कति विषाक्त छन् हामीले खाने फलफूल र तरकारी ?
रासंसा/काठमाण्डौ, मार्ग १६,
मुलुकमा केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक देशभरका सात वटा प्रयोगशालामा तरकारी तथा फलफूलमा विषादी जाँचका लागि संकलित एक हजार ९७८ वटा नमूनामध्ये १५ वटा नमूना खान अयोग्य पाइएको हो । यसले तरकारी तथा फलफूलमा भएको विषादी भान्छामा भित्र्याइएको पुष्टि हुन्छ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा मात्रै होइन, सातै प्रदेशका मूख्य–मूख्य सहरमा बसोबास गर्ने आम उपभोक्ताले विषादीयुक्त तरकारी भान्छामा भित्र्याइरहेको पाइएको छ । देशभर तरकारी तथा फलफूलमा विषादीको जाँच गर्ने प्रयोगशाला ७ वटा छन् । यी प्रयोगशाला सहर केन्द्रित छन् । झापाको विर्तामोड, काठमाडौँको कालीमाटी, सर्लाहीको नवलपुर, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज र कैलालीको अत्तरियामा त्यस्ता प्रयोगशाला छन् । यस्तै, गत आर्थिक वर्षमा १३ हजार ६ सय ६९ वटा तरकारी तथा फलफूलको नमूना विषादी जाँचका लागि संकलन गरिएको थियो । सोबाट ६९ वटा नमूनाको तरकारी खान अयोग्य, ३४ वटा केही समयपछि खान मिल्ने र १३ हजार ५ सय ६६ वटा नमूना खान योग्य भएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । चालु आर्थिक वर्षको मङ्सिर ८ गतेसम्मको केन्द्रीय कृषि प्रयोगशालाको तथ्याङ्क अनुसार एक हजार ९७८ वटा तरकारी तथा फलफूलको नमूना संकलन गरिएको थियो । तीमध्ये १५ वटा नमूना खान अयोग्य, ३ वटा केही समय पर्खनुपर्ने र एक हजार ९६० वटा नमूनामा खानयोग्य तरकारी तथा फलफूल पाइएको छ । काठमाडौँ उपत्यकाका तरकारी तथा फलफूलमा बढी विषादी पाइएको छ । केन्द्रीय प्रयोगशालाले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार कालीमाटी बजारका तरकारी तथा फलफूलमा बढी विषादी देखिएको छ । केन्द्रीय प्रयोगशालाका अनुसार चालु आर्थिक वर्षमा देशभर १ हजार ९ सय ७८ वटा तरकारी तथा फलफूलको नमूना संकलन गरी विषादी परीक्षण गरिएको छ । सोबाट १५ वटा खान अयोग्य भेटिएको छ । त्यसमध्ये पनि ५ वटा नमूना कालीमाटीकै छ । यस्तै, गत आर्थिक वर्षमा १३ हजार ६ सय ६९ वटा तरकारी तथा फलफूलको नमूना विषादी जाँचका लागि संकलन गरिएको थियो । सोबाट ६९ वटा नमूनाको तरकारी तथा फलफूल खान अयोग्य भएको पाइएको थियो । यसमध्ये २६ वटा नमूना कालीमाटी बजारको थियो । कैलालीको अत्तरिया र कास्कीको पोखरा बजारमा चार÷चार वटा नमूना खान अयोग्य भेटिएका छन् । यस्तै, झापाको विर्तामोड र बाँकेको नेपालगन्जमा एक÷एक नमूना खान अयोग्य भेटिएका छन् । यस्तै, कैलाली अत्तरिया बजारबाट संकलित तरकारी तथा फलफूलमा १६ वटा खान अयोग्य, बाँकेको नेपालगन्जमा १०, कास्कीको पोखरामा १२ वटा नमूना तरकारी तथा फलफूल खान अयोग्य भेटिएका थिए । झापाको विर्तामोडमा ४ वटा र रुपन्देहीको बुटवल तरकारी बजारबाट १ वटा नमूना खान अयोग्य भेटिएको थियो । घरायसी उपभोगका लागि उत्पादनभन्दा व्यावसायिक उत्पादनको तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढी भएको प्रयोगशालाले जनाएको छ । देशभर ७ वटा कृषि प्रयोगशालाले दैनिक रुपमा तरकारी तथा फलफूलको नमूना संकलन गर्छ । संकलित नमूना हरेक दिन परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाकी बाली संरक्षण अधिकृत सिर्जना श्रेष्ठले बताइन् । उनका अनुसार बढी उपभोग अयोग्य तरकारी तथा फलफूल नष्ट गरिन्छ । केही समय पर्खेर खान योग्य तरकारी दुई–तीन दिनपछि पुनः जाँच गरेर खान योग्य भएपछि मात्रै बजार लगिने उनले दाबी गरिन् । ‘हामीले दैनिकरुपमा विषादी जाँचका लागि तरकारी तथा फलफूलको नमूना संकलन गर्छौं,’ उनले भनिन्, ‘जाँच गरेर उपभोगयोग्य, केही समय पखर्नु पर्ने र अयोग्य तरकारी तथा फलफूल बजारमा जानकारी गराउँछौँ ।’ तरकारी तथा फलफूलको संकलित नमूना जाँच गर्दा विषादीको रोकावट जाँच गरिन्छ । अधिकृत श्रेष्ठका अनुसार तरकारी तथा फलफूलमा ३५ प्रतिशतभन्दा कम रोकावट देखिएमा सो वस्तु उपभोग योग्य हुन्छ । जसलाई हरियो रङले संकेत गरिन्छ । यस्तै, तरकारी तथा फलफूलमा विषादीको जाँच गर्दा ४५ प्रतिशतभन्दा बढी रोकावट देखिएमा उपभोग अयोग्य ठहरिन्छ । यसलाई रातो रङले संकेत गरिन्छ । जुन तरकारी तथा फलफूल नष्ट गर्नुपर्ने हुन्छ । यस्तै, ३५ देखि ४५ प्रतिशतको रोकावट मात्रा देखिएमा केही समय पर्खनुपर्ने हुन्छ । जसलाई पहेँलो रङले संकेत गरिन्छ । यसलाई केही समयमा पुनः जाँच गरी हरियो संकेत आएमा खान योग्य मानिन्छ । विषादीको रोकावट प्रतिशत कार्वामेट र अर्गानोफस्फेट समूहका किटनाशक विषादीहरुको मात्र परीक्षण भएकाले अन्य विषादी, रसायन आदिको हकमा यो नतिजा लागु नहुने श्रेष्ठले बताइन् । देशभर तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने प्रयोगशालाबाट दैनिक विषादी जाँच गरिन्छ । तरकारी तथा फलफूलमा विषादी भएको पाइएमा केही समय पर्खन पर्ने भएका कृषि उपज बेच्नमा रोक लगाउने र केही समय पर्खेर पुनः जाँच गरे खान योग्य भए मात्रा बजार पठाइने श्रेष्ठले बताइन् । यस्तै, खान अयोग्य तरकारी नष्ट गर्ने उनले बताइन् । ‘हामीलाई जाँच गर्ने अधिकारमात्रै दिइएको छ,’ उनले भनिन्, ‘तरकारी बजार तथा व्यापारीसँग समन्वय गर्छौँ, पर्खन पर्ने वा नष्ट गर्नु पर्ने भएमा उहाँहरुले नै त्यो कार्य गर्नुहुन्छ ।’ उनका अनुसार खान अयोग्य तरकारी नष्ट गरिन्छ । यसका साथै जुन ठाउँका किसानका तरकारी तथा फलफूलमा विषादी प्रयोग भएको पाइन्छ, त्यहाँ सचेनामूलक कार्यक्रम गराइने उनले बताए । कालीमाटी तथा फलफूल तथा तरकारी बजारमा भेटिएका विषादीयुक्त तरकारीको किसान र व्यापारीसँग समन्वय गरी पर्खनु पर्ने तरकारी केही समय होल्ड गरिन्छ । त्यो तरकारी पुनः जाँच गरी खान योग्य भएमा मात्रै बजारमा पठाइने कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।