद्धिहुने विश्वास गरिएको छ ।
यस दिवसका दिन तिनै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ ।प्रजातान्त्रीक अभ्यासमा राज्य चलाउन मुख्य तिनवटा अंगहरु ब्यवस्थापिका, कार्यपालिका र न्यापालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधीको शाषन स्थापित गर्नु हो । आज सर्वोच्च अदालत परिसरमा दिउँसो बिशेष कार्यक्रम आयोजना गरिन्छ भने देशैभरिका न्यायलयसंग समबन्धीत सस्थाहरुमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ। राजनीती र न्यायलयको नरुचाईएको मिश्रण मुक्त नेपाली न्यायलय आजको आवश्यक्ता हो । हजुरवुवाको पालाको मुद्धा नातीले पनि खेपीरहेको हजारौ मुद्धाहरुको सूनुवायी बाँकी छ, घरखेत वेचेर अदालती कारवाहीको पैसो तिर्नपर्ने उदहारण ब्याप्त छ अनि दुख्खदायी कुराहरु त निमुखाहरुले न्याय नपाएका अनि टाठाबाठाले बांगो बनाएका मुद्धा र निर्णयहरुसँग छ । कालो कोट भित्रका सेता भावनाहरु पारदर्शी होउन, कानूनका लामा अनि समान हातहरु सबैको शिरउपर होउन् , कानून किनवेच नहोस् ।

Like