अध्यागमनले भ्रमण शंकास्पद देखिएका २७ जनालाई रोक्यो
रासंसा/काठमाण्डौ, माघ २,
मुलुकमा भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भ्रमण उद्देश्य नखुलाई दुबई, कुवेत, कतार र मकाउ हिँडेका उनीहरूलाई फिर्ता (अफलोड) गरिएको अध्यागमन कार्यालयले जनाएको छ। ‘अफलोड गरिएकाहरू कसैले पनि भ्रमणको उद्देश्य स्पष्टरूपमा खुलाउन सकेनन्। सरकारले तोकेको आवश्यक कागजात पनि जुटाउन नसकेपछि भ्रमण शंकास्पद् लागेर उनीहरूलाई प्रस्थान अनुमति नदिइएको हो,’ अध्यागमनका एक अधिकारीले अन्नपूर्णसँग भने। अफलोड गरिएकाहरूमध्ये अधिकांश युएई जान लागेका थिए। जसमा युएई जान लागेका २४, कुवेत, कतार र मकाउ जान लागेका एक-एक जना रहेका छन्। उनीहरूले आफ्नो आवश्यक कागजातसमेत नबोकेको र भ्रमणका बारेमा प्रस्टरूपमा भन्न नसकेको अध्यागमन स्रोतले जानकारी दिएको छ। भ्रमणका लागि खाडी मुलुकमा गएर नेपालीहरूले काम गर्न थालेको र काम गर्दागर्दै अलपत्र परेको गुनासो त्यहाँस्थित दूतावासहरूमा आउन थालेपछि सरकारले भिजिट भिसामा विदेश जानेहरूलाई कडाइ गरेको हो। पछिल्लो समय भिजिट भिसामै खाडी मुलुक हुँदै रुसी सेनामा भर्ती भएको खबर पनि सार्वजनिक भइरहेका छन्। कानुनविपरीत विदेशी सेनामा भर्ना हुन थालेपछि सरकारले भिजिट भिसालाई कडाइ गरेको हो। त्यस्तै नवलपरासीका रोहित श्रेष्ठ, कपिलवस्तुकी परिना गिरी, ओखलढुंगाका डिल्लीराम खत्री, पर्साका लिला पाख्रिन श्रेष्ठ, ताप्लेजुङकी निमा संगी शेर्पा, सल्यानका रोहित चलाउने, चितवनका मनोज न्यौपाने, धनकुटाका भुपाल बहादुर लिम्बु, रुकुमकी दिलकुमारी विक र स्याङ्जाका नेत्रबहादुर खत्री रहेको अध्यागमन स्रोतले जानकारी दियो। अफलोड गरिनेमा युएई जान लागेका नवलपरासीका किरण कुमार विक, तनहुँका किरण श्रेष्ठ, मकवानपुरका बुद्धिलाल मोक्तान, सुर्खेतका हुकुमबहादुर शाही, खोटाङकी टीकाराना विष्ट, रसुवाकी सोनम स्याङ्मो तामाङ, झापाकी गायत्री दर्जी, तनहुँकी किरण श्रेष्ठ, सिन्धुपाल्चोकका रुपक भट्टराई, बाराका इमान मिया अन्सारी, नवलपरासीका सुन्दर मानन्धर, दाङका सञ्जत रजौरे, महोत्तरीका रिक्की सिंह, अर्घाखँचीका श्याम खत्री छन्। त्यस्तै कुवेत हिँडेका म्याग्दीका सोजिया शाही, मकाउ हिँडेका बागलुङका पुजा शर्मा र कतार हिँडेका सुनसरीका मुस्ताफा मन्सुरी तितुङ छन्। मानव तस्करसँगको सेटिङमा भिजिट भिसा भएकाहरूलाई प्रस्थान अनुमति दिने गरेको आरोप लागेपछि अध्यगमनका अधिकारीहरूले कडाइ गर्न थालेका छन्। भ्रमण उद्देश्य शंकास्पद् देखिएका जोकोहीलाई अध्यागमनका अधिकारीहरूले तत्काल फिर्ता गर्न थालेका छन्।