तीन सिफ्टमा काम, एक घण्टाभित्रै श्रम स्वीकृति
रासंसा/काठमाण्डौ, चैत्र १८,
मुलुकमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो । यसअघिसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनका लागि थुप्रै खालका सास्ती खेप्नु परेको थियो । समयमै श्रम स्वीकृतिको काम नहुँदा श्रमिकहरूको सम्बन्धित देशका फ्लाइट छुट्ने समस्या देखिएको थियो । वैदेशिक विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक एक हजार देखि एक हजार ५०० जनाले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने गरेका छन् । अत्यधिक चापका कारण उनीहरूले श्रम स्वीकृति पाउन एक सातासम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने सम्पूर्ण प्रक्रिया पुरा भएको एक घण्टाभित्र श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख दीपकराज नेपालले बताए । श्रमिकहरूले फ्लाइट टिकट काटेर श्रम स्वीकृतिका लागि अनलाइन मार्फत निवेदन दिने तर, श्रम स्वीकृति समयमै नहुँदा निकै सास्ती खेप्नुपरेको थियो । कतिपय समयमा अनलाइन सिस्टममा नै समस्या आएर श्रमिकहरूले श्रम स्वीकृति नै नपाउने समस्या थियो । अहिले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात अनलाइनमा मार्फत सबमिट गरेको एक घण्टाभित्रमा नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ । श्रममन्त्री अर्यालले उक्त निर्देशन दिँदा तथा कर्मचारीहरूले त्यसका लागि कमिटमेन्ट गरिररहँदा धेरैले ‘त्यो सम्भव छैन’ भनेका थिए । तर, उक्त कार्यलाई सम्भव बनाउन श्रममन्त्री अर्याल आफैँ खटिएका थिए । त्यसका लागि उनले सम्बन्धित कर्मचारीहरू, आईटी टिम लगायतसँग लगातार छलफल गरेका थिए । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ । तर, उक्त सिस्टममा आउने पटक पटकको समस्याका कारण श्रमिकहरूले सास्ती खेप्दै आएका थिए । उक्त समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल सक्रिय भएर लागेका थिए । उनले कर्मचारीहरूलाई एक घण्टाभित्रमा श्रम स्वीकृति प्रदान गर्नेगरी काम गर्न निर्देशन दिएका थिए । सोही आधारमा कर्मचारीले एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था मिलाएका हुन् । उनले उक्त विषयलाई नजिकबाट नियालेका थिए । भने कर्मचारीहरूलाई प्रोत्साहित समेत गर्दै आएका थिए । उक्त कार्य गर्दा आइपर्ने समस्याहरू समाधान गर्न तल्लीन भएका थिए । यसका लागि कर्मचारीको व्यवस्थापन तथा कार्यविधिमा समेत समस्या देखिएको थियो । कर्मचारीको व्यवस्थापनको हकमा विद्यमान रहेका कर्मचारीहरूलाई तीन सिफ्टमा काम गर्ने जिम्मेवारी तोकिएको कार्यालय प्रमुख नेपालले बताए । यसअघि दुई तहमा मात्रै श्रम श्रम स्वीकृतिको कार्य हुँदै आएको थियो । अबदेखि रूजु गर्नेलाई नै एप्रभुलको अनुमति दिने व्यवस्था समेत गरिएको कार्यालय प्रमुख नेपालले बताए । त्यस्तै ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ पनि संशोधन गरिएको हो । संशोधन गरेसँगै एउटै व्यक्तिले रूजु गर्ने र श्रम स्वीकृतिको निर्णय गर्ने व्यवस्था गरिएको हो । ‘हामीले केही बेसिकल्ली चेन्ज गर्यो । १० जना अफिसर छन् । ती मध्ये ७ जनाले व्यक्तिगत श्रम स्वीकृति र ३ जना संस्थागत श्रम स्वीकृतिमा थिए । अहिले पुनः श्रम स्वीकृतिको हकमा भेरिभाई गर्नेलाई नै एप्रभुलको अनुमति दिइएको छ’ प्रमुख नेपालले भने । अहिले कार्यालयमै रहेका कर्मचारीहरूलाई व्यवस्थापन गरेर श्रम स्वीकृतिको काम अघि बढेको बताए । श्रम स्वीकृति प्रदान गर्ने क्रममा भिसा, कन्ट्«याक्ट पेपर, पासपोर्ट आदी हेरेर एप्रभुल गर्ने गरिएको उनको भनाइ छ । ‘पहिला दुई लेयरमा काम हुने गरेको थियो । पहिला सुब्बाले भेरिफाई गर्ने, अफिसरले एप्रुभ गर्ने थियो । जसले गर्दा अलिकति बढी समय लाग्ने गरेको थियो,’ कार्यालय प्रमुख नेपालले भने, ‘सिंगल लेयरमा काम गर्नुपर्छ भनेपछि मन्त्रीज्यूलाई पनि त्यही आधारमा कुरा गरेपछि कार्यविधि संशोधन गरियो ।’ हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म गरी तीन सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालेको हो । कार्यविधि संशोधन गर्नुका साथै अनलाइन प्रणालीमा समेत केही सुधार गरिएको उनको भनाइ छ । ‘कम्प्युटरको -याम बढाउने, डेलिकेडेड टिमलाई पनि २४ घण्टा नै अलर्टमा राखेर काम गर्ने जस्ता विषयमा पनि व्यवस्थापन गरिएको छ’ नेपालले भने । कम्प्युटरहरुमा ¥याम र एसएसडीको क्षमता बढाएर सहज रूपमा बिहान १० बजेदेखि नै दिने टोकन समेत प्रदान गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसअघि पनि एक पटक एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्ने भन्ने थियो । तर, त्यो सुरु नहुँदै बन्द भयो । अहिले पनि आइतबारदेखि नै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम मन्त्रालयका अनुसार एक हप्ता ट्रालय पिरियड राखिएको छ । एक हप्ताको अवस्था हेरेर मन्त्रालयले यसलाई औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ । एक हप्ताको बिचमा काम गर्दा के कस्ता समस्या आउँछन् ? ती समस्या हेरेर तिनको समाधान गरेर दीर्घकालसम्मकै लागि व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले मन्त्रीको निर्देशनकै आधारमा काम भइरहेको बताए । विगतमा देखिएका समस्याहरूलाई समाधान गर्दै मन्त्रालयले समस्या आउनेविक्तिकै समाधानतर्फ अग्रसर हुने देखिएको छ । ‘मन्त्रीज्यूले अनुगमन गरेपछि दिनुभएको निर्देशन कार्यान्वयन गरिरहेका हौँ । तीन सिफ्टमा काम भइरहेको छ । त्यसको रिजल्ट एकदमै पोजेटिभ भइरहेको छ । सेवाग्राहीले एकदमै दुख पाउने अवस्था अन्त्य भएको छ । अहिले एकदमै स्मुथले गइरहेको छ’ प्रवक्ता रिजालले भने । बेला बेला फेमिसमा समस्या आएर दुख दिइरहेको भन्दै तत्कालका लागि सप्लार्यस (भेण्डर) लाई नै राखेर काम गरिरहेको प्रवक्ता रिजालले बताए । एउटा सिफ्टमा काम गर्दा धेरै पेण्डिङ हुने गरेको अवस्थामा हाल तीन सिफ्टमा काम गर्दा श्रम स्वीकृतिका लागि पेण्डिङ नबस्ने बताए । दीर्घकालीन समस्या समाधानका लागि आगामी वर्षको बजेटमार्फत नै बजेट माग गरिएको बताए । हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा ५७ जना कर्मचारीले काम गरिरहेका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सफ्टवेयरका लागि बजेट विनियोजित गरिने र त्यही आधारमा सुधार गरेर दीर्घकालीन समाधान गरिने उनको भनाइ छ । ‘फेमिसको सफ्टवेयरमा सुधार गर्न बजेट छुट्याउँछौं । जनशक्ति थप्नुपर्ने भयो भने त्योबारे पनि सोचिरहेका छौँ । कर्मचारीहरूलाई केही प्रोत्सान दिनुपर्ने अवस्था पनि आउन सक्छ । अहिले भएकै जनशक्तिको आधारमा काम गरिरहेका छौँ । काम गर्ने क्रममा के के अप्ठ्याराहरू आउँछन् । ती अप्ठ्याराहरू फुकाउने हो’ उनले भने ।