आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा पर्ने ?
रासंसा/काठमाण्डौ, पौष ०३,
मुलुकमा सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सन अर्थात् खेलाडीहरूको निलामी आज हुँदैछ। अक्सनमा सबैभन्दा धेरै भारतका २१४ खेलाडी रहेका छन् भने ११६ विदेशी खेलाडी रहेका छन्। जसमा १११ क्याप्ड र २१५ अनक्याप्ड खेलाडी छन्। संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्। खेलाडीहरूको निलामी स्थानीय समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ। १० टोली सम्मिलित आइपीएलमा ३३० खेलाडीमध्ये जम्मा ७७ जना खेलाडी छनोट हुनेछन्। सन् २०२४ मा हुने आइपीएलका लागि ११६६ खेलाडीले रजिस्ट्रेसन गराएकोमा ३३३ जना मात्रै सर्ट लिस्ट भए। त्यसमा पनि अन्तिम समयमा आएर ३ जना खेलाडीले नाम फिर्ता लिएका छन्। यसपटक गुजरात टाइटन्ससँग सबैभन्दा धेरै ५६ करोड १४ लाखभन्दा बढी पैसा छ भने लखनउ सुपर जाइन्ट्ससँग सबैभन्दा कम २१ करोड छ। नाम फिर्ता लिनेमा इङ्ग्ल्यान्डका स्टार लेग स्पिनर अलराउन्डर रेहान अहमद रहेका छन् भने बङ्गलादेशका स्टार बलर तस्किन अहमद र शौरीफुल इस्लाम रहेका छन्। आइपीएलमा अस्ट्रेलियाका ट्रेविस हेड, दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी, अस्ट्रेलियाका मिचेल स्टार्क, भारतका शार्दुल ठाकुर, स्टीव स्मिथ, ह्यारी ब्रुक, रिलो रोसो, प्याट कमिन्स, हर्षल पटेल, क्रिस वोक्स, जोश इंग्लिस, लकी फग्र्यूसन, जोश हेजलवुड, उमेश यादव, मुजिब उर रहमान, आदिल राशिद, रस्सी वैन डर डुसेन, जेम्स विस, सीन एबट, जेमी ओवर्टन, डेवी विली, बेन डकेट र मुस्तफिजुर रहमानको बेस प्राइस २ करोड अनुमान गरिएको छ। यी खेलाडी आगामी आइपीउलका सबैभन्दा महँगा खेलाडी सावित हुनेछन्। आइपीएलमा गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद, कोलकोत्ता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स गरी १० टिमले सहभागीता जनाउने छ। त्यस्तै मोहम्मद नबी, डेनियल सैम्स, टम कुरेन, क्रिस जोर्डन, टाइमल मिल्स, फिल साल्ट, कलिन मुनरो, जिमी निशम, टिम साउदी, वानिदु हसरंगा, जेसन होल्डर, शेरफेन रदरफोर्ड र झाय रिचर्डसन् डेढ करोड बेस प्राइसमा छन्।