‘गुटका आधारमा गलत मान्छेलाई संरक्षण नदिइयोस्’ कांग्रेस बैठकमा नेताहरुले भने – ‘सरकारको कुनै आभास छैन’
रासंसा/काठमाण्डौ, पौष १३,
मुलुकमा नेपाली कांग्रेसका नेताहरूले सरकार भए/नभएकोबारे जनतालाई कुनै आभास नभएको बताएका छन् । सबैभन्दा ठूलो सत्ता घटक कांग्रेसका केन्द्रीय सदस्यहरूले आफ्नै पार्टी तलदेखि माथिसम्म सरकारमा भए पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे । बिहीबार करिब तीन घण्टासम्म बसेको बैठकमा १६ जना केन्द्रीय सदस्यहरूले धारणा राखेकोमा संस्थापनइतर पक्षका अधिकांश नेताहरूले सरकारको आलोचना गरेका छन् । कांग्रेसका मन्त्रीहरूले समेत देश र जनताका लागि भन्दा पनि गुटका लागि प्रतिबद्ध भएर काम गरेको उनीहरूको आरोप छ । बिहीबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै नेताहरूले सरकारका काम कारबाहीले जनतामा झन् धेरै निराशा बढिरहेको औंल्याएका छन् । ‘प्रधानमन्त्रीले भर्खरै वर्ष दिनको प्रगति यो र त्यो भन्दै सार्वजनिक गर्नुभयो । हुन त हाम्रै पार्टी सरकारमा छ तर जनताको नजरबाट हेर्दा देशमा सरकार भएको अनुभूति हुँदैन, छैन,’ बैठकमा केन्द्रीय सदस्य राजीव कोइरालाले भने, ‘म पार्टीको केन्द्रीय सदस्य हुँ, तर मलाई पनि पार्टी सरकारमा भएको अनुभूति छैन ।’ अर्का केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताइन् । ‘सरकार छ, त्यसमाथि हाम्रै पार्टी पनि सरकारमा छ । तर सरकारले के गरिरहेको छ भनेर जनताले अनुभूत गर्न पाएको छैन, सरकारमा भएको दलको नेताको हिसाबले जनताको अगाडि उभिएर गर्व गर्ने कुनै आधार छैन,’ उनले भनिन् । उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूले पनि गुटका लागि मात्रै काम गरेको बताए । ‘मन्त्रीहरूले देश र जनताका लागि होइन, पार्टीका लागि पनि होइन, खाली आफ्नो गुटका लागि काम गरिरहेको हो कि भन्ने अनुभूति भएको छ,’ कोइरालाको आरोप छ । गठबन्धन सरकार भए पनि मन्त्रीहरूले जनपक्षीय मुद्दा लिएर जाँदासमेत नसुन्ने गरेको र बजेट पनि गुट हेरेर विनियोजन गरिएको नेताहरूको गुनासो छ । नेता महरले प्रदेश र स्थानीय सरकारले समेत जनताप्रति जिम्मेवार भएर काम नगरेको बताए । ‘हाम्रो पार्टी स्थानीय तह र प्रदेशमा पनि सरकारमा छ । तर ती सरकारले पनि जनताप्रति जिम्मेवार भएर काम गरिरहेका छैनन्,’ उनले भने, ‘कतै त्यहाँ पार्टीले गर्नुपर्ने समन्वय नै कमजोर भइरहेको हो कि भन्ने समेत लागेको छ ।’ गठबन्धन सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र निर्माण भए पनि त्यो प्रभावहीन हुँदा सरकार जिम्मेवारीबाट बरालिएको केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ । बैठकमा महरले थपे, ‘सरकारलाई मार्गदर्शन गर्न गठबन्धनले उच्चस्तरीय संयन्त्र बनाउने अभ्यास गरेको थियो । तर अहिले त्यो पूर्णतः निष्क्रिय छ । सरकारलाई ट्र्याकमा ल्याउने गठबन्धनको कुनै संयन्त्र छैन । प्रधानमन्त्रीले गठबन्धनको होइन, एकल सरकार चलाएझैँ गरेर मनपरी गरिरहेका छन् ।’ पूर्वमहामन्त्री शशांक कोइरालाको पनि वर्तमान सरकारले जनतालाई न्याय दिने गरी काम गर्न नसकेको आरोप लगाए । उनले मन्त्रीहरू फेरेर सरकारको काम प्रभावकारी हुन्छ भन्ने कुनै आधार नरहेको समेत दाबी गरे । बैठकबाट बाहिरिने क्रममा नेता कोइरालाले भने, ‘अहिलेका मन्त्रीहरूले काम गर्न सकेका छैनन्, किन काम गर्न सकेनन् ? म भन्न सक्दिनँ । तर मलाई लाग्छ, मन्त्रीहरूसँग के गर्ने ? कुन चाहिँ प्राथमिकताको विषय हो भन्ने कुनै योजना नै छैन ।’ ‘स्वास्थ्य क्षेत्र निकै समस्याग्रस्त छ । दक्ष जनशक्ति छैन । दरबन्दीअनुसार कर्मचारी नियुक्त गर्न सकिएको छैन,’ मन्त्री बस्नेतले बैठकमा भने, ‘अहिले देशभर ९२ हजार कर्मचारी चाहिएको हो । तर ३० हजार दरबन्दीका लागि विज्ञापन खुलाउने प्रयास भइरहेको छ । मैले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छु ।’ बैठकमा कांग्रेसका मन्त्रीहरूले सरकारमा अहिलेसम्म गरेका कामको फेहरिस्त पेस गर्ने र केन्द्रीय सदस्यहरूले सुझावसहित समीक्षा गर्ने कार्यसूची छ । बिहीबार भने मन्त्रिपरिषद् बैठक परेका कारण स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मात्रै आफ्नो कार्यसम्पादनको विवरण पेस गर्ने मौका पाए । नेताहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा गुटलाई भन्दा, योगदान र क्षमतालाई प्राथमिकतामा दिन सुझाव दिएका छन् । पार्टीभित्र पटक–पटक अवसर पाएका र अस्ति भर्खरै मात्र चुनाव हारेकाहरूलाई फेरि अवसर दिनु नहुने नेताहरूको तर्क छ । मन्त्री बस्नेतले कांग्रेसकै पहलमा सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउन प्रयास गरिरहेको बताएका थिए । केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनौट गर्दा न्याय हुने हिसावले गर्नुपर्ने बताए । ‘गठबन्धनमा कांग्रेसले पाउने सिट संख्या कति हो ? अहिलेसम्म कुनै छलफल भएको देखिएको छैन । ती सिटमा टिकट वितरण कसरी हुने हो ? त्यसबारे केही खुलेन,’ बैठकमा बडूले जिज्ञासा राख्दै भनेका थिए, ‘यदि अहिले जे चर्चा भइरहेको छ, त्यही अनुसार हो भने त्यो राम्रो भएको छैन । पार्टीले पटक—पटक अवसर लिएकालाई होइन, अहिलेसम्म एउटा पनि मौका नपाएका नेताहरूलाई अघि बढाउनुपर्छ ।’ ‘अहिले जे चर्चा भइरहेको छ, त्यसअनुसार अस्ति भर्खरै चुनाव हारेको मान्छेले फेरि टिकट पाउने हो भने मैले किन नपाउने ?,’ बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले भनेका थिए, ‘गुटका नाममा गलत मान्छेलाई संरक्षण हुनु राम्रो होइन । पार्टीले कामका आधारमा विना भेदभाव नेता कार्यकर्तालाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ, गुटका आधारमा होइन ।’ केन्द्रीय सदस्य डिला संग्रौलाले बैठकमै त्यसबारे प्रश्न उठाइन् । ‘बैठक प्रत्यक्ष प्रशारण हुँदा यहाँ जे बोल्यो, त्यो जनतासमक्ष पुग्थ्यो । आज पनि त्यही अपेक्षा लिएर आइयो,’ संग्रौलाले प्रश्न गर्दै भनिन्, ‘अस्ति किन प्रत्यक्ष प्रशारण गराइएको हो ? र अहिले किन यसलाई रोकिएको हो ?’ केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पनि प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका जिल्ला र क्षेत्रहरूलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउनुपर्ने बताए । कांग्रेसले बिहीबारको बैठक प्रत्यक्ष प्रशारण गरेन । यसअघि बैठकका विषयमा भ्रम फैलाइएको भन्दै प्रत्यक्ष प्रशारण गर्ने भनेका सभापति शेरबहादुर देउवाले बिहीबार भने प्रत्यक्ष प्रशारण गर्न दिएनन् । कतिपय नेताहरूले भने प्रत्यक्ष प्रशारण रोकेर राम्रो निर्णय भएको भन्दै देउवालाई समर्थन गरेका थिए । अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकमा अहिले केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको जानकारी दिए । ‘सरकारको समीक्षा, महासमिति बैठकको तयारी, राष्ट्रिय मेलमिलाप दिवस मनाउने र राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायतका पाँच विषय प्रस्तावकोरुपमा छन्,’ उनले भने, ‘अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै हुनुहुन्छ, शुक्रबार पनि त्यही क्रम रहन्छ ।’