अर्थमन्त्री पुनको भनाई सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे । मन्त्री पुनले प्रधानन्त्री पुष्पकमल दाहालले आफू र उपप्रधन तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरुले तर्साउनुभएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन उनको व्यवसायीलाई आग्रह थियो । पुनले राजस्व छलीमा भने सरकारले कडाई गर्ने बताए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी/व्यवसायीलाई अपिल गरे ।

Like