लोसपा विभाजनको सँघारमा

Share to:

रासंसा/काठमाण्डौ, माघ ५,

मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर २०७८ भदौमा गठन भएको लोसपाको केन्द्रीय समिति दुई वर्षपछि विस्तार भयो । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा) र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ । महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा छन् भने साह आन्दोलनमै छन् । साहले ११ माघमा मधेस बन्दको आह्वान गरेका छन् । यस्तै, उनले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । उता, संघीय र प्रदेश दुवै सरकारमा सहभागी डा. राउत सरकारकै विरुद्ध आन्दोलनमा छन् । लोसपामा अध्यक्ष महन्थ ठाकुरको परिवारवाद हावी भएको, पूर्वकांग्रेसीलाई महŒव दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप लगाउँदै वरिष्ठ नेता महतो असन्तुष्ट छन् । केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छाडेका छन् । हालै उनी नयाँ दिल्ली पुगेर काठमाडौं फर्किएपछि नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा जुटेका छन् । लोसपाबाट विद्रोह गरी वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, आन्दोलनमा रहेका प्रभु साह नेतृत्वको आजपा र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच पार्टी एकीकरण गरी मधेसमा आन्दोलन चर्काउने तयारी भएको बुझिएको छ । नयाँ दिल्ली पुगेका महतोले भारतीय जनता पार्टी (बीजेपी)का पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको उनीनिकट एक नेताले जनाएका छन् । बीजेपी नेतासँग भेटघाट गरेर नेपाल फर्किपछि उत्साहित भएका महतोले मधेसमा आन्दोलन चर्काउने योजनाअनुसार पार्टीका केन्द्रीय नेतालाई काठमाडौं बोलाएर छलफल थालेका छन् । मधेसमा आन्दोलन कसरी अगाडि बढाउने, नयाँ संगठन निर्माणलाई कसरी अगाडि बढाउने भन्ने ’boutमा महतोले छलफल गरिरहेका छन् । जसपाबाट विभाजन भई गठन भएको लोसपाले दुई वर्षपछि गत असोजमा केन्द्रीय समितिको विस्तार गर्दा त्यसबाट असन्तुष्ट महतोले नयाँ राजनीतिक दल गठन गर्ने ’boutमा छलफल थालेका बताइएको छ । उता, आजपा अध्यक्ष साहले अहिलेको संवैधानिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अहिलेको संविधान नै असफल भइसकेको बताउँदै आएका साह राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने पक्षमा रहेका छन् । अहिलेको व्यवस्था असफल भएको बताउँदै साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका छन् । लोसपा अध्यक्ष ठाकुरले ६३ जना पदाधिकारीसहित ३ सय ११ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । तर, समितिमा महतो र अर्का नेता अनिल झानिकट कार्यकर्ताहरूले राम्रो ठाउँ पाउन सकेनन् । पूर्वकांग्रेससमेत रहेका अध्यक्ष ठाकुरले पूर्वसद्भावना समूहलाई पेलानमा पारेको बुझाइ महतोको रहेको छ । मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका बफादार कार्यकर्ताहरूलाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झा असन्तुष्ट छन् । आजपाले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौंमा आन्दोलन गर्दै आएको छ । साथै, आजपाले नेपालमा बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै ११ माघमा मधेस बन्दको आह्वान गरेको छ । आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरिद–बिक्रीजस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारबाही गर्ने अभियानसमेत चलाउने निर्णय गरेको छ । पार्टीनिकट आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला एवं साताव्यापी अर्धसैन्य तालिम दिएको आजपाले आफूहरूको माग सम्बोधन नभए समानान्तर सरकार बनाउने उद्घोषसमेत गरेको छ । मुलुकभरिबाट हजारौं युवालाई भेला गरी रौतहटमा गत पुसमा आजपाले अर्धसैन्य तालिम दिएको थियो । ११ माघको मधेस बन्द सफल बनाउन शुक्रबार साह मधेस झर्दै छन् । जसपा नेतासमेत रहेका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा साइकल खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने, मधेस प्रदेशमा भइरहेको लुटधन्दा बन्द गर्नुपर्ने लगायतका नारा लगाउँदै जनमतका नेता कार्यकर्ताले नारावाजी गरेका थिए । उता, संघीय र प्रदेश सरकारमा सहभागी डा. सीके राउत नेतृत्वको पार्टी सरकारमा बसेर सरकारकै विरुद्धमा आन्दोलनमा छ । मधेस प्रदेश सरकारले आफ्नो एकवर्षे प्रगति विवरण सार्वजनिक गर्नका लागि आयोजना गरेको कार्यक्रममा जनमतका नेता कार्यकर्ताले मधेस सरकारकै विरुद्धमा नाराबाजी गरे । हालै जनमतका उपाध्यक्ष दीपककुमार साहले अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएका छन् । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन गर्नुपर्ने माग गर्दै आजपाले आफैं सहभागी भएको सरकारलाई आन्दोलनको चेतावनीसमेत दिएको छ । महतो, साह र राउत मधेसका तीन शक्ति हुन् । तर, तीनै जना छुटाछुटै दलमा छन् । महतोले आन्दोलनको तयारी गरिरहेको र साह र राउतले आन्दोलन सुरु गरिसकेकाले तीनै जना नेतालाई एकठाउँमा ल्याएर शक्तिशाली आन्दोलन अगाडि बढाउने गृहकार्य भइरहेको छ । त्यसका लागि महतोले छिट्टै नै लोसपाबाट विद्रोह गर्दै नयाँ दल गठन गर्ने र तीनै जनाले छुट्टाछुट्टै गरिरहेका आन्दोलनलाई एकीकृत बनाउने बताइएको छ ।

Like