अब आफ्नै भवनमा पत्रकारिता केन्द्रीय विभाग
रासंसा/काठमाण्डौ, फाल्गुण ३,
मुलुकमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा औपचारिकरूपमा सरेको छ । त्रिविका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले विभाग परिसरमा आज भवनको उद्घाटन गरे । पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो । विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययन अध्यापन सुरु गरेको थियो । लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पीएचडी) र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि (एमफिल पीएचडी) तहको अध्यापन प्रारम्भ गरेको थियो । विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचना अन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुस्थित सुविधासम्पन्न भवनमा सञ्चालन हुने छ । विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विभागले नेपाली पत्रकारिता हाक्ने ठूलो पङ्क्ति तयार गरेको बताए । उनले विसं २०३३ मा रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुरु भएको पत्रकारिताको अध्ययन अध्यापनलाई लालदेउसा राई र पी खरेलले अघि बढाएको स्मरण गरे । भवन निर्माणका नेतृत्वकर्ता एवं इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक नारायणप्रसाद गौतमका अनुसार भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् । भवन २१ करोड ५९ लाख लागतमा निर्माण भएको हो ।