बुटवलका स्कुल अत्यधिक गर्मी बढेपछि दुई दिन बन्द
रासंसा/रुपन्देही, बैशाख २०,
मुलुकमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ। केही दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिँदा उक्त निर्णय गरेको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ। बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो। ‘चर्को गर्मीसँगै बिहानैदेखि चल्ने तातो हावाले विद्यार्थीहरूमा समस्या देखिएकाले स्कुल बिदा दिनुपर्यो भन्ने अभिभावकको गुनासो र सुझाव थियो,’ उनले भने, ‘त्यसैका आधारमा नगरभित्रका स्कुल दुई दिन बिदा दिने निर्णय गरेका हौं।’ खेतबारी र वरिपरिका वनजंगलसँगै बस्तीहरूमा लागेको आगलागी र बिहानैदेखि चल्ने तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। वैशाख महिना सुरू भएदेखि नै रूपन्देही लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ। केही दिन पहिलेसम्म दिउँसो दुई-तीन बजेदेखि चल्ने गरेको तातो हावा आइतबारदेखि भने बिहानैदेखि चल्न थालेको छ। तातो हावाका कारण तापक्रम ४३ डिग्रीभन्दा माथि पुगिरहेको छ। अत्यधिक गर्मीका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी पर्न थालेका छन्। लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसहरूको स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन्। मंगलबार भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसअघि वैशाख ९ गते सबभन्दा धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या बढेको छ। उच्च ज्वरो, रूघाखोकी, झाडापखाला, टाउको दुख्ने, बेहोस हुने जस्ता समस्या लिएर बिरामी आउने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक नन्दु पाठकले बताए। यसबाट जोगिन पर्याप्त झोलिलो पदार्थ खान र हावा चलेका समयमा घरबाहिर ननिस्किन चिकित्सकहरूले आग्रह गरेका छन्। अत्यधिक गर्मी, तातो हावा तथा लहरका कारण धेरै थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्या देखिने भएकोले सजग रहन उनले आग्रह गरे।