खेतीको क्षेत्रफल घट्दासमेत कसरी बढ्यो धान उत्पादन ?

Share to:

रासंसा/काठमाण्डौ, पौष २४,

मुलुकमा चालु आर्थिक वर्ष धान उत्पादन बढेको छ । धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको हो । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान फलेको थियो । ‘ओभरअल गत वर्ष भन्दा उत्पादकत्व बढेको छ,’ उनले भनिन्, ‘उत्पादन किन बढ्यो भनेर हेर्दा मलखाद उपलब्धता, मनसुनले ह्याम्पर गरेन, मनसुन ढिलो गरी भयो तर पनि रोपाइँ नर्मली ९५ प्रतिशत भयो ।’ कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले चालु आर्थिक वर्ष धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमी आउनका साथै बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी हुनु मुख्य कारण रहेको उल्लेख गरेको छ । मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग गरिएकाले पनि उत्पादन वृद्धि भएको बताइन् । नेपालमा धान उत्पादन बढ्नु र घट्नु मौसममा निर्भर हुने कृषिविज्ञ छवि पौडेल बताउँछन् । ‘नेपालमा धान बाली उत्पादन मौसममा आधारित छ,’ उनले भने, ‘यो वर्ष ढिलोगरी मनसुन सुरु भए पनि बालीलाई भने हानि गरेन, त्यसकारण उतपादनमा वृद्धि देखिएको हो ।’ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा धान बाली रोप्ने क्षेत्रफल घटेको छ । गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले धान बालीको क्षेत्रफल घटेको हो । गत वर्ष १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने चालु आर्थिक वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले उल्लेख गरेको छ । धानको उन्नत जात तथा हाइब्रिड जात प्रयोग गर्ने भएकाले पनि धानको उत्पादन बढेको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका पूर्व धान संयोजक डा.रामवरण यादवले बताए । ‘किसानले मल समयमा पाए, बढी उत्पादन दिने जातहरु हार्दिनाथ, राधा–४, सर्जु ५२ लगायत धानहरु लगाए,’ उनले भने, ‘त्यसैको उपलब्धिस्वरुप यसपाली धान उत्पादन वृद्धि भयो ।’ कृषि मन्त्रालयका अनुसार कोशी प्रदेशमा चालु आर्थिक वर्षमा ३ लाख २४ हजार हेक्टर क्षेत्रफलबाट १४ लाख ३५ हजार मेट्रिक टन धान फलेको छ । गत वर्ष कोशीमा ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलबाट १३ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, बागमती प्रदेशमा १ लाख २८ हजार हेक्टर क्षेत्रफलबाट ५ लाख ४ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यो प्रदेशमा १ लाख ३० हजार हेक्टर क्षेत्रफलबाट ५ लाख मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस्तै, मधेस प्रदेशमा ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १३ लाख ३७ हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मधेस प्रदेशमा ३ लाख ७५ हजार हेक्टर क्षेत्रफलबाट १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, गण्डकी प्रदेशमा १ लाख १ हजार हेक्टर क्षेत्रफलबाट ३ लाख ९१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष गण्डकीमा १ लाख ६ हजार हेक्टर क्षेत्रफलमा ३ लाख ९१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कर्णाली प्रदेशमा ४१ हजार हेक्टर क्षेत्रफलबाट १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष सो प्रदेशमा ३८ हजार हेक्टर क्षेत्रफलबाट १ लाख २९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष १३ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ । ३ लाख २ हजार हेक्टर क्षेत्रफलबाट सो उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष ३ लाख १ हजार हेक्टर क्षेत्रफलबाट ११ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशमा १ लाख ५६ हजार हेक्टर क्षेत्रफलबाट ५ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष सो प्रदेशमा १ लाख ६२ हजार हेक्टरमा धान खेती भएकोमा ५ लाख ८९ हजार मेट्रिक टन उत्पादन भएको थियो । नेपालमा मूख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । चालु आर्थिक वर्षमा १ लाख ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान बाली लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार १३ लाख ३४ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ गरिएको थियो । सो दुबै सिजन गरी देशभर १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । मुलुकभर चालु आर्थिक वर्षमा चैते धान ५ लाख २० हजार मेट्रिक टन र बर्खे धान ५२ लाख ३ हजार मेट्रिक टन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा चैते र बर्खे गरी ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाँच वर्षमा धान बालीको क्षेत्रफल १.७३ प्रतिशतले घटेको छ । मानिसहरु गाउँभन्दा सहर केन्द्रित भएर बस्न थालेपछि खेतीपातीको क्षेत्रफल घटेको हो । पाँच वर्षमा धानको उत्पादन ५ दशमलब शून्य ८ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पाँच वर्षमा ६ दशमलब ९२ प्रतिशत उत्पादकत्व बढेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ५५ लाख ५० मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ मेट्रिक टन उत्पादन भएको थियो । २०७८÷७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलबाट ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलबाट ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, चालु आर्थिक वर्षमा १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

Like