द्वन्दकालीन धराप विष्फोट हुँदा सडक खनिरहेका चारजना घाइते

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १०,

मुलुकमा भीमदत्त राजमार्गको भासु भीर नजिकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाइते भएका छन। चुरे गाउँपालिका-३ को भासुभीरदेखि झण्डै २ किलोमिटर सहजपुरतिर बाटो खन्ने क्रममा बुधबार साँझ विद्युतीय धराप बिष्फोट हुँदा जेसिबी चालक डडेल्धुराको आलिताल गाउँपालिका- ८ का २४ वर्षीय विकास थापा, कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ। भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासुभीर नजिकै भएको विष्फोट द्वन्दकालीन समयमा राखिएको विद्युतीय धराप (एम्बुस) हुनसक्ने प्रहरीले जनाएको छ। जेसीवी चालक थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। सडक चौडा पार्नेक्रममा भीमदत्त पन्त राजमार्गमा अहिले मोड कटिङको कार्य चलिरहेको छ। जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट भएको घाइतेहरुले जनाएका छन्। द्वन्द्वकालमा उक्त क्षेत्रमा तत्कालिन विद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो। नेपाली सेनाको टोलीले घटनाको अवलोकन गरेको छ।

Like