श्रीमानको हत्या आरोपमा श्रीमती सहित चार जना पक्राउ
मिनबहादुर कुँवर/कास्की, चैत्र १०,
मुलुकमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बा बोल्दे बस्ने वर्ष ३६ का राम बहादुर तामाङलाई कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस तउरेती नजिक हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिव २५ मिटर तल पाखामा ल्याई हत्या गरेको कास्की प्रहरीले जनाएको छ । मृतक रामबहादुर र उनकी श्रीमती कान्छी लामाबीच ५/६ वर्ष अघिदेखि मनमुटाव सिर्जना भई छुट्टाछुटै बस्दै आएका थिए । मृतक रामबहादुरले दुई वर्षअघि अर्को विवाह गरेका थिए । विवाहपछि जेठी श्रीमतीले सिन्धुपाल्चोक प्रहरीमा बहु विवाह मुद्दा दर्ता गरेकी थिईन् । पक्राउ पर्नेहरुमा हत्या गरिएका राम बहादुरकी जेठी श्रीमती सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्वा स्थायी ठेगाना भई हाल सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्बर-५ चौतारा बजार डेरा गरी बस्ने वर्ष ३५ की कान्छी लामा तामाङ, सिन्धुपाल्चोक साँगाचोकगडी १ बस्ने वर्ष ३० का धनबहादुर लामा भन्ने धन लामा, सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर-६ वस्ने १८ वर्षका २ जना अजित तमाङ भन्ने छे–दोर्जे लामा र नबिन तमाङ भन्ने फुर्वा लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ । ६/७ महिनापछि अदालतको आदेशमा मृतक रामबहादुर कारागार मुक्त भएका थिए । उनी कारागारबाट निस्केसँगै जेठी श्रीमतीसंगको सम्बन्ध झन् विग्रेको थियो । विवाद र झागडा हुने क्रम बढेको थियो । त्यसपछि मृतकको श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । मृतक रामबहादुर गत फागुन महिनाको अन्तिममा बुबा आमासँग मेलम्ची हाइड्रोपावरमा काम गर्न जाने भन्दै घरबाट हिँडेका थिए । त्यसपछि उनी साथीहरुसंग ३० फागुनमा काठमाडौंबाट सिक्लेस जाने भन्दै आएका थिए । चिप्ली भन्ने स्थानमा रहेको एक रेष्टुरेन्टमा रहेको सिसि क्यामेराको फुटेजमा १ चैतमा मृतक रामबहादुर र तीन जना केटाहरुसँगै घट्नास्थलतर्फ जाँदै गरेको देखिएको थियो । पक्राउ परेका चार जनामध्ये श्रीमतीलाई सिन्धुपाल्चोक प्रहरी र अन्य तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरि प्रहरीले पोखरा ल्याएको प्रहरीले जानकारी दिए । घटनापछि मृतककी श्रीमतीलाई फोन गरि बताएको र घटनाका क्रममा अन्य दुई जनाले देखेको र उनीहरुको मुख टाल्नु पर्ने भयो थप पैसा पठाउन भनेपछि मृतकको श्रीमती कान्छीले इ-सेवा मार्फत ९० हजार दिएकाे प्रहरीकाे भनाइ छ । उक्त रकम मध्ये ५० हजार धनबहादुरले राखेको र छे–दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार दिइएको प्रहरीले जनाएको छ ।