भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित

Share to:

रासंसा/चितवन, पौष २८,

मुलुकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन्। रेलमार्गको विकल्प दिन आग्रह गर्दै उनले नयाँ विकल्पका विषयमा छलफल अघि बढ्ने बताए। भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिकरूपमा अध्ययन गरिने उनको भनाइ थियो। उनले थपे, ‘योभन्दा उपयुक्त विकल्प दिन म यहाँहरूलाई अनुरोध गर्दछु।’ महानगरपालिकाले दिएको विकल्पबारे मन्त्रालयले मात्रै गरेर नहुने भएकाले प्रधानमन्त्रीसँग पनि छलफल गरिने उनले बताए।भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताए। त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिले रेखांकन गरिएको रेलमार्गमा घना बस्ती भएको र आठ सयभन्दा बढी घरधुरी पर्ने भन्दै नयाँ विकल्प प्रस्ताव गरिएको बताए। महानगरका तर्फबाट वडा नं ११ र १२ को वन क्षेत्रको छेउ हुँदै रेलमार्ग बनाउँदा छोटो र कम लागतमा बन्ने उनको भनाइ थियो। यसरी रेलमार्ग बनाउँदा नारायणीको साँघुरो क्षेत्रबाट पार गर्न सकिने उनको तर्क थियो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य, प्रदेशसभाका पूर्वमन्त्री, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष एवं संयोजक र पूर्वसभापतिहरू, रेलमार्ग सङ्घर्ष समितिका संयोजक एवं प्रतिनिधि, निजी क्षेत्रका व्यवसायीलगायतको उपस्थिति थियो। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले अहिले रेखाङ्कन भएका क्षेत्रबाट रेलमार्ग सम्भव नहुने भएकाले महानगरले कार्यक्रमको आयोजना गरेको बताए। सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले स्थानीयको सहमतिबिना रेलमार्ग नबन्ने बताए।

Like