६ खर्ब १३ अर्ब पाँच महिनामा रेमिट्यान्स भित्रियो
रासंसा/काठमाण्डौ, पौष २७,
मुलुकमा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्याान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुग्दा नेपालबाट भ्रमणमा जानेले ७६ अर्ब खर्चेका छन् । अहिले रेमिट्यान्स विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अुनसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्थामा रेमिट्यान्समा उत्साह कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७ सय ७९ र १ लाख १५ हजार ९ सय ४८ रहेको थियो । केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको जनाएको छ । रेमिट्यान्स बढेसँगै शोधनान्तर स्थिति पनि मजबुत हुन पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँ ले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ । पाँच महिनामा आयात ३ दशमलव ४ प्रतिशत, निर्यात ६ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३ दशमलव १ प्रतिशतले घटेको छ । कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको छ । यसैगरी, चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । नेपाल सरकारको खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ खर्ब ६३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहेको छ । पुँजीगत ट्रान्सफरमा १७ दशमलव २ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रहेको थियो । यसैगरी, गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ९५ प्रतिशत रहेको देखाएको छ । गत आवको सोही अवधिको तुलनामा यो २ दशमलव ४३ प्रतिशत बिन्दुले कम हो । २०७९ मंसिरमा यस्तो मूल्य वृद्धिदर ७ दशमलव ३८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आव २०८०÷८१ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ बिदेसिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ बिदेसिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गत वर्ष पाँच महिनामा शिक्षामा २८ अर्ब ८१ करोड रुपैयाँ बिदेसिएको थियो । चालू आवको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५ दशमलव १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४ दशमलव ८४ प्रतिशत रहेको छ । सोही अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहमा रहेका वस्तुहरूको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य दुईपटक घटाएको तथा २०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनीजस्ता वस्तुहरूको मूल्यमा कमी आएकाले मूल्य वृद्धिमा कम चाप परेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । यस्तै, २०८० मंसिरमा आयात मूल्य सूचकांक ३ दशमलव ३ प्रतिशतले घटेको छ भने तलब तथा ज्यालादर र थोक मूल्यको वृद्धिदरमा कमी आएको छ ।