जथाभाबी नगर्दा दुरुपयोगको आरोप लगाउदै खराब अवस्थाबाट अर्थतन्त्रलाई लयमा ल्याएको निवर्तमान अर्थमन्त्री महतको दाबी
रासंसा/काठमाण्डौ, फाल्गुण २९,
मुलुकमा ११ महिनासम्म देशको अर्थतन्त्रका जिम्मेवारी सम्हालेका निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई खराब स्थितिबाट लयमा ल्याएको दाबी गरेका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले आफूले जिम्मेवारी सम्हालेयता अर्थतन्त्रमा हदैसम्म्को सुधार गरेको दाबी गरेका हुन् । ‘अर्थ मन्त्रालयको मैले जिम्मेवारी लिँदा अर्थतन्त्रको अवस्था खराब थियो,’ महतले भने, ‘त्यो अवस्था एक वर्षको अवधिमा आएको परिणाम नभएर विगतदेखि नै आइरहेको थियो ।’ पछिल्ला वर्षहरुमा सरकारले अघि बढाएको नीतिका कारण सृजित परिणाम भएको पुरानो भनाइमा डा. महत आज पनि अडिग देखिए । उनले अर्थमन्त्रीको पद सम्हालेयता निरन्तररुपमा ओली सरकारले अघि बढाएका अधिकांश आयोजनाका कारण सरकारमाथि ठुलो दबाब सृजना भइरहेको बताउँदै आएका छन् । जसको निरन्तरता आज पनि गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महतले अर्थ मन्त्रीकारुपमा ११ महिना काम गरे । माओवादी–कांग्रेस गठबन्धन टुट्नको विविध कारणमध्ये मुख्य कारणकारुपमा तत्कालीन अर्थमन्त्री महत थिए । माओवादीले सार्वजनिकरुपमा नै तत्कालीन अर्थमन्त्रीका कारणले सरकारले चाहेजति उपलब्धि हासिल गर्न नसकेको घोषणा गर्दै आइरहेको छ । माओवादीले पटक–पटक गठबन्धन टुट्नुको मुख्यकारण आफू बताइरहेपछि महतले पत्रकार सम्मेलन नै गरेर माओवादीको भनाई काट्ने प्रयास गरेका हुन् । राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो समीक्षाबाट अर्थतन्त्र लयमा फर्केको स्पष्ट हुने उनको भनाई छ । ‘सर्वसाधारणलाई मूल्य वृद्धि बढ्ला कि भन्ने चिन्ता थियो,’ महतले थपे, ‘अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा ८ प्रतिशतको मूल्यवृद्धि थियो, जुन यतिबेला ५ प्रतिशतमा आइपुगेको छ ।’ मूल्यवृद्धि अत्याधिरुपमाले हुनुको मुख्य कारण विगतमा केन्द्रीय बैंकले ल्याएको कसिलो मौद्रिक नीति भएको उनको निष्कर्ष छ । महतले कोभिडकालमा नेपाल राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र बिग्रनुमा धेरथोर भूमिका खेलेको बताए । अर्थ मन्त्रीकारुपमा ११ महिना अर्थ मन्त्रालयको बागडोर सम्हालेका डा. महतले आज पनि अर्थतन्त्र बिग्रनुमा एमाले दोषी रहेको इंकित गरे । उनले यतिबेला बजेटरी प्रणालीमा समस्या आइरहेको र घुमाउरो तरिकाले यसको मुख्यकारण नै एमाले भएको भएको निष्कर्ष सुनाए । उनले पछिल्ला वर्षमा बजेटरी प्रणालीमा ठुलो चाप आइरहेको र यसको मुख्य कारण बहुवर्षीय ठेक्कापट्टामा अघिल्लो सरकारले चालेको कदम भएको बताए । यसबाहेक, घरजग्गा कारोबारदेखि अन्य सूचक सकारात्मक बन्दै गएको महतले बताए । पर्यटन व्यवसायले गति लिएको र होटल रेष्टुरेन्ट व्यवसायले गति लिएको उनको भनाई छ । यसबाहेक, १८०० अंकबाट बढेर सेयर बजार परिसूचक २१ सय अंकभन्दा माथि पुग्नुमा आफ्नै नेतृत्वको कमाल भएको उनले बताए । गत वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी राजश्व वृद्धि भएको छ । यो उल्लेख्य प्रगति भएकाले यसलाई सन्तोषजनक मान्नुपर्ने महतले थपे । ‘अघिल्लो सरका (ओली नेतृत्वको सरकार)ले बजेट सुनिश्चितता नै नगरेर देशभरि सयौँ आयोजना (अस्पताल र रणनीतिक सडक निर्माण) अघि बढायो,’ उनले भने । सोहीकारण, बजेटमाथि अनावश्यक भुक्तानी सृजना भएको र सोहीकारण निर्माण व्यवसायी भुक्तानी माग्दै सडक आन्दोलनमा आएकोप्रति डा. महतको इसारा थियो । ‘बजेट सुनिश्चितता नै नगरेर अघि बढाइएका आयोजनाका कारण सरकारमाथि अत्याधिक स्रोतको सृजना भएको छ,’ उनले भने, ‘यसलाई सन्तुलनमा ल्याउनका लागि कठिन छ ।’ यसबाहके, चालू आर्थिक वर्षमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत वर्ष २ प्रतिशतमा सीमित आर्थिक वृद्धि चालू वर्षमा ५ प्रतिशत बढी हुने प्रक्षेपण आफ्नै नेतृत्वमा गरेको कामबाट आएको परिणाम भएको महतको भनाई छ । कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले आफूले अर्थ मन्त्रीकारुपमा जथाभाबी नगर्दा दुरुपयोगको आरोप लागेको बताए । सर्वसाधारणबाट करमार्फत उठेको रकमलाई प्रधानमन्त्रीले जथाभाबी प्रयोग गर्न भनेको र आफूले नमान्दा दुरुपयोगको आरोप लगाइएको उनको भनाई छ । ‘यसलाई नियन्त्रित ढंगबाट योजनाबद्ध ढंगले लगानी गर्नुपर्ने हो,’ उनले भने, ‘अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सजगता अपनाउँदै फजुल खर्च गरिएन ।’ सरकारमा अर्थ मन्त्रीकारुपमा बसेर काम गरेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘दुरुपयोग नगर्दा, सुशासन कायम गर्दा, अनावश्यक फजुल खर्च नगर्दा दुरुपयोग हुने हो ?’ सरकारमा बसेर दोस्रो चरणको आर्थिक सुधारलाई अघि बढाएको र विदेशी लगानी भित्र्याउने गरी काम गरेको उनले बताए । यस्तै, विदेशी लगानीलाई भित्र्याउनका लागि विभिन्न ऐन, कानुन संशोधन गर्न संसदमा पठाउने गरी काम भइरहेको थियो । गत वर्षको तुलनामा विदेशी लगानी बढेको उनले बताए । वैशाखमा आयोजना गर्ने तयारी भइरहेको लगानी सम्मेलनमा विश्वभरबाट लगानीकर्ताले चासो व्यक्त गरेको डा. महतको भनाई छ । जथाभाबी खर्च नगरेर आवश्यकताका आधारमा खर्च गर्दा दुरुपयोगको आरोप लगाइएको उनले बताए । आफूसँग साधारण खर्चलाई जथाभाबी बाँड्ने र खन्याउने छुट नरहेको उनले बताए । जनताबाट उठेको करलाई सही स्थानमा लगानी गर्नुपर्ने उनको भनाई छ । मन्त्रीकारुपमा काम गर्दा पार्टी र व्यक्ती नरहेरै सर्वसाधारणको पक्षमा काम गरेको उनको दाबी रह्यो । यस्तै, आउँदो असारमा विश्व बैंक सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने संस्थाको सम्मेलन नेपालमा गर्ने तय भएको छ । यो संस्थामा आबद्ध विश्वभरका ९० मुलुकका प्रतिनिधि नेपाल आउने डा. महतको भनाई छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रियकरण यो स्तरको सम्मेलन नभएको डा. महतको भनाई छ । ‘नेपाली कांग्रेसका कारणले औषतभन्दा धेरै उपलब्धि भएन भनेर दोषारोपण गर्नु भ्रमपूर्ण र झुट हो । म ठोकुवा गर्छु,’ महतले भने, ‘हाम्रो उपस्थितिले अर्थतन्त्रमा गुणात्मक सुधार ल्याएको थियो ।’ सामाजिक सुरक्षा र तलब भत्ताको ठुलो दायित्व छ । बजेटमा यो दुई क्षेत्रबाट अत्याधिक दबाब आउने भएकाले जथाभाबी नगर्नुको विकल्प नरहेको महतले बताए ।