कमेडीकी ‘जिरे खुर्सानी’ सुयशा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा ‘कमेडी च्याम्पियन सिजन ३’ मा १२ वर्षीय सुयशा खनालले उमेरले आफूभन्दा पाका कमेडियनलाई दर्बिलो प्रस्तुति मार्फत टक्कर दिँदै आएकी छन् । सानै उमेरमा उनले देखाएको प्रतिभालाई लिएर कतिपयले ‘जिरे खुर्सानी’ संज्ञा दिएका छन् । कतिपयले भने उनी अद्भुत प्रतिभाको धनी भनेर व्याख्या गरेका छन् । ‘टप ३०’ मा दिएको ‘स्कुले विद्यार्थी’को प्रस्तुति उनको पहिलो दमदार प्रस्तुति थियो । यो प्रस्तुति आधा नसकिँदै जज (निर्णायक मण्डलका सदस्य) सन्तोष पन्तले बर्जर बजाएर उनलाई अर्को राउण्डमा पुर्‍याएका थिए । यो प्रस्तुतिमा उनले स्कुलमा विद्यार्थीको समस्या, महँगो भर्ना शुल्क, धेरै किताब बोक्नुपर्ने विषय लगायतमा व्यङ्ग्य गरेकी थिइन् । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सुयशा प्रतियोगितामा एकपछि अर्को प्रस्तुतिमार्फत दर्शकको मन जित्दै अगाडि बढ्न सफल छिन् । ‘फिल्म र परिवार’ नामक प्रस्तुतिमार्फत फिल्म क्षेत्रका विभिन्न विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै अडिसन राउन्डबाट ‘टप ३०’ मा उनी छानिएकी थिइन् । उनको बजार तताएको र अहिलेसम्म चर्चामा रहेको प्रस्तुति चौथो थियो । जसमा उनले ‘बुढी आमा’को भेषमा बालविवाह र त्यसबाट भएका घटनाहरू केलाएर समाजप्रति प्रहार गरेकी थिइन् । यो प्रस्तुतिले उनलाई सर्वपरिचित बनाएको थियो । त्यसपछि सडक बालबालिकाका विषयमा ‘सडकमा माग्ने बालिका’ प्रस्तुति दिएकी उनले यो प्रस्तुतिबाट ‘गोल्डेन बजार’ जित्दै अर्को फट्को मारिन् । प्रतियोगितामा तेस्रो प्रस्तुतिको रूपमा ‘नेताको छोरी’ बनेर नेता र नेताको छोरीको पीडा उठाएकी उनले यसमार्फत अर्को राउन्डमा जम्प गर्न सफल भइन् । सुयशा अहिले प्रतियोगिताको ‘टप ७’ मा छिन् । टप ८ मा ‘ब्युटी पार्लर’को प्रस्तुति दिँदै उनी उत्कृष्ट ७ मा पुग्न सफल भएकी हुन् । यो प्रस्तुतिमा उनले ब्युटी पार्लरमा हुने मेकअप, त्यहाँको समस्याप्रति समाजमा चिनिएका पात्र ऋषि धमालादेखि फिल्म निर्देशक प्रदीप भट्टराईसम्मलाई प्रयोग गर्दै व्यङ्ग्य हानेकी थिइन् । ४ वर्षको उमेरदेखि नै अभिनयमा होमिएकी उनले हिमालयन टेलिभिजनको एक सिरियलका लागि पहिलो पटक अभिनय गरेकी थिइन्, जसमा उनी फुच्ची निर्देशकको भूमिकामा थिइन् । टप ७ मात्र होइन, प्रतियोगितामा अहिले उनलाई उपाधिको दाबेदारको रूपमा पनि हेर्ने गरिएको छ । उनी पनि उपाधि जित्ने उद्देश्य सहित आफूले मेहनत गरिरहेको बताउँछिन् । त्यसपछि केही सिरियल र ‘नेपाली कमेडी शो’मा समेत कलाकारिता प्रस्तुत गरेकी उनी पछिल्लो समय प्राइम टिभीको ‘तीन पुस्ता’ भन्ने कार्यक्रमका देखिएकी थिइन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग एउटा सर्ट फिल्ममा समेत अभिनय गरेकी उनी सर्वपरिचित भने ‘कमेडी च्याम्पियन सिजन ३’मा प्रतियोगी भएर भित्रिएपछि भएकी हुन् । दर्शकको भोट र माया कायम रहे उपाधिसमेत जित्न सक्ने उनी सुनाउँछिन् । उनले भनिन्, ‘प्रतियोगितामा प्रतिभाको अलावा भोटको खेल पनि हुन्छ । सबैले भोट दिए मेरोलागि राम्रो हुन्छ ।’ ‘कमेडी च्याम्पियन सिजन ३’मा उपाधिको लागिभन्दा केही सिक्ने उद्देश्यले सहभागी भएको उनले बताइन् । ‘चर्चा कमाउँला, उपाधि जितौँला भनेर प्रतियोगितामा आएको होइन’, सुयशाले भनिन्, ‘हेरौँ न त भनेर छिरेको थिएँ । चर्चा र नाम दुवै पाउन सफल भएँ ।’ उनका बुबा कलाकार भएकाले उनलाई मनग्य भोट दिलाउन खर्च गर्न सक्दैनन् । प्रतियोगिताका लागि उनलाई साथीभाइ, स्कुलका टिचरले समेत हौसला दिइरहेका छन् । ‘भेट्नेले कहाँ देखे–देखेजस्तो लाग्या छ भन्नुहुन्छ’, उनी थप्छिन्, ‘कमेडी च्याम्पियनमा बुढी आमा लगायतको कमेडी गर्ने त्यो सानो केटी मै हो भन्दा पत्याउनुहुन्न ।’ कमेडी च्याम्पियनमा राम्रो प्रस्तुतिका कारण सुयशा टप १० बाट ७ सम्म ‘बेस्ट पर्फमर’ भएर भोटिङ राउण्डमा प्रवेश नै नगरी पुग्न सफल भएकी हुन् । प्रस्तुति हेर्दा बाहिर भेट्ने जो कोहीले उनलाई चिन्न सक्दैनन् । उनको अनुभव पनि त्यस्तै छ । बाहिर हिँड्दा दर्शकले कमेडी च्याम्पियन प्रतियोगी आफू नै हो भन्दा नपत्याउने गरेको उनी सुनाउँछिन् । कमेडी च्याम्पियन प्रतियोगिताको तुलनामा सार्वजनिक रूपमा आफू केही फरक देखिने भएकाले मानिसहरूलाई पत्याउन गाह्रो भएको हुनसक्ने उनले अनुमान लगाइन् । कमेडी मार्फत कलाकारितामा राम्रो उचाइ बनाएकी सुयशा ‘कमेडी च्याम्पियन’मा विजेता बने पनि नबने पनि कलाकारितामा निरन्तर लाग्ने सोच राख्छिन् । भविष्यमा राम्रो कलाकार बन्ने लक्ष्य लिएकी उनले कलाकारिता विरासतबाट पाएकी हुन् । ७ कक्षामा अध्ययनरत उनी कलाकारिताले अध्ययन बिग्रन्छ कि भन्नेतर्फ पनि निकै सचेत छिन् । त्यसैले अध्ययनबाट बचेको समयमात्र उनी कलाकारितामा दिन्छिन् । उनका बुबा सन्तोष खनाल पनि राम्रो कलाकार हुन् । कमेडी कलाकारितामा सन्तोषको राम्रो छाप छ । बुबालाई देखेर उनी कलाकारिताप्रति लोभिएकी हुन् । भविष्यमा सफल र भर्सटायल कलाकार बन्ने एकमात्र लक्ष्य छ सुयशाको । ‘मेरो पहिलो प्राथमिकता अध्ययन नै हो, त्यसपछि कलाकारिता’, उनले भनिन्, ‘यो समय मेरो लागि अध्ययन सबैभन्दा महत्त्वपूर्ण छ ।’ कलाकारिताले अध्ययनमा झनै सजिलो र राम्रो बनाएको उनको तर्क छ । कन्टेन्टका लागि उनी पहिले विषय उठाउँछिन् । त्यसपछि उक्त विषयसँग को–को टच हुन्छन्, समाजका चिनिएका व्यक्ति, जसलाई व्यङ्ग्य गर्न मिल्छ, त्यो जोड्छिन् । ‘कमेडी च्याम्पियन’को तीन सिजनको रेकर्ड ब्रेक गर्दै अगाडि बढिरहेकी सुयशाको भविष्यमा फिल्म अभिनय गर्ने इच्छासमेत छ । अभिनेता प्रदीप खड्का र विपिन कार्कीको फ्यान उनी कमेडी च्याम्पियनका लागि कन्टेन्ट आफैँले लेख्छिन् । त्यसलाई फिनिसिङ दिने काम उनका बुबाको हो । त्यसका लागि केही रिसर्च गरेर कन्टेन्ट तयार गर्ने गरेको उनी सुनाउँछिन् । उनी क्यारिकेचर गर्न पनि माहिर नै छिन् । उनी पत्रकार ऋषि धमला, प्रधानमन्त्री प्रचण्ड र कमेडियन सुमन कोइरालाको क्यारिकेचर गर्छिन् । अभिनयको अलावा डान्स र चित्रकलाको पनि सौखिन उनी खानामा मःमः, पिज्जा मन पराउँछिन् । उनी घुमघाममा पनि रुचि राख्छिन् ।

Like