विद्यार्थीको चाप बढ्दै उपत्यकाका सामुदायिक विद्यालयमा
रासंसा/काठमाण्डौ, बैशाख ६,
मुलुकमा देशभरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव प्रमुख समस्या बनिरहेको छ । भर्ना भएका विद्यार्थी टिकाइराख्नु झन् ठूलो चुनौती छ । तर, उपत्यकाका केही विद्यालयमा भने विद्यार्थी भर्नाको चाप थेगिनसक्नुको छ । उनीहरू क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्ने दबाबमा छन् । विद्यालयको भौतिक संरचना र जनशक्तिले नथेग्ने भएपछि भर्ना हुन आएका विद्यार्थीलाई जबर्जस्ती फर्काउनुपर्ने बाध्यतामा उनीहरू छन् । गत शैक्षिक सत्रमा दुई हजार तीन सय विद्यार्थी भर्ना गरेको मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलमा यसपटक पनि भर्ना फाराम लिनेको संख्या अत्यधिक छ । तर, नयाँ संरचना नथपिएका कारण गत वर्षभन्दा बढी विद्यार्थी भर्ना गर्न नसक्ने विद्यालयको भनाइ छ । विद्यालयमा प्रधानाध्यापक रामाशिष यादवले आएका सबै विद्यार्थी भर्ना गर्न नसकिने जानकारी दिए । ‘विद्यार्थीको चाप धेरै छ, तर भौतिक संरचना र जनशक्तिले भ्याउनेजति मात्रै भर्ना लिन्छौँ,’ उनले भने । शैक्षिक गुणस्तर सुधारेर अब्बल ठाहरिएका यहाँका सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा अभाव, शिक्षक–कर्मचारी नहुनु, खेलमैदान तथा खाली ठाउँ अभाव, क्यान्टिन, बलियो आर्थिक स्रोतको अभावसँग भने जुधिरहेका छन् । यसतर्फ सरकारको ध्यान नगएको उनीहरूको गुनासो छ । दरबार हाइस्कुल (भानु मावि)मा पनि विगतमा भन्दा विद्यार्थीको चाप बढी छ । यहाँ पनि कक्षाकोठालगायत भौतिक संरचना अभाव रहेकाले धेरै विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयकी प्रधानाध्यापक शारदा पौडेलले बताइन् । उनका अनुसार नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा सात सय ८१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यी विद्यार्थी सोमबारदेखि भर्ना भइरहेको छ । ‘अहिले नै क्षमताभन्दा बढी विद्यार्थी राखेर पठनपाठन गराइरहेका छौँ,’ उनले भनिन्, ‘हामीसँग १४ वटा मात्रै कक्षाकोठा छन् ।’ उनका अनुसार भानु माविको कक्षाकोठाको हिसाबले विद्यार्थी क्षमता जम्मा तीन सय ६० हो । तर, दोब्बर विद्यार्थी पढाउने गरिएको छ । भानु माविसँगै रहेको संस्कृत माध्यमिक विद्यालयमा पनि यस वर्ष एक सय ७१ जना विद्यार्थीले भर्नाका लागि प्रवेश परीक्षा दिएका छन् । ललितपुरको बुङमतीमा रहेको आदर्श शौल युवक माविको अवस्था पनि भानु मावि र रत्नराज्य स्कुलको भन्दा फरक छैन । सोही कारण विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा लिएको छ । गत शैक्षिक सत्रमा यस विद्यालयले दुई हजारभन्दा बढी विद्यार्थी भर्ना गरेको थियो । यस वर्ष पनि यही हाराहारीमा भर्ना गरिने विद्यालय प्रशासनले जनाएको छ । बौद्ध महांकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भर्नाका लागि फाराम भर्न आउने विद्यार्थीको चाप अघिल्लो वर्षभन्दा बढी छ । गत शैक्षिक सत्रमा विद्यालयमा ११ र १२ कक्षासम्म गरी तीन हजार हाराहारी विद्यार्थी भर्ना भएका थिए । विद्यालयकी निमित्त प्रअ मञ्जु मग्रातीका अनुसार यस वर्ष पनि विद्यार्थीको चाप अत्यधिक भएकाले उनीहरूको क्षमता र ज्ञानका आधारमा भर्ना गरिनेछ । ‘यद्यपि, सीमित भौतिक संरचना र जनशक्तिका कारण सबै विद्यार्थी भर्ना गर्न नसक्ने बाध्यता छ,’ उनले भनिन् । काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माविमा पनि भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक छ । यस विद्यालयमा पनि अन्यमा जस्तै भौतिक संरचना अभावको समस्या छ । गत वर्षभन्दा बढी विद्यार्थी भर्ना लिन नसकिने विद्यालयको भनाइ छ । ललितपुरकै फुल्चोकी मावि, किटिनी मावि र बज्रवाराही माविमा पनि विद्यार्थीको चाप बढ्दो छ । बज्रवाराही माविमा दक्षिण ललितपुरका धेरै विद्यार्थी आउने भएकाले विद्यार्थी बढेको विद्यालयले जनाएको छ । बज्रवाराही र किटिनी मावि सरकारले घोषणा गरेका नमुना विद्यालय हुन् । गत वर्षभन्दा भर्ना हुन आउने विद्यार्थीको चाप यस वर्ष बढेको फुल्चोकी माविका शिक्षक नवराज सञ्जेलले बताए । ‘सामुदायिक विद्यालयको नतिजा विगतमा भन्दा सुधार भएको छ, प्रविधिमैत्री शिक्षण सिकाइ, सस्तोमा राम्रो शिक्षा पाउन थाले पनि निजी विद्यालयमा किन बढी पैसा खर्च गर्ने भन्ने सोच अभिभावकमा आएको छ,’ उनले भने । भक्तपुरको श्रीपद्म र चागुनारायण माविलाई भर्ना हुन आएका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने दबाब छ । विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि कतिपय विद्यार्थीलाई फर्काउनुपर्ने अवस्था आएको विद्यालय प्रशासनले जनाएका छन् । भक्तपुर च्यामासिंहमा रहेको वागीश्वरी माविले त आसपासका विद्यालयलाई समेत विद्यार्थी दिइरहेको छ । आफूले भर्ना गर्न नसकेका विद्यार्थीलाई छिमेकका विद्यालयमा पठाउँदै आएको छ । वागीश्वरीले पहिलो चरणको भर्ना अभियानबाट ६ सय विद्यार्थी भर्ना गरिसकेको छ । दोस्रो चरणको प्रवेश परीक्षा र भर्ना कार्यक्रम बाँकी नै छ । गत वर्षभन्दा यस वर्ष फाराम बढी वितरण भएको विद्यालयका कक्षा ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिले बताए । ‘विद्यार्थीको चाप धेरै नै छ, तर आएजतिलाई भर्ना लिन सक्ने अवस्था छैन । यहाँ भर्ना गर्न नसकेका विद्यार्थीलाई छिमेकी विद्यालयमा पठाउँछौँ,’ उनले भने । शैक्षिक गुणस्तरका हिसाबले अब्बल ठानिएका उपत्यकाका केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढे पनि भौतिक संरचना सुधारमा भने सरकारले चासो दिएको छैन । अधिकांश विद्यालयमा फराकिलो कक्षाकोठा तथा खेलमैदान छैन । शैक्षिक गुणस्तर सुधार गरेर साख जोगाउने प्रयास गरिरहेका यी विद्यालयले भौतिक संरचना विस्तारमा भने मार खाइरहेका छन् । देशभर सामुदायिक विद्यालयको संख्या २७ हजार आठ सय १२ रहेको छ । यसमध्ये उत्कृष्ट मानिएका चार सय २२ विद्यालयलाई सरकारले ‘नमुना विद्यालय’का रूपमा घोषणा गरेको छ । शैक्षिक सुधार र रचनात्मक शैक्षिक क्रियाकलापका आधारमा ती विद्यालयलाई नमुना घोषणा गरिएको हो । देशभर रहेका २७ हजार नौ सय ९० सामुदायिक विद्यालयमध्ये सरकारले चार सय ८९ विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको छ । त्यसमध्ये उपत्यकामा १४ वटा नमुना विद्यालय छन् । शैक्षिक सुधार र रचनात्मक शैक्षिक क्रियाकलापका आधारमा ती विद्यालयलाई नमुना घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले आव ०७५/७६ देखि नै नमुना विद्यालय छनोट गर्दै आइरहेको थियो । हरेक वर्षजसो विद्यालयको मूल्यांकन, पठनविधि, शैक्षिक नतिजालगायत आधारमा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा घोषणा गर्दै आइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार अहिले सामुदायिक विद्यालयमा आमूल परिवर्तन आएको छ । ५–६ वर्षपहिले बन्द हुने अवस्थामा रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले विद्यार्थी खचाखच छ । ‘यसपटक विद्यार्थी थप बढ्ने अनुमान छ, किनभने सामुदायिक विद्यालयमा आमअभिभावकको आकर्षण छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनुको कारण शिक्षा सेवा आयोगले नयाँ शिक्षक भर्ना गर्नु, प्रविधिमैत्री पठनपाठन सञ्चालन गर्नु, सहुलियत, नयाँ पुस्ताका शिक्षक धेरै हुनुलगायत हो ।’ विद्यार्थी आकर्षण गर्न स्थानीय तहले पनि सुधार गरिरहेको महानिर्देशक शर्माले बताए । कतिपय जिल्लाको शिक्षा अवस्था हेर्दा सामुदायिक विद्यालयले निजीलाई चुनौती दिइरहेको उनको बुझाइ छ । ‘काठमाडौंमै निजीलाई सामुदायिक विद्यालयले टक्कर दिन थालेका छन्, उपत्यकाबाहिर त धेरै सामुदायिक विद्यालय अब्बल बनिसके । उहादरणका लागि रुपन्देही, मोरङ, पोखरालगायत केही सामुदायिक विद्यालयलाई हेरे पुग्छ,’ उनले भने, ‘यो समय सामुदायिक विद्यालय जुर्मुराउने समय हो, अब सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण थप बढ्छ । किनभने, केन्द्र सरकार र स्थानीय सरकारको लगानी यसैमा छ ।’ यस्ता विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि केन्द्रले पहल गर्ने उनले प्रतिबद्धता जनाए । केन्द्रको तथ्यांकअनुसार उपत्यकामा चार सय ८९ सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये काठमाडौंमा दुई सय ७६, ललितपुरमा ९३ र भक्तपुरमा एक सय २० छन् । सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको क्षमता र सीप बुझ्नका लागि विद्यालयले आ–आफ्नै मापदण्ड बनाएका छन् । अब्बल भनिएका अधिकांश विद्यालयले भर्नापूर्व प्रवेश परीक्षा लिने गरेका छन् । यसअघि निजी विद्यालयले गर्दै आएको यो चलन गत वर्षदेखि सामुदायिकमा सरेको छ । यसो गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता वृद्धिमा सहयोग पुगेको उनीहरूको दाबी छ । यद्यपि, काठमाडौं महानगरपालिकाले भने सामुदायिक विद्यालयलाई प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्न निर्देशन दिइसकेको छ । महानगरले बरु पाठ्यक्रममा आधारित कुराकानी गर्न सुझाव दिएको छ । तर, विद्यार्थीको गुणस्तरीयताबारे कुनै न कुनै प्रकारको प्रवेश परीक्षा आवश्यक रहेको भन्दै सामुदायिक विद्यालयले मौखिक वा लिखित परीक्षा लिने तयारी गरिरहेका छन् । भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयले भने लिखित परीक्षा नै लिएर भर्ना गर्ने अभियान चलाइरहेका छन् ।