बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन, बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैनः मन्त्री ज्वाला
रासंसा/काठमाण्डौ, पौष १३,
मुलुकमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको थियो । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ । अन्य केही घाइते छन् भने । चार दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्। मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रिय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताए। पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए। उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए। गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ। शुक्रवार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए। उनले भने, ‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा समेत आगजनी गरियो। यो घटनाप्रति दुःख व्यक्त गर्दछु। मान्छेको ज्यान जाने कुरा र घाइते हुने कुरा पनि दुःखद् कुरा हो। आज बालकुमारीमा भएको घटनाका सम्बन्धमा हामीलाई न जानकारी छ, पूर्वजानकारी पनि छैन, न सम्बन्ध छ न सरोकार छ। हाम्रो मन्त्रालयसँग यसको कुनै सरोकार नै छैन। गाडी मन्त्रालयतिर गइरहेको बारेमा त्यहाँ गाडी रोकियो, गाडीको टायर खोसियो, गाडीमा आगो लगाइयो। बिना कारण, सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, जो जसको सरोकार जहाँ थियो, त्यो एउटा विषय होला। हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण छैन। गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुनेकुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा प¥यो र आगजनी गरियो । यो खेदजनक कुरा हो। अरु घटनाका सम्बन्धमा म धेरै जानकार छैन। हाम्रो मन्त्रालयको व्यक्तिगत रुपमा मेरो यो घटनामा कुनै सरोकार र सम्बन्ध केही छैन।’