एक वर्षमा दलहरु न सच्चिए, न सक्किए !

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ५,

मुलुकमा नयाँ संविधान निर्माणपछि दोस्रो पटक ताजा जनादेशका लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको ठिक एक वर्ष पूरा भएको दिन । गत वर्ष मंसिर ४ मै तोकिएको निर्वाचनताका पुराना र स्थापित राजनीतिक दलहरुलाई चुनौती दिँदै नयाँ दलको उदय हुने संकेत देखिएपछि स्थापित दलहरुमाथि टिप्पणी हुने गरेको थियो– ‘सक्किने कि सच्चिने ?’ नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनामा होमियो र पनि ऊ संसदको चौथो ठुलो दल बनेर निस्कियो । निर्वाचनमार्फत उसको उदयले पुराना दलहरुलाई राम्रै झट्का लाग्यो । त्यसबेला प्रमुख दलका नेताहरुलाई यो प्रश्नले निकै हैरानी दिएको थियो । जवाफमा नेताहरुले भन्ने गरेका थिए– ‘हामी सच्चिनुको विकल्प छैन ।’ यही प्रश्नका बिचमा भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दल गठबन्धन बनाएर निर्वाचनमा गए भने एमाले पनि राप्रपा, जसपा लगायतका दलसँग आंशिक गठबन्धन गर्दै निर्वाचनमा होमियो । नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो ठुलो दल बने । यो निर्वाचनको नतिजाले एकल बहुमतको सरकार बन्न नसक्ने अवस्था भएपछि एमाले र माओवादी केन्द्रबिच अचानक गठबन्धन बनेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । तर त्यो समीकरण लामो समय टिक्न सकेन । अहिले धेरैले मंसिर र वैशाखमा भएका निर्वाचनका बेला दलहरुमाथि उठेको ‘सक्किने कि सच्चिने ?’ भन्ने प्रश्न भुलिसकेका छन् । तर पनि राजनीतिक दलहरुको व्यवहारलाई विश्लेषण गर्दा उनीहरु सच्चिएको कुनै आभास पाउन सकिँदैन । बरु पुराना र नयाँ सबै दल उस्तैउस्तै त हुन् भन्ने भाष्य बलियो बन्न पुगेको छ । २०७९ को फागुन दोस्रो साता अन्ततः प्रचण्ड चुनावअघिकै कांग्रेससहितको गठबन्धनमा सामेल भएर अहिलेसम्म सरकारको नेतृत्व गरिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि २०८० को सुरुमा भएको उपनिर्वाचनका बेला पुराना दलहरुमाथि ‘सक्किने कि सच्चिने’ भन्ने प्रश्न थप पेचिलो बन्यो । तर चितवन, तनहुँ र बारामा सम्पन्न निर्वाचन परिणामले पनि दलहरु सच्चिएको भान हुन सकेन । सबैजसो राजनीतिक दलहरु एजेन्डामा भने अग्रगामी नै देखिन्छन् । तर अग्रगामी एजेण्डा लागू गर्ने निकाय, नेतृत्व र प्रणालीमा कुनै सुधार आएको देखिँदैन । स्थापित दलहरुले आफ्ना एजेन्डा प्रगतिशील भएको प्रचार गर्न नछाडे पनि व्यवहारमा उनीहरु पुरातनवादी आचरणमै रमाइरहेको उनीहरुका गतिविधि र कार्यशैलीबाटै पुष्टि हुन्छ, जुन संविधान अनुसार संघीयता कार्यान्वयनका सवालमा बन्नुपर्ने कानुन निर्माणमा भएको ढिलाइ र विवादले नै धेरै कुरा प्रस्ट हुन्छन् । तर, नेकपा एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका एमाले नेता ईश्वर पोखरेल ‘सक्किने कि सच्चिने ?’ भन्ने प्रश्न एमालेको हकमा अहिले सान्दर्भिक नहुने बताउँछन् । ‘राजनीतिक दलहरु जो परिवर्तनका बाहक हौँ भन्छन्, उनीहरुले परिवर्तित अवस्थाअनुसार आफूलाई रुपान्तरण गर्दै लैजानुको विकल्प छैन’, पोखरेलले रातोपाटीसँग भने, ‘एमालेबाहेकका दलहरु त्यो शास्वत सत्यअनुसार चलेका छन् छैनन् भन्ने कुरा विश्लेषण गर्दा देखिने कुरा हो, देखिएकै पनि छ ।’ यसबाहेक दलहरुले भन्ने गरेको समाजवाद र त्यसको आधार निर्माणका लागि सत्ता गठबन्धनले निर्माण गरेको समाजवादी मोर्चालाई पनि लिन सकिन्छ । मोर्चा गठन भएको लामो समय बित्न लाग्दा पनि सत्ता स्वार्थको रोटी सेकाउन बाहेक मोर्चाले कुनै औचित्य पुष्टि गर्न सकेको छैन । समाजमा अस्थिरता, अराजकता र कुशासन काबुभन्दा बाहिर जान थालेको नागरिकले महसुस गरिरहेका छन् । यहीबेला पश्चगामी र प्रतिगमनकारी भनिएका शक्तिहरु विभिन्न आवरणमा सल्बलाउन थालेका छन् । यसले दलहरूका ‘नौ नाडी’ गलेको सहजै अनुमान गर्न सकिन्छ । यहाँसम्म कि, आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रका रुपमा दाबी गर्ने प्रमुख प्रतिपक्ष नेकपा एमाले एउटा व्यक्ति दुर्गा प्रसाईका कारण त्रसित देखिएको छ । दुर्गा प्रसाईंविरुद्ध सिङ्गो एमाले परिचालन गर्नुपर्ने अवस्था आउनुले नै उनीहरुको हैसियत प्रस्ट हुन्छ । दलहरुका नौ नाडी गल्नु भनेको समस्याको समाधान गर्न कठिन पर्नु हो । नेता पोखरेलले हालको सत्ता गठबन्धनकै कारण मुलुकको अवस्था नाजुक बन्दै गइरहेको दाबी गरे । ‘जुन उद्देश्य राखेर यो गठबन्धन बन्यो, त्यो उद्देश्य नै गलत थियो’, पोखरेलले भने, ‘जनताले पाउनुपर्ने सेवा कमजोर भएकोमात्र होइन, दण्डहिनता र कुशासन बढेको छ ।’ ‘पुराना र स्थापित पार्टीहरूका कमीकमजोरी र त्रुटिहरूलाई लिएर सच्चिने कि सक्किने भन्ने प्रतिक्रियात्मक अभिव्यक्ति आइरहेको देखिन्छ’, सापकोटाले भने, ‘तर उनीहरूले जनतामा आफ्नो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, रणनीति, कार्यनीति र यसको विस्तृत खाका कहिल्यै प्रस्तुत गरेको देखिँदैन ।’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता अग्नि सापकोटाले नयाँ भनिएका राजनीतिक दलहरुले पुराना दलमाथि सच्चिने कि सक्किने भन्ने जस्तो कुरा गरे पनि उनीहरु स्वयंको विचार, सिद्धान्त र कार्यदिशा अस्पष्ट रहेको आरोप लगाए । सापकोटाले कमजोर धरातलका कारण नयाँ भन्नेहरु धेरैदिन टिक्न नसक्ने दाबीसमेत गरे । ‘हामी छौँ, हामी सक्छौँ । हामी नगरी छाड्दैनौँ भन्नेदेखि बाहेक एउटा स्पिरिड अभिव्यक्त भएको त देखिन्छ । तर विश्वसनीय र राजनीतिक सुझबुझसहित वैचारिक, राजनीतिक कुरा देखिँदैन । त्यसकारण त्यो धेरै टिक्छ जस्तो लाग्दैन’, प्रवक्ता सापकोटाको भनाइ छ । ‘पार्टीका दुई चार जना नेताले गल्ती गर्दैमा सक्किने भन्ने होइन । तर पनि हाम्रो नेतृत्व सच्चिने दिशातिर गइराखेको छैन’, पौडेलले रातोपाटीसँग भने, ‘नेतृत्वको व्यवहार परिवर्तन भएन र उसले आफूलाई सच्याएन भने त्यो प्रवृत्ति सकिन्छ । त्यसो हुँदा पार्टीलाई सक्काउने दिशातिर लान सक्छ । त्यसैले सच्याउने प्रक्रियामा हामीले त्यो नेतृत्वलाई बिदा गर्नसक्नुपर्छ ।’ सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको बुझाइमा पार्टीहरु सच्चिनुको विकल्प छैन । तर त्यसका लागि पार्टी नेतृत्वले नै बढी ध्यान दिन जरुरी छ । उनले पार्टीका दुईचार जनाले गल्ती गर्दैमा पार्टी सक्किने भन्ने कुरा हुनै नसक्ने पनि बताए । सत्तामा गएका पार्टीहरुले जनस्तरबाट उठेका प्रश्नहरुप्रति कहिल्यै पनि गम्भीरता नदेखाएकोमा पौडेलको असन्तुष्टि छ । गएको एक वर्षमा सरकार र संसद दुवै प्रभावकारी नदेखिएको भन्दै उनले आफूहरु पुराना पार्टीजस्तो नभएको दाबी गरे । यता, पुराना दलका नेताहरुले सच्चिनुको विकल्प नभएको बताए पनि नयाँ शक्तिका रुपमा आएको रास्वपाले भने विगत एक वर्षको अनुभवमा स्थापित र पुराना भनिएका दलहरु सच्चिने दिशातर्फ नगएको दाबी गरेको छ । रास्वपाका प्रमुख सचेतक समेत रहेका सांसद सन्तोष परियारले भने, ‘एक वर्षको संसदको अभ्यासलाई मात्रै हेर्दा पनि उहाँहरु सच्चिनु हुन्छ जस्तो लाग्दैन ।’ ‘हामी पुराना पार्टी जस्तौ छैनौँ । संसदमा देश र जनताको हितमा सहकार्य गर्छौँ । निर्वाचनमा प्रतिस्पर्धा गर्छौं । पुराना दलसँग संवादमा बसेको भरमा हामीलाई पुरानै ढर्राको भन्न मिल्दैन’, परियारको भनाइ छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका प्रवक्ता अग्नि सापकोटा, कांग्रेसका नेता प्रदीप पौडेल र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई रातोपाटीले के दलहरु सच्चिए ? कि उस्तै छन् ? भनेर प्रश्न गरेको छ ।
राजनीतिक दलहरुले आफ्नो योग्यताको आधारमा, चेतनाको आधारमा र परिस्थितिको विश्लेषणका आधारमा सक्किने होइन सच्चिने कुरा नै सोच्छन्, सक्किने कुरा सोच्दैनन् । नेपालको राजनीतिमा एमालेलाई सोलोडोलो प्रश्न गरे पनि एमालेको हकमा यो प्रश्न नै प्राशङ्गिक हुँदैन । किनभने हामी निरन्तर गतिमा विश्वास गर्छौं र परिस्थितिको परिवर्तनलाई बुझ्दै अगाडि बढ्छौँ, बढिरहेका पनि छौँ । हालको सत्ता गठबन्धन जुन उद्देश्य राखेर बन्यो, त्यो उद्देश्य नै गलत थियो । एमालेलाई सिध्याउन एमालेविरोधी बृहत मोर्चाबन्दी गर्दै एमालेको अनुपस्थितिमा देश चलाउने भनेर यो गठबन्धन बनाइएको हो । जुन कुनै पनि सिद्धान्त वा कार्यक्रमबाट निर्देशित थिएन, त्यसको परिणाम अहिले देखिँदैछ । कलुशित र षड्यन्त्रपूर्ण उद्देश्यबाट यो गठबन्धनको रचना गरिएको हो । यसका पछाडि एमालेलाई निषेध गर्नेबाहेक कुनै उद्देश्य छैन । राम्रो उद्देश्य, देश जनताको हितका लागि गठबन्धन नबनेकाले हामी नकारात्मक परिणामहरु भोगिरहेका छौँ । विचार, संगठन र कार्यक्रमलाई व्यवस्थित गर्ने शिलशिलामा हामी अघि बढिरहेकै छौँ । तर एउटा प्रस्ट कुरा के हो भने दलहरु कि सप्रिनुपर्छ कि सक्किनुपर्छ, यो शास्वत कुरा हो । त्यसकारण राजनीतिक दलहरु जो परिवर्तनका बाहक हौँ भन्छन्, उनीहरुले परिवर्तित अवस्थाअनुसार आफूलाई रुपान्तरण गर्दै लैजानुको विकल्प छैन । दलहरु त्यो शास्वत सत्यअनुसार चलेका छन् छैनन् भन्ने कुरा विश्लेषण गर्दा देखिने कुरा हो । देखिएकै पनि छ । राष्ट्रिय स्वाभिमानको विषय कुन ठाउँमा पुगेको थियो र अहिले कहाँ झर्दैछ ? मुलुकको अर्थतन्त्र कस्तो थियो र अहिले कता जाँदैछ ? सामाजिक सद्भाव बलियो बन्दै गएकोमा त्यसलाई अहिले बिथोल्ने कोसिस भइरहेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको विषय दैनन्दिन कमजोर बन्दै गएको छ । जनताले पाउनुपर्ने सेवा कमजोर भइरहेको र दण्डहिनता बढेको छ । शासन होइन कुशासन बढेको छ । यही गतिमा अझै चार वर्ष मुलुक चल्यो भने देश दुर्भाग्य र दुर्घटनातिर जान्छ र त्यसको क्षति हामी सबैले भोग्नुपर्ने हुन्छ । यसबारे मुख्य पार्टी नेपाली कांग्रेसले के सोचिरहेको छ ? माओवादी यस्तै खेलमा रमाइरहने हो ? यो सोच्न जरुरी छ । हामी यो प्रतिकूलताका बिचमा पनि राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वमौमिकताको पक्षमा रहेका शक्तिहरु गोलबद्ध हुन जरुरी छ भनेर नेकपा एमालेले आफूलाई सुदृढ गर्नुपर्छ भनेर विचार, संगठन र गतिविधि व्यवस्थित गर्ने काम गरिरहेको छ । एमालेले मात्रै यो संकटबाट मुलुकलाई निकास दिन सक्छ । एउटा कुरा के हो भने पुराना राजनीतिक पार्टीहरूले आ–आफ्नो गम्भीर समीक्षा गर्नुपर्छ । त्यो समीक्षाको सुरुवात भएको छ । अब दुई पक्ष हुने भयो । परिवर्तनका पक्षधर र अग्रगमनको पक्षधरबिच एउटा राष्ट्रिय दृष्टिकोण निर्माण हुनुप¥यो । अझै सरकारको नेतृत्व गरेको दल र सम्बन्धित दलहरू गम्भीर समीक्षा गरेर अगाडि जाने हो भने प्रियतावाद धेरै दिन टिक्दैन । सारमा संश्लेषण गरेर भन्नुपर्दा संविधानको प्रस्तावनामै लोकतान्त्रिक समाजवाद भनेको छ । समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ । त्यो लेख्नका लागिमात्र होइन, व्यवहारमा जानुप¥यो । अर्को, पार्टीहरूको बिचमा आन्तरिक लोकतन्त्र मजबुत हुनुप¥यो । आन्तरिक लोकतन्त्रको कमीले गर्दा विचारको विकास नभएको हुनाले समस्या देखिएको छ । अहिले पार्टीभित्र विचारको बहस नै हुँदैन । अहिले प्रियतावादीहरूले के भ्रम फैलाएका छन् भने जनताले सिद्धान्त चाहेका छैनन् । विचार चाहेका छैनन् भनेका छन् । त्यो गलत कुरा हो । विचारले नै अगाडि जाने हो । राजनीतिक पार्टीहरूले विचारमा विकास गर्न नसके तिनीहरूको औचित्य समाप्त हुँदै जान्छ । मेरो विचारमा राजनीतिक पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ । राजनीतिक पार्टीहरूले पहल र कार्यक्रम गर्दै जानुपर्छ । नेपालको भूराजनीतिक अवस्थाका कारण राजनीतिक दलहरूबिच समीक्षा सुरु भएको छ । यो सकारात्मक र सुखद कुरा हो । यसलाई देखाउनका लागि होइन, साँच्चै गम्भीरतापूर्वक लाग्नुपर्छ । जनतालाई विश्वासमा लिनेगरी कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ । मलाई के विश्वास छ भने जनताले प्रतिक्रिया त दिए । तर लोकतन्त्रको विकल्प खोज्ने पक्षमा जनता देखिँदैनन् । यद्यपि उनीहरूले उन्नत लोकतन्त्र चाहेका छन् । सबै पार्टीले जनतालाई बेवास्ता गरेकोजस्तो देखिएको छ । उनीहरूले उठाएका प्रश्न गम्भीरतापूर्वक दलहरूले लिनुप¥यो । अब भाषणले होइन, एक एक उत्तर व्यवहारले दिनुपर्छ । अब अर्को बजेटको बेला आएको छ । सबै कुरा आर्थिक रुपमै आएर जोडिन्छ । अहिले जनताको भनाइ नै व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने छ । दलहरूले बजेटमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने एजेण्डा तय गर्नुपर्छ । त्यसका लागि रोजगारी सिर्जना गर्नुप¥यो । कमसे कम एक परिवारमा एक जनालाई रोजगारी दिन सुरु गरौँ । यसले गरिबी हट्दै जान्छ । गरिबी हटेपछि जनताको जीवनस्तर उठ्छ । सँगसँगै समाज प्रगतिमा जान्छ । अहिले धनी र गरिबबिचको खाडल निकै फराकिलो भएको छ । समाजवाद भनेको न्याय र समानता हो । त्यसमा ठोस नीति सबै दलको आउनुपर्छ । शिक्षा नीति के हो ? स्वास्थ्य नीति के हो ? रोजगार नीति के हो ? बजार नीति के हो ? यी सबै कुरा आउनुप¥यो । सच्चिसके भन्ने कुरा राजनीतिमा हुँदैन । त्यो निरन्तर प्रक्रिया हो । गत हप्ता सिंहदरबारमा बसेको समीक्षा बैठकबाट अब जनताले र विपक्षीले उठाएका प्रश्नमा गम्भीर ध्यानकर्षण भएको छ । भित्रैदेखि इमान र इज्जतका साथ राजनीतिक पार्टीहरूले आफूलाई विकास गर्दै लैजानुपर्छ । पार्टीका दुई चार जना नेताले गल्ती गर्दैमा सक्किने भन्ने होइन । तर, नेतृत्व सच्चिने दिशातिर गइराखेको छैन । नेतृत्वको व्यवहार परिवर्तन भएन र उसले आफूलाई सच्याएन भने त्यो प्रवृत्ति सकिन्छ । त्यसो हुँदा पार्टीलाई सक्काउने दिशातिर लान सक्छ । त्यसैले सच्याउने प्रक्रियामा हामीले त्यो नेतृत्वलाई बिदा गर्नसक्नुपर्छ । यो व्यवस्थामाथि प्रश्न उठाएर धमिलो पानीमा माछा मार्न कोसिस भइरहेको थियो । त्यो कोसिसलाई मलजल गर्ने काम व्यवस्थावादीले नै गरिरहेको जस्तो देखिन्छ । जनतालाई डेलिभरी गर्ने पक्षमा सरकार छ भनेर महसुस भएको छैन । दलहरुले संस्कार, प्रवृत्ति र व्यवहार परिवर्तन गरेका छन् भन्ने कोणबाट हेर्दा धेरै ठुलो उपलब्धि रहेन । तर, त्यो व्यवस्थाको दोष होइन । व्यवस्थाभित्र नेतृत्व गर्ने अवसर पाएका केही व्यक्तिहरुको कमजोरीका कारणले त्यस्तो भएको हो । सत्तामा गएपछि प्रश्नहरु उठ्छन् । ती प्रश्नहरुप्रति सत्तामा बस्नेहरुले कहिल्यै पनि गम्भीरता देखाएको देखिएन । ती प्रश्नहरुलाई अति सामान्य ढङ्गले लिएको पाइयो । पहिले पनि प्रश्न जन्मिएका थिए । प्रश्न जन्माउने निरन्तरता यो एक वर्षमा पनि कायमै रह्यो । मान्छेहरुले प्रश्न उठाउने ठाउँ नभेटियोस् भन्ने चाहन्छन् । उठेका प्रश्न अनुत्तरित नहोस् भन्ने चाहन्छन् । तर, यहाँ प्रश्नको उत्तर दिनु परैको कुरा, प्रश्न जन्माउने काम मात्र भयो । पहिले उठेका प्रश्नको उत्तर मान्छेले पाएका छैनन् । पहिले भएका कमी कमजोरीलाई महसुस गरेर सच्चिने बाटोतिर नगएको स्थिति बन्यो । त्यसले व्यवस्था माथि नै मान्छेहरुको टिकाटिप्पणी बढ्न थाल्यो । हाम्रो उपस्थितिले पुराना पार्टीहरुभित्र भएका बेथिति, विसङ्गति पनि सक्किने छन् । नेपालको राजनीतिमा भएका सबै पार्टीले देश विकासमा एउटा बाटो दिने छन् । सबै मिलेर देशमा राम्रो हुने छ भन्ने हामीलाई लागेको थियो । हामीले त्यतिबेला अब सच्चिने कि सक्किने भनेका थियौँ । तर, अहिले पनि पुराना पार्टीको राजनीतिक बेथिति र प्रवृत्तिमा कुनै सुधार आएको छैन । उहाँहरु सच्चिनु भयो भने हामी सबै मिलेर देश बनाउने कुरा, देशमा समृद्धि ल्याउने कुरा, शान्ति ल्याउने कुरा चाँडै हुने थियो । उहाँहरु नसच्चिने हो भने त्यसको नेतृत्व हामीले लिनु नै पर्ने हुन्छ । हिजो जहाँजहाँ गल्ती, कमी कमजोरी भयो । त्यो सच्चिने ठाउँमा उहाँहरु पुग्नु भएको छैन । एक वर्षको संसदको अभ्यासलाई हेर्दा पनि उहाँहरु सच्चिनु हुन्छ जस्तो लागेको छैन । सरकार र संसद प्रभावकारी देखिएको छैन । हामी पुराना पार्टी जस्तो छैनौँ । संसदमा देश र जनताको हितमा सहकार्य गर्छौं । निर्वाचनमा प्रतिस्पर्धा गर्छौं । पुराना दलसँग संवादमा बसेको भरमा हामीलाई पुरानो भन्न मिल्दैन । हाम्रो जनमत नयाँ हो । हामी विचार, कार्यक्रम र पार्टी गतिविधिका हिसाबमा बिल्कुलै फरक छौँ । हाम्रो संसदको प्रस्तुति र हाम्रो गतिविधिले पनि हामी पुराना दलभन्दा भिन्न छौँ भन्ने देखाउँछ ।

Like