अर्थमन्त्रीको व्यवसायीलाई प्रतिफल हुने व्यवसाय गर्नुस् सुझाव
पुस्करराज पाण्डे/नुवाकोट, माघ १३,
मुलुकका अर्थमन्त्री प्रकाशशरण महतले बाँझो रहेका खेतीयोग्य जमिनमा प्राकृतिक र अर्गानिक खेती प्रणाली सुरु गर्नुपर्ने बताएका छन्। नयाँ र मिठो खोज्दै जाँदा विभिन्न रोगव्याधीले आक्रमण गरिरहेको अहिलेको अवस्थामा प्राकृतिक र अर्गानिक खेतीतर्फ आकर्षित हुनुपर्ने उनको भनाइ छ। पर्यटन, विकास र निर्माणका गतिविधिले नुवाकोटमा स्वरोजगारी र उद्यमका विविध कार्य बढिरहेको दाबी गर्दै उनले युवा पलायनको अवस्थामा रोक्न प्राकृतिक र अर्गानिक खेती प्रणाली सुरु गरिनुपर्नेमा जोड दिए। उनले गलछी-विदुर-रसुवागढी सडकमार्ग छिटोभन्दा छिटो निर्माण सक्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। नुवाकोटको विदुरमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नुवाकोटका अधिकांश जमिन खेतीयोग्य हुँदाहुँदै पनि बाँझो भइरहेको बताए। उनले किसानहरूले खेती गरेर आत्मनिर्भर हुनुपर्ने योजना आवश्यक रहेको बताए। नुवाकोटबाटै मध्यपहाडी सडक मार्ग, सात तले दरबार राष्ट्रिय संग्रहालय, केन्द्रीय कारगार निर्माण भइरहेका कारण पर्यटन र अर्गानिक कृषि प्रणालीलाई स्थानीय, प्रदेश र संघीय सरकारले अवलम्बन गर्नुपर्ने उनले बताए। अर्थमन्त्री महतले अब घरजग्गाभन्दा पनि आयोजना धितो राखेर कर्जा दिने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिए। डा. महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताए। उनले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए। समग्ररूपमा हालः बैंकिङ लगानी उचित ठाउँमा नभए पाइएको डा. महतले आरोप लगाए। उनले देशको अर्थतन्त्र सुधार भएको दाबी गरे। देशको अर्थतन्त्र सुधार भएका कारण सोहीअनुसार लगानी गर्नुपर्ने उनको भनाइ छ। उनले प्रतिफल आउने क्षेत्रमाा लगानी गर्न लगानीकर्तालाई सुझावसमेत दिए। लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र आम्दानी सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ। उनले सेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भएको र त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेको बताए। ‘व्याजदर बढ्यो, तर प्रतिफल आएन,’ उनले भने, ”क’ वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्छ। बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या आएको छ। कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन।’ उनले लगानीका लागि सरकारले विश्वासको वातावरण बनाएकोसमेत बताए। ‘अब केही दिनमै अर्थतन्त्रमा धेरै नै सुधार हुन्छ। देशको आर्थिक गतिविधि पहिलेको तुलनामा बढेको छ। लगानीकर्ताले पनि निर्धक्क लगानी गर्दा हुन्छ,’ उनले भने।