सुरक्षा व्यवस्था उपत्यकामा कडाइ
रासंसा/काठमाण्डौ, मार्ग ७,
मुलुकमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन कानुनबमोजिम बल प्रयोगको सिद्धान्त अवलम्बन गनुपर्नेमा जोड दिएका छन्। मंसिर ७ मा हुने भनिएको प्रदर्शनको सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलार्ई संयमित हुन उनले निर्देशन दिएका हुन्। आज बिहीबार हुन लागेको उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उपत्यकाका तिनवटै जिल्लाका चोकचोक र गल्ली तथा सडकहरूमा सुरक्षा फोर्सको परिचालन गरिएको छ। अप्रिय घटना नहोस भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्ममा खटिएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयको एक कार्यक्रममा बोल्दै उनले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्। आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उनको जोड छ। आईजीपी कुँवरले कार्यसम्पादनका सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरे। साथै, उनले प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोग गर्दै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलार्ई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन गर्दैछन्। उनको प्रदर्शनमा राजावादी समूहले पनि साथ दिएका छन्। यस्तै नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछन्। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ। प्रवक्ता मैनाली भन्छन्, ‘प्रदर्शनको अवस्था र आवश्यकता अनुसार खटिन र खटाउनका लागि सबै सुरक्षा फोर्स तयारी अवस्थामा छन्। उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सवै ट्राफिक कार्यालयका प्रहरी तयारी अवश्थामा छन्। आवश्यक मात्रामा परिचालित भइसकेका पनि छन्। सिभिल ड्रेसमा समेत प्रहरी परिचालन हुनेछन्।’ प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भएको छ। प्रदर्शन निगरानीका लागि तीनवटै जिल्लामा सशस्त्र प्रहरीका सवै युनिट, नेपाल प्रहरीका सवै कार्यालय, परिसर र वृत तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि तयारी अवस्थामा छन्। उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आर्चायको नेतृत्वमा कमाण्ड सेन्टर निर्माण गरिएको छ। प्रवक्ता मैनाली भन्छन्, ‘प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्नका लागि हामी तयारी अवस्थामै छौं। सुरक्षा निकायलार्ई हाई अलर्टमा राखिएको छ।’ कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी प्रकाश थापा, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेलसहितको ‘संयुक्त टिम’ गठन गरिएको छ। आवश्यक पर्दा चारवटै सुरक्षा निकायले सहकार्य गर्ने गरी कमाण्ड सेन्टर तयारी अवस्थामा छ।