अन्तर्राष्ट्रिय बालकला मेला काठमाण्माडौमा हुँदै
रासंसा/काठमाण्डौ, मार्ग २६,
मुलुकमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ। समारोहमा कुलपति हार्तम्छालीले कला राजनीति जस्तो नभई सुषुप्त रूपमा अघि बढेर जाने विषय भएको उल्लेख गर्दै भने, ‘जुन रूपमा कलाकृतिको प्रदर्शनी भएको छ, यो सजिलो तबरले भएको पक्कै होइन। यसमा तीनवटा देशका सृजना आएका छन्। यो कला एकताको सन्देश पनि हो।’ प्रतिष्ठानमा सुरु भएको अन्तर्राष्ट्रिय बाल कला मेलाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गरे। नेपाल, भारत र बंगलादेशका बालबालिकाका कलाकृति राखिएको प्रदर्शनी यही मंसिर २८ गतेसम्म चल्नेछ। उनले प्रदर्शित कला पुस्ता हस्तान्तरणको कामसमेत भएकाले यसको भविष्य पनि सुन्दर रहेको बताए। अग्रज कलाकार राधेश्याम मुल्मीले कला संसारभरिको भाषा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, ‘यो प्रदर्शनी प्रदर्शनी मात्र नभएर भविष्यमा कसरी मनोवैज्ञानिक तबरले बालबालिकाको उन्नति गर्न सकिन्छ भन्ने कुराको दीर्घकालीन सोच पनि हो।’ समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले चलेका कलाकारलाई मात्र प्रचारप्रसार नगरेर बालबालिकालाई पनि अघि बढाउने प्रयत्न स्वरूप यो कार्यक्रम गरिएको बताए। प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ पाल्साङ्मो लामा, कलाकार प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, प्राज्ञ मिथिलादेवी, रमेश खनाल लगायतले तीन देशका बालबालिकाको कला प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने बताए।