आज मङ्गल चौथी व्रत, तिलकुन्द चौथी, जनयुद्ध दिवस, कुम्भ संक्रान्ति, विश्व रेडियो दिवस मनाइदै
रासंसा/काठमाण्डौ, माघ ०१,
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
मङ्गल चौथी
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ । विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
तिलकुन्द चौथी
गणेशलाई प्रिय वस्तुका रूपमा तिलको मिठाइलाई लिइन्छ, आजका दिन गणेशलाई तिल कुट नाम गरेको तिलको लड्डु चढाउने चलन छ । आजको तिथिमा विवेक र ज्ञानका स्वामी भगवान् गणेशको जन्म भएको मानिन्छ । भगवान् गणेशप्रति समर्पण गरिएको यस तिल कुन्द चौथीको पावन अवसरमा सबैलाई स्वागत छ । माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथी का रूपमा पनि मनाइन्छ । पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फुल, आजका दिन तिल र चमेली फुलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ । यस दिन व्रत बस्ने र साँझमा गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ ।
घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आसन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः॥ मन्त्रलाई १०८ पटक जप गर्ने चलन छ ।
दुख् कष्ट निवारण गर्दे बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ ।
शास्त्रमा वर्णित छ कि बाधा हटाउने भगवान् श्री गणेशको नियमित पूजा गर्ने सबैको दुःखको अन्त्य हुन्छ । मंगलमूर्ति र पहिलो पूजा गरिने भगवान् श्री गणेशलाई “संकथरण” पनि भनिन्छ। तिलकुन्द चौथी को दिन व्रत बसेर भगवान् श्री गणेशको पूजा–आराधना गर्नाले सुख–समृद्धि, ऐश्वर्य–वैभव र आन्तरिक शान्ति प्राप्त हुन्छ । यति मात्र होइन, व्यापारमा सदैव समृद्धि र घरमा सुख समृद्धि रहन्छ।
कुम्भ सङ्क्रान्ति
तातो राप स्वागत गर्दै रङ्गिन फाल्गुन
फाल्गुन महिनाको नामकरण
हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रँङ्गीन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई सङ्क्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ ।
हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका बिरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट बिरुवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो वसन्त र बालीनालीले पहेँल पुर पारेका मैदानहरूले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बीजारोपण गर्न सकोस् । फाल्गुनको यो सङ्क्रान्तिले अर्थात् फाल्गुने सङ्क्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज ‘पोहेला फाल्गुन’ अथवा ‘वसन्तो उत्सव’ मनाउने गर्छन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यस अर्थमा फाल्गुनको प्रथम दिन अर्थात् सङ्क्रान्तिका रूपमा मनाइएको प्रस्ट हुन्छ । रङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ । आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा वसन्त ऋतुको स्वागत गरेर मनाइने चलन छ । नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तै: आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् । उनीहरू वसन्त उत्सवका रूपमा मनाउँछन् । यो वसन्तको महिना फाल्गुनले तपाईँलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दै छ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् । खेतमा गहुँ अब पाक्दै छन् । तराई क्षेत्रमा गहुँका बालाले खेतहरू पहेँल पुर भइसकेका छन् । अब कठ्याङ्ग्रिँदो चिसोले छोट्टाएको समयलाई चिर्दै अब कोइलीको कुहू कुहूले न्यानो अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ । वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋतुको समय । यो फाल्गुन महिना सबैका लागि लाभकारी रहोस्, शुभ रहोस् । जीवनका अनेक आरोह अवरोहहरूमा उत्साहका रङ्गहरू कतै कम नहोउन् अनेक आशाका रँङ्गीन आयामहरू जोडिँदै जाउन् । अनि मुस्कानले हौसला बढाउँदै लगोस् ।
जनयुद्ध दिवस
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको सशस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइँदै आएको छ र विसं २०८० सा जनयुद्ध दिवसको ३० औं संस्करण हो । २०५२ साल फागुन १ गते सुरु गरेको सशस्त्र युद्ध विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। यसै सम्झौताको आधारमा नयाँ नेपालले आफ्नो लोकतन्त्रको नयाँ पथमा लम्किरहेको छ । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित हुँदै छन् । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौँ नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाइँदै आइएको छ।
१० वर्षे सशस्त्र जनयुद्धका क्रममा १३ हजार भन्दा बढी सहिदहरूले ज्यान गुमाएको फेहरिस्त छ । आज ज्ञात अज्ञात सबै सहिदहरू र तिनीहरूको बलिदानको चर्चा गरिन्छ ।
जनयुद्ध दिवस २०७९मा सार्वजनिक बिदा दिइएको थियो । तर हालसालै बिसं २०८० साल फागुन महिनामा जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । हाल शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लागि नसकेको, सो सम्बन्धी विधेयक संसद्मा विचाराधीन समेत रहेको र नेपालको संविधानको प्रस्तावना र धारा २०, धारा २१ तथा धारा ४२ को उपधारा ९५० को शब्द, मर्म र भावनाविपरीत एवम् धारा ३०४ को उपधारा ९२० बमोजिम शान्ति प्रक्रियाको सबै कार्यहरु सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था अर्थात् संसद्द्वारा सुविचारित तवरबाट छलफल र निर्णय नगरी निवेदकहरु समेतको भावनामा चोट पर्ने र संक्रमणकालीन न्यायको कार्यमा संलग्न संस्थाका भावी कार्यहरुमा समेत प्रभाव पर्ने गरी कार्य गर्नु बान्छनीय देखिँदैन, सर्वोच्चको आदेशमा भनिएको छ।
विश्व रेडियो दिवस
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ । रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२४ को विश्व रेडियो दिवसले Radio: A century informing, entertaining and educating…. भन्ने नारा अँगालेको छ । सन् २०११ मा UNESCO ले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस को रूपमा मनाउने घोषणा गरेको हो । र यसकै निरन्तरता स्वरूप आज १२ औं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससँग जुटेका अर्बौँ श्रोताका लागि विशेष बनेको छ । रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ । नेपाली परिवेशमा पनि त रेडियोको बेग्लै विशेषता छ । रेडियो नेपालमा पाण्डव सुनुवारको फोन टाइम, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुस्, राजधानीको सन्देश, दीपक दीपाको राम विलास धनियाँ लगायत अन्य थुप्रै कार्यक्रमहरूको स्वाद र याद अझै ताजा हुने हामी धेरै जना छौँ । समाचार वास्तवमै सही हो कि हैन भनेर रेडियो नेपालको घटना र विचार र समाचार सुनेर मात्र ठम्याउने, रेडियो सँगै हाँस्ने र रुने एउटा जमात अझै पनि चलायमान छ ।
रेडियो एउटा यन्त्र या साधन मात्र नभई एउटा विश्वास पनि हो । यस वर्ष रेडियो र विश्वास को अवधारणा वरिपरि रहेर विश्व रेडियो दिवसको सन् २०२४ को संस्करण मनाँइदैछ । बढ्दो प्रविधिसँगै अन्य धेरै सञ्चारका साधनहरू थपिए तर रेडियोको एकतमासको स्नेह हामी सबैलाई नै छ । भूकम्पको बेला रेडियोको भूमिका फेरि पनि नेपालमा उत्तिकै देखियो, विसं २०७२ को महाभूकम्पमा अन्य सञ्चारका साधनहरूमा प्रतिकुलता आए पनि रेडियो नेपालमा आआफ्नो ठाउँ वाट फोन गरेर या सन्देश टिपाएर समाचार दिने गर्दा धेरै हदसम्म क्षतिको अनुमान र उद्धार कार्य सम्मले सही दिशा पायो । नेपाली राजनैतिक परिवृत्त र आन्दोलनका श्रृखलाहरु मा पनि नेपाली रेडियोको भूमिका अतुलनीय छ । ७ सालको क्रान्तिमा रेडियो नेपालको भूमिका, ४६ साल, जनयुद्धका डोके रेडियोहरू मार्फत पढिने छापामारका पत्रहरू देखि एफएम र गीतका फर्माइस, अनि आज आएर गरिने पोडकास्टहरु सम्म रेडियोका विभिन्न स्वरूपहरू नै हुन् । सबै जनालाई यस दिवसको अर्थपूर्ण शुभकामना छ ।