मधेश आन्दोलनलाई आपराधिक घटना बनाउन राज्यले खोज्यो
रासंसा/सप्तरी, पौष ११,
मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटना बनाउन थालेको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा जानु पर्ने बताएका छन् । काँग्रेस, माओवादी, एमालेलगायतका दलहरुले गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मधेश आन्दोलनमा लागेकामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि मधेशबादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे । मंगलबार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजन्म कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योध्दामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे । उनीहरुको आन्दोलन चाहिँ राजनीतिक हुने अनि अधिकार र पहिचानकालागि भएको मधेश तथा थरुहट आन्दोलन चाहिँ आपराधिक ? महतोले प्रश्न गर्दै भने,यो एकल जातिय राज्यको नश्लवादी चिन्तन भएकोले हामीहरुलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।” उनले लोसपा,जनता समाजवादी पार्टी(जसपा),जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी लगायतका मधेशवादी दलहरुले सत्ता त्यागेर आन्दोलनमा उत्रने समय आईसकेको बताए । मधेश आन्दोलन आफूलगायत उपेन्द्र यादव,महन्थ ठाकुर,महेन्द्र राय,अनिल झा, शरतसिंह भण्डारी,राजकिशोर यादव लगायतको नेतृत्वको सात मधेशवादी राजनीतिक दलको सहभागितामा भए पनि यति बेला उनीहरु सत्तामा नै बसिरहेको प्रति महतोले असन्तुष्टी जनाए । यो सत्तामा टाँसिएर बसिरहने समय होईन,उनले थपे,अब सरकार छाडेर बाँकी अधिकार प्राप्तीकालागि समेत आन्दोलनमा उत्रनु अपरिहार्य भईसकेको छ । आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजन्म कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेको प्रति असन्तुष्टि जनाउँदै उनले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी दिए । यद्यपि छुट्टै पार्टी गठन गर्ने समय चाहिँ आई नसकेको उनको कथन थियो ।