विद्युतीय गाडीमा चार्जिङ स्टेशनको अभावका कारण लगानी बढाउन समस्या
रासंसा/काठमाण्डौ, पौष २१,
मुलुकमा चार्जिङ स्टेशनको अभावका कारण विद्युतीय सवारीमा लगानी बढाउन समस्या भएको अटो मोबाइल्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष डा.ध्रुव थापाले बताएका छन्। चार्जिङ स्टेशकै अभावले वातावरणमैत्री इलेक्ट्रोनिक भेइकल (ईभी)मा लगानी बढाउन व्यवसायीहरू डराइरहेको उनको भनाइ छ। उनले देशभर चार्जिङ स्टेशन बढाउन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराए। अर्थमन्त्री डा. महतले चार्जिङ स्टेशनलाई विस्तारै प्रमोट गर्न लामो दूरीकोलाई प्रणालीगत रुपमा बढाउने सोच रहेको बताए। उनले नाडाले पनि सरकारसँग हातेमालो गरेर काम गर्न प्रस्ताव गरे। शुक्रबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशभर २ सय ५० ओटा मात्रै चार्जिङ स्टेशनले नपुगेकाले बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। अर्थमन्त्री महतले करका विषयमा धेरै नबोल्न आग्रह गरे। करका विषयमा बोल्दा यसको पृष्ठभूमि बुझ्न जरुरी रहेको उनको भनाइ थियो। ‘सरकारले दिएको कर छुटको लाभ नागरिकले पनि पाउनुपर्छ। तर, त्योअनुसार नागरिकले सहुलियत पाएका छैनन्। त्यसैले यो विषयमा व्यवसायीहरू बोल्न आवश्यक छैन।’ नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र विस्तारै सुधारतर्फ गएको तर पूर्ण रुपमा चलायमान भइनसकेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय उद्योगी, व्यवसायी र नेपाल विद्युत प्राधिकरणको विवाद अन्त्य नभएकाले न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए। नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारको दर आँखा चिम्लिएर जे पायो त्यही तरिकाले नलिन आग्रह गरे। मल्लले भने, ‘कर भारतभन्दा ४ गुणा बढी छ। यसले सबैतिर महंगी बढ्छ।’ यससँगै उनले २० वर्ष पुराना गाडी भ्यालीबाट हटाउन अनुरोध गरे।