काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन मध्येको सांस्कृतिक शहर : प्रधानमन्त्री दाहाल
रासंसा/काठमाण्डौ, मार्ग २९,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको बताएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाको २९ औँ महानगर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए । उनले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिनेमा आफ्नो विश्वास रहेको बताए । ‘नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रस्ट व्यवस्था गरेको छ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण गरेको पहिलो प्राथमिकतामा छ ।’ ‘तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिका लगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको जानकारीसमेत गराउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शरहरूमध्येको एक सांस्कृतिक सहर भएको पनि बताए ।