सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि सद्भाव आचार्यले जिते
रासंसा/काठमाण्डौ, मार्ग ७,
मुलुकमा युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्। अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे। सद्भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन्। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए। समग्रमा ७-अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन-पार २ सय ८८ प्रदर्शनमा चौथो भए। प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो। समग्रमा २-ओभर २ सय ९० को स्कोरमा नीरज तामाङ पाँचौँ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए। समग्रमा ४-ओभर २ सय ९२ सहित रवि खड्का सातौँ भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौँ भए। उनले ४२ हजार ५ सय पुरस्कार राशि हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौँ भए। धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे। पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए। समग्रमा उनी छैटौँ भए। अन्तिम १८ होलको सुरुवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो। सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे। दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो। तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौँ होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए। दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौँ, आठौँ र नवौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सके। भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौँ होलमा एक-एक सट बचाए। छैटौँ होलमा भने डबल बोगीको सामना गरे। यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १-अन्डर ३५ मा ब्याक नाइन सके। यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेर्हौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे। अन्य गल्फरले चुनौती समेत दिन सकेनन। यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने। दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सके। सञ्जयले दोस्रो, सातौँ र आठौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए। १८औ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे।