त्रिभुवन विश्व विद्यालयले ११ महिनासम्ममा पनि परीक्षाफल दिएन
रासंसा/काठमाण्डौ, चैत्र ३,
मुलुकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्। ‘२०७८ सालमा प्रथम वर्षमा भर्ना हुँदा चार वर्षभित्र कोर्स सकिने गरी आर्थिकलगायत सबै पक्षको व्यवस्था मिलाएकी थिएँ,’ सामाजिक कार्य र आम सञ्चार विषय लिएर स्नातक तह पढ्दै गरेकी २० वर्षीया रेनुकाले गुनासो गरिन्, ‘हेर्नुस् त, प्रथम वर्षको परीक्षा गत वैशाखमा दिएको हो। परीक्षा सकिएको ११ महिना बित्यो, नतिजा आएको छैन। दोस्रो वर्षको कक्षा पुसमा सकियो, घरमा बसेर परीक्षाको तयारी गर्दै छु। पहिलो वर्षको परीक्षाफल कहिले आउने हो अझै अत्तोपत्तो छैन।’ उनले पहिलो वर्षको परीक्षा दिएको ११ महिना भए पनि नतिजा आएको छैन। उनले बेलैमा नतिजा प्रकाशन नहुँदा अवसर गुम्दै गएको बताइन्। घरबाट अध्ययनका लागि काठमाडौं आउँदा चार वर्षभित्र स्नातक तह पूरा गर्ने योजना र सोहीअनुसारको बजेट मिलाएकी उनी त्रिविको अस्तव्यस्त परीक्षा प्रणाली देखेर दिक्क छन्। यस्तै पारा हो भने चार वर्षे स्नातक तह पूरा गर्न ६ वर्ष लाग्ने र खर्च पनि सोचेभन्दा बढी हुने उनी बताउँछिन्। पहिलो वर्षको नतिजा नआउँदा विभिन्न अवसरबाट वञ्चित भएको र खर्चका लागि अभिभावकमाथि निर्भर हुनुपरेको उनले बताइन्। रेनुकाका अनुसार कोठाभाडा, खाना खर्चलगायत गर्दा मसिक ३० हजार रूपैयाँ खर्च हुन्छ र त्रिविले शैक्षिक पात्रोअनुसार काम गर्न नसक्दा विद्यार्थी अवसरबाट मात्र वञ्चित भएका छैनन्, खर्च पनि बढेको छ। काठमाडौं ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा मानविकीतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मनीषा रेग्मी पनि त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थी आर्थिकलगायत भारमा परेको बताइन्। ‘त्रिविको शैक्षिक क्यालेन्डर नै लयमा छैन,’ उनले भनिन्, ‘चार वर्षे स्नातक तह पूरा गर्न ५/६ वर्ष लाग्ने देखिन्छ। यसले गर्दा आर्थिक भार र परनिर्भरता बढ्दै गएको छ। कसलाई के भन्ने, के गर्ने?’ ‘पहिलो वर्षको परीक्षा नतिजा ११ महिनासम्म पनि आएको छैन। दोस्रो वर्षको परीक्षा दिने बेला आउँदा पनि पहिलो वर्षको नतिजा नआउनु विडम्बना हो,’ गोर्खाकी मनीषाले नागरिकसँग भनिन्, ‘आर्थिक भार थपिएको छ। खर्च व्यवस्थापन गर्ने कि पढाइ, चिन्ता बढेको छ।’ यो समस्या रेनुका र मनीषाको मात्र होइन, चार लाख विद्यार्थीको हो। त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा मानसिक तनावसमेत बढ्दै गएको मनीषाले बताइन्। मुलुककै पुरानो र ठुलो त्रिवि स्नातक तहका ४ लाख विद्यार्थी गत वैशाखमा दिएको पहिलो वर्षको परीक्षाको नतिजा कुरिरहेका छन्। उनले थपिन्, ‘अस्ट्रेलिया जान आइएलटिएस पनि पास गरें तर नतिजा समयमा नआउँदा शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन सकिनँ। अवसर हातबाट खुस्क्यो।’ त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई जवाफ दिन सकेको छैन।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा नतिजा समयमै प्रकाशन गर्न नसकेको बताउँछन्। समयमा नतिजा प्रकाशन गर्न नसक्दा हाल त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमै कक्षा सकेर परीक्षाको पर्खाइमा छन्। नयाँ दोस्रो वर्षको कक्षा भइरहेको नियन्त्रक जोशी बताउँछन्। उनका अनुसार त्रिविले कर्मचारकिो कार्यसमय १० देखि ५ तोकेपछि अतिरिक्त समयमा काम लगाउन सकिएको छैन। उनले भने, ‘यसैकारण वार्षिक प्रणालीमा नतिजा प्रकाशन ढिलाइ भएको हो।’ नियन्त्रक जोशी जनशक्ति कम हुँदा परीक्षाफल प्रकाशनलगायतका काम प्रभावित भएका छन्। ‘बल्खुमा २६६ जनाको दरबन्दीमा २२२ जना कार्यरत छन्। सेवा आयोग सात वर्षदेखि खुल्न नसकेका कारण कर्मचारी पदपूर्ति हुन सकेको छैन। १८ जना कर्मचारी साढे दुई दशकदेखि एउटै पदमा कार्यरत छन्,’ जोशीले नागरिकसँगको भेटमा भने, ‘एकातिर कर्मचारी अभाव अर्कोतिर त्रिविले साउनदेखि कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि त्यसको मारमा परीक्षा नियन्त्रण कार्यालय परेको छ।’ त्रिविका उपकुलपति केशरजंग बरालले त्रिविलाई लयमा फर्काउन निकै चुनौतीपूर्ण भए पनि आफू लागिपरेको बताए। निर्धारित समयमा कोर्स पूरा र नतिजा नआउँदा विद्यार्थी अध्ययनका लागि भारतमा जाने क्रम बढेको छ। उपकुलपति बरालले परीक्षा सञ्चालन र नतिजा प्रकाशन प्रणालीमा सुधारलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘त्रिविमा हरेक राजनीतिक दलसँग आबद्ध शिक्षक, विद्यार्थी र कर्मचारी संघसंगठन छन्। तिनले विभिन्न निहुँमा आन्दोलन र तालाबन्दी गर्दा चुनौती थपिएको छ,’ उपकुलपति बरालले भने, ‘सेवा आयोगमा चार महिनादेखि सदस्य पद रिक्त छ। आयोगले शिक्षक, कर्मचारी पदपूर्ति गर्न सकेको छैन। वैकल्कि व्यवस्था गरेर भए पनि परीक्षा व्यवस्थापन गर्ने नीति लिएको छु। शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर त्रिविलाई लयमा फर्काउने मेरो लक्ष्य छ।’