त्यो ऐतिहासिक कला मात्र एक मिनेटको प्रदर्शनी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २६,

मुलुकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि हरेक वर्ष नक्सालस्थित सीता भवनको विशाल कक्षमा राष्ट्रिय कला प्रदर्शनी गर्थ्यो । २०७२ को भूकम्पले सीता भवनलाई क्षति पुर्‍याएपछि त्यसकै वरपर स–सानो टहरामा यो प्रदर्शनी हरेक वर्ष भइरहेको छ । हजारौँ ती स–साना कागजका टुक्रामा अंग्रेजीमा माथि सूचना शैलीमा ‘सेल ! सेल ! सेल !’ लेखेर तल ‘ह्युमनिटी अन सेल’ लेखिएको थियो । यस्तै, नेपालीमा माथि ‘बिक्रीमा ! बिक्रीमा ! बिक्रीमा !’ लेखेर तल ‘मानवता बिक्रीमा छ’ लेखिएको थियो । कुना–काप्चामा थन्किएर रहेका नेपाली कलालाई यस प्रदर्शनीमा राखिन्छ । यस प्रदर्शनीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई नै मुख्य अतिथि बनाउने प्रचलन छ । २०७२ को भूकम्पको ठिक १० दिनअघि अर्थात् वैशाख २ गते सीताभवनमै राष्ट्रिय प्रदर्शनी गरिएको थियो । त्यतिबेला अचानक २४ जना कलाकारको समूहले एक मिनेटको पर्फर्मेन्स कला प्रस्तुत गरे । प्रदर्शन कक्षको छतदेखि बरन्डासम्म र भर्‍याङतिर एकैपल्ट केही लेखिएका कागजका स–साना टुक्रा हावामा उडाइएको थियो, करिब एक मिनेटसम्म । मूलतः कला यति नै थियो । पर्फर्मेन्स कला त्यसै पनि लामा हुँदैनन्; त्यसमाथि यो प्रदर्शनी अति छोटो समयको तर प्रभावपूर्ण थियो । मुख्य अतिथि हिँड्ने बाटो अगाडि–पछाडि जम्मैतिर यी कागजका टुक्रा छरियो । सबैलाई लाग्यो, यो के हो भन्ने ! सबै अवाक् बनेका थिए । कसैले केही बुझिरहेका थिएनन्— यो प्रमुख अतिथिको विरोध थियो वा स्वागत ! नितान्त नौलो र एक खास उद्देश्य बोकेर देखापरेको यो ह्याप्पेनिङ आर्ट (कलाको एउटा रूप)ले प्रमुख अतिथि (तत्कालीन प्रधानमन्त्री)लाई झस्काएन मात्रै, नाफा (नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)का पदाधिकारी लगायत सम्पूर्ण कलाकार वर्ग र अन्य सहभागी सबैलाई आश्चर्यमा पार्‍यो । खासमा के भएको भन्ने कसैले बुझ्नै भ्याएनन् र पाएनन् पनि । दोलखाको विगु गाउँमा सन् १९८५ मा जन्मेका दावालाई बाबुआमाले काठमाडौँ ल्याएका हुन् । सिकर्मी उनका बुवाले उनलाई दुःखसुख पढाए । एक एनजीओले खोलेको ढल्कुस्थित स्कुलबाट उनको शिक्षा आरम्भ भयो । एसएलसीपछि उनी कसो कसो ललितकला क्याम्पस भर्ना हुन पुगे । सुरुमा उनी अटोमोबाइल इन्जिनियरिङमा भर्ना भएका थिए । खासै पढाइ नहुने तर लडाइँ–झगडा बढी हुने हुँदा उनी ललितकला क्याम्पसमा पुगे । कलाकार दावा शेर्पाको यस कन्सेप्चुअल कलाले राष्ट्रमा मानवताको बिक्री भइरहेको यथार्थलाई पस्केको थियो । आम दर्शक, कलाकार, पत्रकार सबै वर्गका भावक लगायत सरकार प्रमुखलाई समेत बोध गराउने हेतुले पर्फर्मेन्स कलाका रूपमा यसलाई पस्किएको थियो । ‘मानवता बिक्रीमा छ’ भन्ने उनको कलाको थिम अचानक आएको थिएन । यस थिममा उनले सन् २०१३ देखि काम गर्दै आएका थिए । २०७२ को राष्ट्रिय कला प्रदर्शनीमा उनी प्रतियोगी थिएनन् । कलाकारहरू जम्मा भएको ठाउँ, देशकै प्रमुख र अन्य भावक आउने ठाउँ हेरेर उनले यस खालको प्रदर्शनीको सोच बनाए । एक प्रकारले मानवताको विषयमा संचेतना जगाउने ध्येयले यो कलालाई प्रस्तुत गरिएको थियो । एउटा हाँक वा चुनौतीका रूपमा देखिएको उनको यस शक्तिशाली कला प्रदर्शनी कलाको इतिहासमै नौलो घटना भयो । ‘मानवता बिक्रीमा छ’ लेखिएका हजारौँ टुक्राले त्यहाँ उपस्थित सबैको ध्यान खिचेको थियो । कागजका टुक्रा केहीबेर उड्नु, उपस्थित सबैले टिपेर पढ्नु र लेखिएका शब्दमा केहीबेर बहस चल्नु वा अनौठो मान्नु नै त्यस प्रदर्शनीको सौन्दर्य थियो । अचानक भएको घटनाले उपस्थित केहीलाई केहीबेर रमाइलो अनुभूति गराएको पनि थियो । धेरै दर्शकका साथसाथै राष्ट्रकै उच्च पदस्थ व्यक्तिको ध्यान खिच्ने ध्येयले देखापरेको उक्त प्रदर्शनी विशेष बन्न गयो । यही नै यो कलाको सबल पक्ष थियो ।

‘अन्तिम पाप’ नाम दिइएको यो प्रदर्शनी दुईवटा कुराले बीजारोपण भएको रहेछ । मानवतालाई नै बिर्सेर मान्छेहरू पैसा सबथोक हो भनेर कुद्दै गर्दा अन्ततः पापकै भागिदार हुन्छन् भन्ने अर्थमा ‘अन्तिम पाप’ जुराइएको रहेछ । उनी भन्छन्, ‘म जति–जति इमानदार र भलादमी हुन खोज्छु, उति नै समाज अझ बढी पैसाको पछि कुदेको देख्छु । त्यसो हुँदा मानवताको नाश एकदमै नजिक छ भन्ने मलाई लाग्यो । त्यसैले यस सम्बन्धमा मानिसलाई केही सन्देश दिने मन भयो र यो अवधारणा जन्मियो । मैले त्यति बेला प्रदर्शनीमा आफूलाई अलि फरक ढंगले उभ्याउने कोसिस गरेको थिएँ ।’ क्याम्पसमा पढ्दा उनलाई गुरु (कलाकार) पुरन खड्काले सधैँ भनिरहन्थे— केटा हो, सधैँ श्वास फेरि राख है, बाँचिरहेको छु भनेर अनुभूत गर्न पनि श्वास फेर्दै गर । ‘श्वास फेर्दै गर’ भनेर उनलाई गुरुले ‘कला कोर्दै गर’ भनेका थिए । गुरुकै भनाइमाथि चिन्तन गर्दा पनि उनले यस खालको कला प्रदर्शनी गर्न पुगेका हुन् । यो कला प्रदर्शनी गरेको दुई दिनपछि उनी अरुको धारणा बुझ्न ललितकला प्रज्ञा प्रतिष्ठान पुगे । सबै कलाकार र आम दर्शकले भनेछन्, ‘साह्रै गज्जबको काम गर्‍यौ । बधाई छ ।’ सिनियर कलाकारले उनलाई स्याबासी दिए । ‘तत्कालीन कुलपतिले भने अफिसमै बोलाएर हकारी माफ माग्न लगाउनुभो । त्यस्तो ठाउँमा बसेका व्यक्तिले कला नै नबुझेपछि हामी कलाकारले के गर्ने होला !’ दावा गुनासो गर्छन् । यस राष्ट्रिय कला प्रर्दशनीमा यस्ता खालका पर्फर्मेन्स कलाको प्रतियोगिता समेत हुने गर्छ । पछिल्लो कालमा यो कलाको उपविधालाई पनि प्रतियोगितामा समावेश गरिएको छ । यसका लागि सुरुमै अवधारणा–पत्र बुझाएर यस्ता कलालाई प्रतियोगितामा समावेश गर्ने प्रचलन छ । त्यति बेला पनि कलाकार सुन्दर लामाको ‘मुक्ति’ नामक चार मिनेटको र कलाकार सविता डंगोलको ‘इन्टिमेसी’ शीर्षकको दुई मिनेटको पर्फर्मेन्स कला चलिरहेको थियो । प्रतियोगी नै बनेर यी कला त्यहाँ प्रदर्शित हुन पुगेका थिए । दावाको प्रस्तुति पनि यस्तै कला हो कि भन्ने धेरैलाई लागेको रहेछ । यद्यपि दावाले प्रतियोगीका रूपमा प्रक्रिया पुर्‍याएर प्रदर्शनी गरेका थिएनन् । एउटा घटनाका रूपमा देखापरेको यस प्रदर्शनीलाई ललितकला प्रज्ञा प्रतिष्ठानले अगाडि नै भेउ पाएन । झट्ट हेर्दा विद्रोही वा छापामार शैलीको यस कला प्रदर्शनीले उपस्थित व्यक्तिलाई गहिरो प्रभाव पार्‍यो । यसलाई यसरी बुझौँ— चाकडीमा मात्र लागिपरेकालाई यो एउटा व्यंग्य र विद्रोह लाग्यो; कला बुझ्नेलाई यो एउटा शक्तिशाली काम लाग्यो । वर्तमानमा भइरहेको अवस्थालाई बोध गराउने क्रममा यो कलाले निश्चय पनि नयाँ आयाम खडा गरेको थियो । वास्तवमै यो नेपाली पर्फर्मेन्स कलामा सर्वनवीन प्रस्तुति थियो । कलाकार दावाले भने यस्तो खालको आफ्नो कामलाई स्वभाव र सिग्नेचर बनाइसकेका छन् । विकल्प (एक कला संस्था)मा सन् २०२२ मा भएको ‘लुना एक्सपेक्टेसन एन्ड एक्सप्रेसन’ नामक पर्फर्मेन्स कलाको अन्तर्राष्ट्रिय कार्यक्रममा उनले आफ्नो शरीरभरि माटो दलेर कुद्दै, उफ्रँदै र ‘मानवता बिक्रीमा छ’ लेखिएका कागजका टुक्रालाई चारैतिर छर्दै पर्फर्मेन्स गरेका थिए । त्यतिबेला युवा कलाकारहरू अनिल लिम्बु, रितेश महर्जन र राम महर्जनले समन्वय गरी थोरै नौलो ढंगबाट समसामयिक मुद्दालाई उजिल्याउने उद्देश्यसहित दावाको प्रस्तुतिको व्यवस्थापन गरिएको रहेछ । यसै बखतदेखि उनको यस पर्फर्मेन्स कलामा माटो पनि मिसिन पुग्यो । उनको विचारमा निर्जीवजस्तो देखिने माटो ऊर्जा र शक्तिको रूप हो । अहिले उनले ‘ब्रिदिङ क्यानभास’ नामक एउटा चित्र बनाएका छन् । शुद्ध कपडाको क्यानभासमा मात्र माटो लेपेर बनाइएको चित्रलाई स्थायित्व दिन उनले चारकोल स्प्रे, अलिकति ग्लुको प्रयोग गरेका छन् । यो चित्रमा स्वस्फूर्त क्यानभासमा माटो बगेर टेक्चरहरूको निर्माण भएको देखिन्छ । ‘यो टेक्चर होइन, जीवनरेखा हो । माटोको प्रकृति हो,’ उनी भन्छन्, ‘मृत अवस्थामा रहेको माटोले हावा, पानी, घामको साथ पाएपछि जीवन्त बन्छ । जहाँ स–साना बिरुवादेखि जीवाणुको अस्तित्व रहन्छ ।’ योबिचमा विभिन्न किसिमले उनले आफ्नो कलागत स्वभावलाई अझ दृढ पारिरहे— जहाँ जाँदा पनि उनले विभिन्न स्थानका घरका भित्तामा, बाटो वा भुइँमा, रेस्टुराँको भित्तामा, आफूले पढ्ने कला स्कुलको भित्तामा स–साना अक्षरमा भए कोर्दै वा टाँस्दै रहे— मानवता बिक्रीमा छ । यसो गर्दा स–साना होटल रेस्टुराँमा त उनले कतिपटक गाली खानुपरेको छ । उनको यस कलालाई अहिले हुन गइरहेको राष्ट्रिय कला प्रदर्शनीमा हेर्न पाइनेछ । यसअघि सन् २०१८ मा ठमेलको एउटा चियापसलको भित्ताभरि स–साना कागजका टुक्रा टाँसेर आफ्नो अवधारणालाई आममान्छेमा पुर्‍याउन उनले अझ थप प्रयत्न गरेका थिए । त्यही साल उनले मन्डला थिएटरमा दुई वर्ष नाटक सिके । ‘मानवता बिक्रीमा छ’ भन्ने अक्षर प्रिन्ट भएका टिसर्टहरू बेचिहिँडे, जसमा ‘मेड इन् अर्थ’ समेत लेखिएको थियो । माथि अर्थात्् अन्तरिक्षबाट नियाल्दा पृथ्वीमा जताततै मानवता बिक्रीको चलखेल देखिने उनको बुझाइ भयो र सोही अनुसार टिर्सटमा कला डिजाइन गरे । यसैबिच उनी ललितकलामा गायन पनि पढे । कलाका विविध पक्षमा संलग्न हुँदाहुँदै पनि उनी खासगरी एउटै गन्तव्यतर्फ अग्रसर छन्, अर्थात् आठ वर्ष अघिदेखिको आफ्नो पर्फर्मेन्स कलालाई छाडेका छैनन् । योबिचमा विभिन्न किसिमले उनले आफ्नो कलागत स्वभावलाई अझ दृढ पारिरहे— जहाँ जाँदा पनि उनले विभिन्न स्थानका घरका भित्तामा, बाटो वा भुइँमा, रेस्टुराँको भित्तामा, आफूले पढ्ने कला स्कुलको भित्तामा स–साना अक्षरमा भए कोर्दै वा टाँस्दै रहे— मानवता बिक्रीमा छ । यसो गर्दा स–साना होटल रेस्टुराँमा त उनले कतिपटक गाली खानुपरेको छ । आफ्नै शरीरमा ‘मानवता बिक्रीमा छ’ लेखिएका कागजका टुक्रा टाँसेर कतिपय ठाउँका चोक र गल्लीहरूमा पनि उनले पर्फम गर्न भ्याएका छन् । ‘भोटाहिटीको कला क्याम्पसमा सरहरूसँग अनुमति लिएर चारैतिरको भित्तामा सयौँ कागजका टुक्रा टाँसेको छु, त्यहाँ कसैले गाली गरेनन्, बरु प्रोत्साहन गरे,’ उनी भन्छन् ।

Like