विद्यार्थी पढ्न र सर्वसाधारण सुरक्षित हिँड्न ‘प्रदर्शनको कारणले पाएनन्’

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ७,

मुलुकमा राजधानीका विभिन्न स्थानमा बिहीबार भएको प्रदर्शनका कारण अधिकांश विद्यालय बन्द रहे। जसले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुर्‍यायो। राष्ट्रिय मानव अधिकार आयोगले आज काठमाडौंमा भएको प्रदर्शनको अनुगमन क्रममा यस्तो भेटाएको हो। प्रदर्शन क्षेत्रका पसलहरु बन्द हुँदा निर्बाध रुपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले बताएको छ। दुई समूहको प्रदर्शनले विभिन्न पेसा व्यवसायमा असर पुग्नुका साथै सर्वसाधारणले सुरक्षित आवतजावतको महसुस गर्न पाएनन्। सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाउँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले बताएकाे छ। प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको थियो। अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ। त्यसैगरी बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुंगा र इट्टा प्रहार भएको आयोगले जनाएको छ। ‘स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेको र सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको र केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। आयोगले यस अघि पनि संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुन प्रदर्शनरत पक्षहरूलाई गरेको आग्रह समेतलाई स्मरण गराएको छ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँ लगायतले काठमाडौँमा प्रदर्शन गरेका हुन्।

Like