‘सरकार सोचेजति सफल भएन’ प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति,

Share to:

रासंसा/मोरङ, पौष ५,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आफूले सोचेजति सफल हुन नसकेको स्वीकार गरेका छन्। ‘मैले जति सोचेको हो, जसरी सोचेको हो। त्यसरी नै भयो सफल भन्ने त मेरो पनि दाबी छैन। किनभने गठबन्धनको सरकार हो। धेरै सीमा र अफ्ठ्याराहरू हुन्छन्। सबैलाई मिलाएर लैजाने आफैंमा जिम्मेवारीको कुरा हो,’ उनले भने, ‘तर, यो कन्डिसन (परिस्थिति)मा जेजति काम सुरुदेखि अहिलेसम्म भएका छन्। मैले सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति भनेर जे भनेको थिएँ। गरेका कामहरू सफल भए भन्ने हो। त्यसका ऐतिहासिक रेकर्डहरू बनेका छन्।’ सोचेजति सफल नभए पनि अहिलेको अफ्ठ्यारो र जटिल परिस्थतिमा ऐतिहासिक हिसाबले सरकार सफल भएको जिकिर उनको छ। विराटनगर विमानस्थलमा बिहीबार साँझ संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले गठबन्धनको सरकार भएका कारण आफूले सोचेजति सफलता प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन्। सरकारले सुरुदेखि गरेका काम र प्रत्येक घटना हेर्दा कैयौं ऐतिहासिक रेकर्डहरु बनेको जिकिर प्रधानमन्त्रीको छ। ‘सरकार अफ्ठ्यारो र जटिल परिस्थितिमा छ। तैपनि मिटरब्याज पीडितका समस्या, नागरिकताको समस्या हल गर्नेदेखि भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा यो ‘लेभल’को बहस र कारबाही कहिल्यै भएको थिएन,’ उनले भने, ‘भूमाफिया र तस्करीविरुद्धको कारबाही तथा अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले हेर्दा सरकार सफल भएको छ ऐतिहासिक रूपले सफल भएको छ।’ उनले मन्त्रालयहरूले गरेका काम कारबाहीको समीक्षा अहिले भइरहेको पनि बताए। ‘मैले मन्त्री, सचिव तथा सहसचिवसँग सामूहिक छलफल सुरु गरेको छु। आज (बिहीबार) पनि झण्डै ६ वटा मन्त्रालयसँग छलफल सकियो,’ उनले भने, ‘लगातार ती मन्त्रालयको ब्रिफिङ लिने कुरा चलिरहेको छ। त्यहाँको स्थिति र सम्भावनासहित एक वर्षमा के भयो र के भएन भनेर समीक्षा भइरहेको छ।’ उनले एनसेल काण्डमा अनआवश्यक कचिङ्गल खडा गर्दै भ्रम सिर्जना गरिएको पनि बताए। एनसेल काण्डका बारेमा पर्याप्त प्रमाण र तथ्यसहित कारबाहीका लागि आफूले राज्य व्यवस्था समितिमा भनेको प्रधानमन्त्री प्रचण्डले बताए। ‘प्रधानमन्त्रीको हैसियतले मैले यसलाई संविधान, कानुन र विधिविधानभन्दा बाहिर जान दिइँदैन भनिसकेको छु,’ उनले भने, ‘तर, अनआवश्यक भ्रम सिर्जना गरियो।’ अब अलि नयाँ ढंगले अघि बढ्ने र विकासका काम अगाडि बढाउने कुरा सरकारले सोचिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ। ‘विकास निर्माण र जनताका सेवाका कामहरू अगाडि बढाउने ‘प्लान’ सोचेको छु। मन्त्रालयलाई ‘प्लान’ दिइन्छ। ‘फुलफिल’ भएन भने कडारूपमा गइन्छ,’ उनले भने। दाहालले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर उत्पन्न तनावको समाधान छलफलका माध्यमबाट शान्तिपूर्ण ढंगले खोजिनुपर्नेमा आफू प्रष्ट रहेको बताए। ‘अतिवादतिर कसैलाई पनि जान दिइने छैन,’ उनले भने, ‘संवादकै तरिकाले सहज ढंगबाट समाधान खोजिनुपर्छ।’ नामकरणपछि उत्पन्न तनावको वातावरण अहिलेसम्म आइपुग्दा विस्तारै सहज बन्दै गइरहेको पनि उनले बताए।

Like